• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेकपा भक्तपुरमा गुटको राजनीति, नेता नेपालको कार्यक्रम बस्नेतद्वारा बहिस्कार !

भक्तपुर । पार्टी एकताको काम स्थानीयस्तरसम्म नपुगिसकेको नेकपामा हरेक जिल्लामा गुटगत प्रभाव बाँकी नै रहेको देखिन्छ । यसको पछिल्लो उदाहरण बनेको छ, दशकै सबैभन्दा सानो जिल्ला भक्तपुर । स्थानिय एक नेताका अनुसार भक्तपुरमा मात्रै नेकपाका ४ गुट छन् । शनिबार (आज) चार मध्ये दुई गुटले एउटै समयमा एउटै नगरपालिकाभित्र दुई छुट्टाछुट्टै शुभकामना आदानप्रदान गरेर आफ्ना गुटलाई निरन्तरता दिए । 

सुर्यविनायक नगरपालिकाको सुर्यविनायकस्थित योयो पार्टी प्यालेसमा बिहान साँढे सात बजे पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुर शाखाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरे । जसको प्रमुख अतिथि थिए, पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल । उक्त कार्यक्रममा नेता नेपालले विगतका गल्तीलाई सच्याएर अघि बढ्न आग्रह गरे । उनले नेता तथा कार्यकर्तालाई बदनाम बनेर नबस्न अनुरोध गरे । उक्त भनाई नेकपाको पार्टी सञ्चालनसंगै सम्बन्धित थियो । 

सोही समय अर्थात बिहान साँढे सात बजे नै पूर्वमन्त्री तथा युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा सुर्यविनायक नगरपालिकाकै दधिकोट चित्रपुर ४ मा अर्को अयोजना भयो । लामो समयदेखि बस्दै आएका तर नागरिकता नपाएका चित्रपुर नगरपालिकाका ९८ घरधुरीलाई स्ववासि लालपूर्जा वितरण गर्ने कार्यक्रम रहेको थियो ।

प्रमुख अतिथि बस्नेतले शुभकामना आदानप्रदान तथा लालपूर्जा वितरण गर्ने कार्यक्रममा नेकपा भोलिका दिनमा भक्तपुरमा अझ सशक्त बनाउने बताए । 

लालपूर्जा वितरण कार्यक्रम अष्टमिका दिन भएपनि माधव नेपाल आउने कार्यक्रम जुधाउनैका लागि आजलाई कार्यक्रम सारेको नेकपाका भक्तपुरका अर्का एक नेताले बताए । 

तर, बस्नेत पक्षिय भक्तपुरका एक नेताले भने माधव नेपाल कार्यक्रममा आउनेबारे केही थाहा नभएको बताए । नेता बस्नेत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन् । भक्तपुरमा माधव नेपाल पक्षकै अर्को एउटा गुट पनि सक्रिय छ भने पूर्वमाओवादी खेमाको छुट्टै छ । स्थानीय नेताहरुले आफ्नो गुटलाई बलियो बनाउन र भक्तपुरमा केन्द्रीय नेताहरुलाई समेत साथ लिएर विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । नेकपाभित्रको यो गुटबन्दीले भक्तपुरमा लामो समयदेखि राज गरिरहेको नेमकिपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सहयोग पुगेको स्थानीय नेत कार्यकर्ताको गुनासो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर