• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अनुसन्धानकर्ता भन्छन्– बियरभन्दा वाइन उपयाेगी

तस्बीरः टाइम ।

एजेन्सी । सन् १९८० को सुरुवातमै अनुसन्धानकर्ताहरुले फ्रान्समा, स्याचुरेटेड फ्याट र कोलेस्ट्रोलयुक्त अधिक खाना सेवन गरिएपनि मुटु सम्बन्धी रोग र अकाल मृत्युको दर अनुमान गरिए भन्दा धेरै कम रहेको पत्ता लगाएका थिए जसलाई ‘फ्रेन्च प्याराडक्स’ को नाम दिइएको थियो । त्यसपछि देखि नै वैज्ञानिकहरुले यसमा वाइन कतै न कतै सम्बन्धित हुन सक्ने शंका गरेका हुन् । 

मेडिटेरियन डायटमा ठीक्क मात्रामा वाइन सेवन गर्नु पारम्पारिक मानिन्छ । यस्तोमा वैज्ञानिकहरुले आफ्नो अनुसन्धान पनि यसैका आधारमा सञ्चालन गरेका हुन् । ‘द ल्यान्सेन्ट’ मा १९९२ मा प्रकाशित एक अध्ययनमा वाइन लगायत केही मदिराले मुटुको आर्टरी अवरुद्ध हुनबाट जोगाउने गरेको प्रमाण प्रस्तुत गरेको थियो । त्यसै समयमा गरिएका अन्य थुप्रै अनुसन्धानले पनि बियरको सट्टा वाइन पिउने मानिसहरुको मृत्यु दर कम भएको पत्ता लगाएको थियो । यसपछि वैज्ञानिकहरुको समुहले अङ्गुरमा पाइने तत्व ‘पोलिफेनोल’ र ‘रेजभेराटोल’ को अध्ययन गर्यो जसलाई वाइनबाट प्राप्त  हुने स्वास्थ्य लाभको मुख्य श्रोत मानिन्छ । यसमा पनि अन्य थरीका मदिरा भन्दा रेड वाइन सबैभन्दा स्वस्थकर भएको दाबी गरियो । 

तर, फेरि २००६ मा डेनमार्कमा गरिएको अनुसन्धानमा वाइन किन्ने अधिकांश मानिसहरुले साथमा फलफुल र तरकारी लगायत अन्य स्वस्थकर खानेकुरा पनि अधिक मात्रामा खरिद गर्ने गरेको पाइएको हो । यसैले पनि वाइन पिउने प्रायः सबैले बियरको तुलनामा स्वस्थकर खानेकुरा सेवन गर्ने गरेको विशेषज्ञहरुले निष्कर्ष निकालेका हुन् । 

हालैका अनुसन्धानमा भने मध्यम मात्रामा महिलाले एउटा र पुरुषले प्रति दिन दुईवटा बियर पिउनाले वाइन बराबरको फाइदा पुर्याउने दाबी गरिएको छ । तर अर्कोतर्फ केही अध्ययनमा चिज लगायत स्याचुरेटेड फ्याटले मानिसमा ह्दयघात वा मुटु सम्बन्धी रोगको खतरा नगराउन सक्ने पनि भनेका छन् जसले ‘फ्रेन्च प्याराडक्स’ लाई अर्थहित तुल्याउँछ किनकी वाइन फाइदाकारक हुनसक्ने विषय पहिले त्यहीँबाट सुरु भएको थियो । 

ग्रीसको हारोकोपियो युनिभर्सिटीमा न्युट्रिसन र डाएटिक्सका प्रोफेसर डेमोसथेनेस पेनेजिओटाकोसले वाइन र बियरले दिर्गकालीन समयमा पार्ने प्रभाव सम्बन्धी लामो समय अध्ययन गरेका छन् । उनको अनुसन्धानले भने बियर र वाइन दुवैले बराबर रुपमा व्यक्तिको मुटु सम्बन्धी जोखिम कम गराउन सक्ने देखाउँछ । उनी भन्छन्, “रेड वाइन अहिलेसम्मकै सबैभन्दा बढी अनुसन्धान गरिएको मदिराजन्य पेय पदार्थ हो । त्यसैले यसबारेमा समय अनुसार भिन्दाभिन्दै खोज भेट्न सकिन्छ । ”

यता सबैभन्दा पछिल्ला अनुसन्धानहरुमा केही प्रकारका बियर वाइन भन्दा लाभदायक हुने गरेको पनि पाइएको छ । जर्नल अफ वाइन इकोनोमिक्समा २०१६ मा प्रकाशित अध्ययनले तीस हजार अमेरिकीहरुको शपिङ व्यवहारको अध्ययन गरेको हो । यसमा क्राफ्ट बियरमा बिरुवाका तत्व, इस्ट, ब्याक्टेरिया, भिटमिन, मिनरल र अन्य सम्भावित स्वस्थकर पदार्थ म्याक्रो बियर भन्दा धेरै हुने गरेकोले यो स्वस्थकर भएको दाबी गरिएको छ । तापनि मदिराजन्य पेय पदार्थलाई राम्रो भन्नु आफैँमा विवादित मानिएको छ । सन् २०१८ मा मात्र द ल्यान्सेन्टले नै प्रकाशन गरेको अध्ययनमा कुनैपनि मात्रामा मदिरा कहिल्यै सुरक्षित नभएको उल्लेख गरिएको छ । तर यसप्रति सबै विशेषज्ञहरु सहमत छैनन् । किनकी ठीक मात्रामा सेवन गर्नुले निश्चित रुपमा स्वास्थ्यलाई फाइदा गराउने पुष्टि भइसकेको उनीहरु बताउँछन् ।  टाइम अनलाइन बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर