• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सात काण्डमा नेकपा : कसैप्रति नरम, कसैप्रति गरम !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको दुई वर्ष नपुग्दै सतहमा आएका केही घटनाले देशको राजनीतिलाई हलचल गरायो । ३ जेठ २०७५ मा काठमाडौंको सभागृहमा एक भव्य कार्यक्रम आयोजनागरी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता भयो । एकतापछि र त्यसभन्दा केही समय अघिका केही काण्डहरु केलाउने प्रयास समाचार दैनिकले गरेको छ ।

नेपालको ईतिहाँसमै सवैभन्दा ठूलो बलात्कारको काण्डका रुपमा सम्माननीय पदमा रहेका सभामुख कृष्णबहादुर महरामाथि आरोप लागेपछि उनले पदबाट राजीनामा दिए । त्यस लगत्तै नेपाली समाज, राजनीतिक बृत्त र नेकपा भित्र यस्ता काण्डहरु विगतमा कसरी आए र कसरी सेलाए भन्ने तुलना हामीले गरेका हौं । विगतका ७ काण्डमा नेकपाको नेतृत्व ३ काण्डमा नरम र ४ काण्डमा गरम भईदिएको छ ।

काण्ड १
कृष्णबहादुर महरा –
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको भन्दै एक युवतीले सञ्चारमाध्यमलाई दिएको बयानको विषय अहिले पनि सेलाएको छैन् । नेपालको इतिहासमा नै पहिलोपटक सभामुखमाथि लागेको बलात्कारको आरोप सत्य हो वा होइन भन्ने विषय यतिबेलासम्म अनुसन्धानकै घेरामा छ । 

संसद सचिवालयमै स्वास्थ्य शाखामा कार्यरत कर्मचारी रोशनी शाहीले आफूलाई सभामुख महराले बलात्कार तथा कुटपिट गरेको आरोप अघिल्लो दिन लगाइन् भने त्यसैको भोलिपल्ट उक्त विषय झूटो भएको भनी सञ्चारमाध्यममार्फत नै सार्वजनिक भइन् । 

बलात्कारको आरोप झूटो भनी सभामुख महराको सचिवालयबाट विज्ञप्ति पनि आयो । तर, .... गते बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले महरालाई नैतिकताका आधारमा राजीनामा दिन सुझाए । नेकपा सचिवालयले पनि सोही निर्णय गर्यो । घटना भएको २४ घण्टा नवित्दै नेकपाले महरा विरुद्ध एक्सन लिएको थियो ।

नैतिक रूपमा महराले राजीनामा पनि दिए । राजीनामा दिएको केही घन्टापछि रोशनीले पुनः अर्को एक सञ्चारमाध्यमबाट आफू डिप्रेसनको बिरामी भएकाले मिडियाले आफूलाई फसाउन खोजेको, महरा आफ्नो बुबासमान मान्छे भएको, आफूलाई कुनै दुव्र्यवहार नगरेको स्पष्टीकरण दिइन् । 

बलात्कार भएको भनिएको आरोपकै आधारमा घटनाको गहिराईमा नपुगिकनै नेकपाले महरालाई हतार–हतार सभामुख मात्र हैन सांसद पदबाट समेत राजीनामा दिन सुझाव दियो ।

एउटा संचार माध्यममा एक महिलाले लगाएको एउटा आरोपकै आधारमा देशको सम्माननीय सभामुख जस्तो गरिमामय पदको दुखद अन्त्य भयो ।

नेकपाले केही समय विचार गरेर अडिएको भए सोही दिन बेलुका सम्ममा स्टोरिमा ट्विस्ट आउने संकेत रोश्नीको पछिल्लो अन्तरवार्ताले दियो । तर, महराले लिखित राजीनामा उपसभामुखलाई बुझाईसकेकाले उनको अडिने वा फर्कने संभावना सकिईसकेको थियो । त्यसअघिका नैतिक पतन देखिने सोही प्रकृतिका घटना केलाउदा नेकपाको नेतृत्व महराप्रति ‘गरम’ भएको देखिन्छ ।

काण्ड २
शेरबहादुर तामाङ–
सिन्धुपाल्चोक जिल्लाबाट राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएका शेरबहादुर तामाङ केपी शर्मा ओलीको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा अटाए । सिन्धुपाल्चोकको तत्कालिन क्षेत्र नम्बर ३ बाट विगत १५ वर्षदेखिको निर्वाचित भएर राज गरेका राणालाई तामाङ बाहुल्य सो क्षेत्रमा शेरबहादुरले हराएका थिए । सोही आधारमा उनी कानुन तथा संसदीय मामिलामन्त्री बनेका तामाङ लामो समय मन्त्रिमण्डमा टिक्न सकेनन् । 

आफूले बोलेको अभिव्यक्तिका कारण चौतर्फी आलोचना र नेतृत्वले राजीनामाका लागि सुझाएपछि उनले नैतिक रूपमा राजीनामा घोषणा गरे । २०७४ चैत २ गते मन्त्री नियुक्त भएका तामाङले २०७६ साउन ८ गते औपचारिक रूपमा पदबाट राजीनामा दिए । 

राजधानीमा आयोजित एक कार्यक्रममा तामाङले बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरूले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनुपर्ने बाध्यता रहेको आफूले सुनेको बताएका थिए । उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरूको असिम्तामाथि नै धावा बोलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भयो । 

आलोचनापछि पार्टीको निर्देशनमा तामाङले पदबाट राजीनामा दिए । नेकपा सचिवालय बैठकबाट नै उनलाई राजीनामा दिनका लागि दबाब सिर्जना भएको थियो । कुनै गलत भावना नराखी एक कार्यक्रममा मन्त्री तामाङले दिएको अभिव्यक्तिलाई ठूलै स्क्यान्डल बनाएर राजीनामा दिन दबाब दिएको उनी निकटका नेताहरुले त्यसपछि पनि बताउने गरेका छन् । तामाङ नेकपाको पनि पूर्व एमालेको आन्तरिक गुटीय राजनीतिको सिकार भएको अझै पनि एउटा खेमा सार्वजनिक रुपमा भनिरहेको छ । तामाङप्रति तत्कालिन नेकपा नेतृत्व ‘गरम’ देखियो ।

काण्ड ३
विष्णु पौडेल–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका विष्णु पौडेलले केही समयअघि प्रधानमन्त्रीको सरकारी निवास रहेको जग्गा नै आफ्नो नाममा रहेको समाचार आयो । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासकै जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता भएको प्रमाणहरू प्रशस्त देखिए । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको थियो ।

यसबीच बालुवाटार जग्गा छानबिमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी कविद् कटुवालको सरुवासमेत भयो । यस प्रकरणममा कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणादेखि प्रधानमन्त्री केपी ओलीसम्मको नाम पनि जोडियो । 

बालुवाटारकै जग्गा अधिग्रहण भएको भनी आरोप खेपेपछि महासचिव पौडेललाई निलम्बन गर्न भन्दै नेकपाकै नेताहरूले सार्वजनिक रुपमा आवाज पनि नउठाएका होइनन् । तर, उनलाई नेकपाको नेतृत्वले नैतिकताका आधारमा राजीनामा दिएर छानविन प्रकृयालाई सहयोग पुर्याउन भनेर भनेन । अर्थात् अहिले बालुवाटार प्रकरणबाट उनी चोखिए । र, अहिले नेकपाको महासचिवमा उनी काम गरिरहेका छन् । सत्ताधारी पार्टीका शीर्ष ९ नेताहरूको सूचीमा अहिले पनि पौडेल छन् । यसरी हेर्दा महासचिव पौडेलप्रति नेकपा नेतृत्व ‘नरम’ रुपमा प्रस्तुत भयो ।

काण्ड ४
रवीन्द्र अधिकारी–
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिवंगत रवीन्द्र अधिकारी वाइड बडी प्रकरणमा मुछिए । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भन्दै महालेखापरीक्षकको कार्यालयेले बेरुजु देखायोे । सार्वजनिक लेखा समितिले छानबिन पनि गर्यो । 

उनीसहित पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देवले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै सार्वजनिक लेखा समितिले निर्देशन नै दियो । लेखा समितिको निर्देशनलाई अझै छानबिन गर्नपर्ने भन्दै सरकारले न्यायीक आयोग आयोग गठन गर्यो तर दोशी भनिएकाहरु प्रति नैतिकताका आधारमा राजीनामा वा कुनै जिम्मेवारी लेउ भनेर नेकपाको तत्कालिन नेतृत्वले भनेन । 

समितिले कानुनबमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्डसजाय गर्न कानुनी कारबाही अघि बढाउन सरकार र अख्तियारलाई निर्देशन दिएको थियो । वाइडबडी प्रकरण राजनीतिको चंगुलमै फसिरहेको समयमा तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भयो । नेकपाले यो विषयलाई हिजोआज कहीँ–कतै उल्लेख गर्न खोजेको देखिँदैन । यसरी हेर्दा दिवंगत अधिकारीप्रति नेकपाको नेतृत्व ‘नरम’ रुपमा प्रस्तुत भयो ।

काण्ड ५
लक्की शेर्पा–
अस्ट्रेलियाका लागि नेपाली राजदूत रहेकी लक्की शेर्पामाथि नेकपा सरकार गरम भएको देखिन्छ । पूर्व माओवादी कोटाबाट उनी राजदुतका लागि सिफारिस भएकी थिईन् । शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अस्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परिन् । त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न नेपाल बोलाइयो । अस्ट्रेलियाबाट आफ्नो बारेमा बुझ्न नेपाल आएकी शेर्पा एक महिनासम्म कुनै निर्णय नभएको भन्दै पुनः अस्ट्रेलिया फर्किइन् । 

परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि मंसिर २२ गते काठमाडौं आएकी थिइन् । मानव तस्करीको आरोप भोगेकी शेर्पाले गत माघ १८ गते अस्ट्रेलियाका लागि नेपाली राजदूतबाट राजीनामा दिइन् । उनको त्यो राजीनामा नेकपाका अध्यक्षद्वयको सुझाव अनुसार आएको थियो । तर, उनले आफूमाथि लागेको आरोप झूटो भएको भनी दाबी गरिरहिन् । आफूले नैतिकताको आधारमा राजीनामा दिएको स्पष्टीकरण राजदूत शेर्पाको थियो । 

शेर्पाले राजीनामा दिएपछि न उनी मानव तस्कर हुन् वा होइनन भनेर नेकपाले छानबिन गर्यो, न कारबाही प्रक्रिया नै अघि बढायो । शेर्पाप्रति नेकपाको नेतृत्व गरम रुपमा प्रस्तुत भयो । घटना ढिसमिस भयो ।

काण्ड ६
शेरधन राई–
केही समयअघि बालिका खड्का नाम गरेकी तत्कालिन नेकपा एमालेकी एक कार्यकर्ताले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूलाई यौन हिंसा गरेको भनी आरोप लगाइन् । उनले आफ्नै पार्टीका नेताले संवेदनशील अंगमा समाएर यौन हिंसा गरेको आरोप लगाएकी हुन् । उक्त आरोपपछि केही समय राजनीति तरंगित भयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा सचिवालयको अधिकृत भएर काम गरेको पनि उनले बताएकी थिइन् । साथै, आफूले प्रधानमन्त्री ओलीलाई समेत जानकारी गराएको बताएकी थिइन् । उजुरीपछि आफूलाई सचिवालयबाट हटाएको उनको आरोप थियो । उनले राष्ट्रपति निवास शीतलनिवासमा मुख्यमन्त्री राईले आफ्ना संवेदनशील अंगमा छोएको आरोप लगाएकी थिइन् । तर, केही समयमै यो विषय पनि सेलायो । उनको भनाई कतै सुनुवाई भएन । 

अहिले प्रदेश १ को मुख्यमन्त्रीको रूपमा राई काम गरिरहेका छन् । राईको बारेमा पार्टीले कुनै एक्सन भने लिएन । राईप्रति तत्कालिन एमालेको नेतृत्व ‘दाहिना’ भईदियो ।

काण्ड ७
केशव स्थापित –
केही समयअघि अभियानकै रूपमा चलेको ‘मि टु’ अभियानमा प्रदेश नम्बर ३ का तत्कालीन भौतिक योजना तथा विकासमन्त्री केशव स्थापित पनि जोडिए । काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका स्थापितलाई दुई महिलाले केही वर्ष अघि यौन दुव्र्यवहार गरेको आरोप लाग्यो । 

मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर उनलाई पदबाट बर्खास्त नै गराए । मन्त्री पदबाट उनी बाहिरिए । नेकपाका स्क्यान्डलमा माथिको सहयोग नपुगेर हट्नुपर्ने बाध्यता रहेकोमा उनी पनि परे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर