• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विकासमा सरकारसँग साझेदारी गर्न कांग्रेस सकारात्मक छ : गच्छदार 

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विकासको मुद्दामा सरकार र प्रतिपक्षबीच साझा धारणा बनाउँदै सहकार्य गर्नुपर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता गच्छदारले कुनै पनि पूर्वाग्रह नराखी विकासमा साझेदारी गर्नुपर्ने बताएका हुन् । ‘पूर्वाधारलगायत सबै विकासका मुद्दा र योजनालाई राजनीतीकरण गरिनु हुन्न,’ नेता गच्छदारले भने, ‘हामी विकासका लागि एकजुट हुनुपर्छ र दुवै छिमेकीको आर्थिक उन्नतिको लाभ पनि लिनुपर्छ ।’

पछिल्लो समय सरकार र प्रमुख प्रतिपक्षबीचको सम्बन्धमा सुधार आएको संकेत गर्दै नेता गच्छदारले संविधान कार्यान्वयन, राजनीतिक व्यवस्थामाथि हुने प्रहारका विरुद्धमा र विकासमा साझेदारी गर्दै आफ्नो दल अघि बढ्ने बताए । 

नेता गच्छदार चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको महत्त्व अझ धेरै बढेको बताए । उनले दुई छिमेकी मुलुक चीन र भारतबीच समदुरीको सम्बन्ध राख्दै विकासका लागि सहकार्य गर्नुपर्ने उनले बताए । आफ्नो पार्टीको भन्दा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने हो भने सरकार र प्रतिपक्षबीच साझेदारी सम्भव रहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हङकङ भ्रमणअघि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग लामो संवाद भएको र चियापान समारोहसम्म आउँदा नेकपाका सबै नेताहरूको उपस्थितिले दुई दलबीचको सम्बन्धमा सुधार आएको उनले बताए । नेता गच्छदारले केही दिनपछि हुने नेकपाको चियापान समारोहमा पनि काग्रेंसका नेताहरूको उल्लेख्य उपस्थिति हुने जानकारी दिए ।

लोकतान्त्रिक गणतन्त्र संघर्षबाट सम्भव भएको भन्दै कसैले कमजोर बनाउन नसक्ने गच्छदारले बताए । उनले भने, ‘संघीय गणतन्त्र खतरामा छैन किनकि यो संघर्षबाट स्थापना भएको हो, लोकतन्त्रको रक्षाका लागि सबै दल एकजुट छन् ।’ 

गच्छदारले संविधान कार्यान्वयन गर्ने सबै दलको सामूहिक दायित्व भएको पनि बताए । प्रतिपक्ष दलहरूलाई साथमा लिएर हिँड्ने र महत्त्वपूर्ण मुद्दामा साझा धारणा बनाउने विषयमा सरकारको भूमिका सबैभन्दा धेरै हुने भएकाले सरकार सधैं सकारात्मक भएर प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए । 

थारू जातिहरूले अत्यन्त महत्त्वका साथ मनाउने गोठाले पर्वको सिलसिलामा सुनसरीको सत्तेरझोडाको कार्यक्रममा सहभागी हुने नेता गच्छदार विराटनगर आएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर