• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नारी शक्तिकी प्रतिक भगवतीकै मन्दिरमा नारीलाई प्रवेश निषेध

जनकपुरधाम । हुन त हामी अहिले प्रत्येक क्षेत्रमा महिलाको लैंगिक समानताको कुरा उठाई राखेका हुन्छौँ कुनै कुनै क्षेत्रमा महिलाले समानताको अनुभूति समेत गर्न पाएका छन् तर जनकपुरधामको एक मन्दिरमा दसैँको १० दिन पुरुष श्रद्धालुहरुले साक्षात देवीको दर्शन गर्न पाएपनि महिलाहरुलाई भने आदी शक्ति स्वरुपा माता राजदेवी जो नारी शक्तिकी प्रतिक हुन उनकै  पूजा गर्नबाट बन्धेज लगाईन्छ ।

जनकपुरधामस्थित प्रसिद्ध राजा जनककी कुलदेवी समेत मानिएकी माता राजदेवीको दर्शनका निम्ति दसैँको दश दिन पुरुष श्रद्धालुहरु त मन्दिरभित्र प्रवेश गरि दर्शन गर्न पाउँछन् तर महिलाहरुलाई भने दश दिनसम्म झ्यालबाटै पूजा अराधना गर्ने व्यवस्था मिलाइन्छ । अन्य दिनहरुमा पूजा गर्न पुग्ने महिला वा पुरुष श्रद्धालु जो कोहीलाई माता राजदेवीको मन्दिर भित्र प्रवेश गर्न दिईएपनि दसैँको घटस्थापनादेखि विजयादशमीसम्म महिला श्रद्धालुलाई झ्यालबाटै पूजा गर्न लगाईन्छ । 

यसबारे राम मन्दिर एवं राजदेवी मन्दिरका महन्थ रामगिरीले आफुहरुले परम्परादेखि चल्दै आएको यो विधिलाई तोड्न नसक्ने बताउँछन् । उनी भन्छन् ‘ वर्षोदेखि चल्दै आएको परम्परालाई हामीले तोड्न मिल्दैन’ ।

दसैँको दश दिनसम्म नारी आदि शक्तिको अलग अलग स्वरुपलाई निष्ठापूर्वक पूजा अराधना गरिएपनि  आजको युगमा पनि उनीहरुलाई मन्दिरभित्र प्रवेश निषेध गरिनुले विभेदको ठुलो नमूना प्रस्तुत गरिरहेको महिला अधिकारकर्मीहरुको भनाई रहेको छ । 

हंसपुर नगरपालिकाकी उपप्रमुख रेणु झाले लैंगिक विभेद जस्ता कुरितीलाई एक्कासी तोड्न नसकिने बताउँदै यसका लागि आफुहरु प्रयास गर्ने दाबी गरिन् । उनी भन्छिन् ‘महिला र पुरुष जन्मिने बित्तिकै विभेद सुरु हुन्छ महिलाले यो काम गर्नुहुँदैन,त्यो काम गर्नुहुँदैन जस्ता मानसिकता बनाईन्छ जसले गर्दा महिला स्वयंले पनि यस्ता कुराहरु स्वीकार्न तयार हुन्छन् र लादिएको कुरितीलाई पछ्याईरहन्छन्’ । 

नेपालको कानूनमै महिला र पुरुषबीच कुनै प्रकारको भेदभाव गरिने छैन भनेर उल्लेख गरिएपनि जातीयता र लिंंगको आधारमा गरिएको विभेदले आफुलाई छुब्ध बनाएको अधिवक्ता रेखा झाले बताईन् । उनले भनिन् ‘नेपालको कानूनले स्पष्ट गरिदिएको छ तर महिलाप्रतिको सामाजिक असमानताको दृष्टिकोणले गर्दा महिलालाई पूजापाठबाट समेत वञ्चित हुँदै आई रह्नुपरेको छ ।’ अधिवक्ता झालगायतका मÞिहला अधिकारकर्मीहरुले यस कुरिती विरुद्ध पटक पटक आवाज उठाउँदै आईरहेका छन् । 

अधिवक्ता झा भन्छिन् ‘हामीले दसैँको बेला राजदेवी मन्दिरमा महिलालाई किन निषेध गरिन्छ भन्ने खालका खुल्ला बहसकै आह्वान गरेका थियौँ, त्यहाँ राम मन्दिर राम गिरी, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, दसैँको बेला राजदेवी मन्दिरलाई प्रत्येक वर्ष सजाउने जिम्मा लिदैँ आएको महाबीर युवा कमिटीका तत्कालीन अध्यक्ष धमेन्द्र साह लगायतकालाई आमन्त्रित गरेका थियौँ तर त्यस बहसमा भने तीन मध्ये कसैले उपस्थिति जनाएनन् यसले नै हामी लैंगिक समानताका लागि कतिको प्रतिबद्ध छौँ भन्ने स्पष्ट गरेको छ’ ।

राजदेवी मन्दिरका महन्थ गिरीले यदी यहाँका जनताले चाहे भने यो परम्परालाई तोड्न आफुहरुलाई कुनै आपत्ति नरहेको बताए । शक्तिस्वरुपा माता राजदेवीको मन्दिरलाई सजाईन्छ । हजारौाको संख्यामा बिहान २ बजेदेखि नै दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । 

समाजमा रहेका यस्ता लैंगिक समानता विरुद्धको कुप्रथालाई निष्तेज पारिनुपर्ने महिलाअधिकारकर्मीहरु बताउँछिन् । नारीशक्तिलाई पूजा गर्ने स्थानमा महिलालाई नै प्रवेशमा निषेध गरिनु उनीहरुको अपमान गरिनु सरह रहेको उनीहरुको तर्क रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर