• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपाको चियापानमा कोमल वली र रामहरी खतिवडाको विवाह चर्चा !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार काठमाडौंको भृकुटिमण्डपमा भव्य चियापान कार्यक्रम आयोजना गर्यो । बडादशैं, तिहार, छठ, नेपाल संवत ११४० तथा सम्पूर्ण चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सत्तारुढ नेकपाकादेखि प्रतिपक्षी कांग्रेससम्मका नेता कार्यकर्ताहरुको भीड लागेको थियो । 

दिउँसो १२ बजे सुरु भएको चियापान कार्यक्रममा विभिन्न नेता, कार्यकर्ता, शुभचिन्तक, संचारकर्मी आ–आफ्नै विषय र चासोसंग रमाइरहेका देखिन्थे । ठाउँठाउँमा केही नेता कार्यकर्ताहरु भेटघाट गरिरहेका हुन्थे । ठूला नेताहरुलाई नमस्कारको ओइरो देखिन्थ्यो । 

केही चियाको चुस्किसंगै गफ्फिरहेका थिए भने केही मिठाइ र फलफुल खाँदै गरेका देखिन्थे । 

संचारकर्मीहरु कुनै शीर्ष तहका नेताहरुलाई देख्नेबित्तिकै झुरुप्प छेकेर प्रश्न तेस्र्याउन भ्याइनभ्याइसंग दौडधुप गरिरहेका थिए । 

भृकुटिमण्डपस्थित खुल्ला चौरमा आयोजना भएको उक्त कार्यक्रमस्थलको एकापट्टि समारोहस्थल बनाइएको थियो । जहाँ मिडियाकर्मी र उच्च पदस्त बाहेकका अन्यलाई प्रवेश थिएन् । 

उक्त कार्यक्रमस्थलमा उभिइरहेका थिए, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा । खतिवडा उभिएकै ठाउँमा केहीबेरपछि नेकपाकी राष्ट्रिय सभा सदस्य सांसद कोमल वलिको इन्ट्रिले केहीबेर संचारकर्मीलाई त्यसतर्फ तान्यो ।  
वली र खतिवडालाई केही संचारकर्मीले घेरे । 

सुरुमा प्रश्नकर्ता नेकपाको चियापानमा केन्द्रीत थिए । सांसद वलीले परमपरा जोगाउन, कार्यकर्ताबीचको सम्बन्ध उचाईमा पुर्याउन र आपसी मेलमिलापका लागि चियापानको महत्व दर्साइन् । 

एक्कासी, एक संचारकर्मीले वलीलाई प्रश्न गरे–‘कोमल वलीको विवाह कहिले हुन्छ ? जनता जान्न चाहन्छन् ।’

कोमल वलीले यतिबेला चियापान र शुभकामना आदानप्रदानको समय भएको भन्दै विवाहको विषयमा त्यति बोल्न चाहिनन् । तर ती संचारकर्मी भने विवाहमै केन्द्रीत भएर प्रश्न गर्न थाले । 

आफू विवाहको बारेमा भन्दा पनि एक बफादार कार्यकर्ताको रुपमा नेकपाको कार्यक्रममा चिनिने तर्क वलीले गरिन् । 

त्यत्तिकैमा नजिकै उभिएका खतिवडालाई पनि उहि प्रश्न दोहोरियो । 

‘तपाँई पनि अविवाहीत हुनुहुन्छ, भन्नुस कहिले हुन्छ तपाँइको विवाह ?’ संचारकर्मीको प्रश्न थियो । 

जवाफमा खतिवडाले विवाहको प्रसंग नझिक्न अनुरोध पनि गरे । तर, संचारकर्मीको ढिप्पि पछि खतिवडाले भने–‘मेरो विवाहको तयारी आधा पूरा भइसकेको छ । आधा बाँकी छ ।’
एकछिन सबै अलमल्ल परे । 

उनले प्रस्ट्याए–‘विवाहका लागि म आफू तयार भइसकेको छु । अब केटी तयार हुन बाँकी छ । केटी तयार भएपछि मेरो विवाह हुन्छ । त्यही भएर आधा भनेको हुँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर