जोखिमसाथ डुङ्गाबाट वारपार गर्न बाध्य

बैतडी ।  बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा जोखिम लिएर भएपनि डुङ्गाबाट वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले जोखिम मोलेरै डुङ्गाबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ । 

दैनिक उपभोग्य सामग्रीदेखि उपचारका लागि सीमावर्ती भारतीय बजार निर्भर हुनुपरेकाले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहिआएको स्थानीय शिक्षक महामलसिंह साउदले बताए ।

बर्सातको समयमा डुङ्गाबाट आवतजावत गर्न निकै डर लाग्ने गरेको उनले बताए। तल्लोसोराड क्षेत्रमा ६ भन्दा बढी घाटबाट डुङ्गाबाटै ओहोरदोहोर गर्ने गरिएको छ । 

बर्सातका समयमा पुल नहुँदा डुङ्गाकै भरले महाकाली नदी तर्नुपर्ने बाध्यता रहिआएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । विसं २०७४ सालमा पञ्चेश्वर महाकाली नदीमाथि पुल बनाउने भनेर ठेक्का भएको भएपनि भारतले सहमति नदिँदा सो क्षेत्रमा पुल बन्न सकेको छैन ।

 अहिले ठेक्का रद्द भइसकेको अध्यक्ष चन्दले बताउनुभयो । भारतले पञ्चेश्वरको डुबान क्षेत्रमा झोलुङ्गे पुल बन्न लागेको भन्दै सहमति नदिएको बताइएको छ । 

तल्लोसोराड क्षेत्रमा कच्ची सडक भएकाले बर्सातको समयमा हरेक चीजका लागि भारतीय बजारमै निर्भर रहनु परेको छ । महाकाली नदीमा डुङ्गाको भरमा यात्रा गर्न थालेको वर्षौं भएपनि पुल निर्माणका लागि सरकारले चासो नदिएको स्थानीयवासीले बताएका छन् । 

तल्लोसोराडवासीको पीडा आफूले परराष्ट्र मन्त्रालयमा भनेको भए पनि अहिलेसम्म समस्या समाधान हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर