चिनियाँ राष्ट्रपति सी को गृहनगरसंग बुटवलको भगिनी सम्बन्ध स्थापना

बुटवल । ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चिनको ऐतिहासिक सहर सियान नगरीका बीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास गरिएको छ । 

चिनको ऐतिहासिक नगरी सियान सिटी त्यहाँका राष्ट्रपति सी को गृहनगर हो । मित्रराष्ट्र चीनका  राष्ट्रपति सि जिंगपिंगको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको छ । चिनका राष्ट्रपति सी र नेपालका  प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष उपस्थितिमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनीया राजदुत होउ याङ् छीले आइतबार भव्य समारोहमा उक्त ऐतिहासिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरेका छन् । 

समझदारीपत्र हस्ताक्षरपछि बुटवलका मेयर सुवेदी र सियान शहरका तर्फबाट चिनियाँ राजदूतले एकअर्कालाई हस्तान्तरण गरेका थिए । भगिनी सम्बन्धले संस्कृति आदान प्रदान हुने र दुबै नगरका बीचमा सुमधुर सम्बन्ध कायम हुने विश्वास गरिएको छ । 

सियान चीनमा सांस्कृतिक हिसाबले धनी नगर मानिन्छ । यो त्यहाँका तत्कालिन विभिन्न ऐतिहासिक सहरहरुको मुख्य राजधानी थियो । यहाँ करिब एक दर्जन जति वंशको ऐतिहासिक शासनकालमा महत्वपूर्ण विकासका कामहरु भएका छन् । भने, बुटवल बुद्धबलीको ऐतिहासिक क्षेत्र तथा प्रागऐतिहासिक रामापिथेकशको अवशेष फेला परेको क्षेत्र हो । 

सियान सहरका उच्च अधिकारीहरुले यसअघि बुटवलको भ्रमण गरेका थिए । त्यसक्रममा उनीहरुले बुटवलको सांस्कृतिक र ऐतिहासिक पक्ष महत्वपूर्ण रहेको भन्दै प्रसंशासमेत गरेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर