• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

भक्तपुर । प्रत्येक वर्ष दशैँको टीका (दशमी) को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर आज बिहान सम्पन्न भएको छ । 

विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि मध्यरातिबाट सेतोघोडा जात्रा शुरु भएको परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । 

जात्रा शुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडाजात्रा भक्तपुर नगरमा डुलाएको जोशीले बताए । दशमीको राति वर्षमा एकदिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा (पायो जात्रा) गरेर नगर परिक्रमा गराई जात्रा मनाएको उहाँले जानकारी दिए। 

मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडामा सिँगारिएर तलेजु भवानी खुशियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ । 

राति तलेजुको मूल चोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोकसम्म र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिएको छ । 

जात्राको क्रममा राति दरबार क्षेत्रस्थित पशुपतिनाथ मन्दिर अगाडि घोडानाच देखाइ तीनपटक दगुराएर बिहान करीब ३ बजे घोडाजात्रा सम्पन भएको जोशीले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर