• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

हिरासतबाट छुटाइदिने भन्दै रकम असुल्ने सातजना पक्राउ

कैलाली । कैलाली प्रहरीको हिरासतबाट छुटाइदिने भन्दै रकम असुल्ने चार सहित सातजना पक्राउ परेका छन् ।  भारतबाट अवैध माछा ल्याउँदै गर्दा पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै उनीहरूका आफन्तबाट रकम असुल्ने चारजना सहित अन्य तीनजना गरी सातजना पक्राउ परेका हुन् ।

भारतबाट अवैध रूपमा माछा ल्याउँदै गरेको अवस्थामा सोमबार पक्राउ परेका भारतीय नागरिक अकवर आली र मोहमद आलीलाई छुटाईदिने भन्दै एक लाख लिएको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

धनगढी उप–महानगरपालिका वडा नम्बर २ का २९ वर्षीय गुड्डु भनिने सुमित सिंह, सोही ठाउँका २९ वर्षीय सुमन शर्मा, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने विनोद शर्मा र वडा नम्बर १ बस्ने २१ वर्षीय हरिस कवाडीले प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम लिएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

भारत लखिमपुर खिरीका ३० वर्षीय हाइदर अलीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी अकवरका दाइ हुन्। यस्तै, प्रहरी हिरासतबाट छुटेका २१ वर्षीय मोहमद अली र २२ बर्षीय अकबर अलीलाई पनि प्रहरीले फेरि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार शर्मा र सिहले माछा अवैध रूपमा भित्र्याउनेहरूका आफन्तहरूसँग प्रहरीको हिरासतबाट छुटाइदिने भन्दै एक लाख मागेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले जिल्ला प्रहरी कार्यालय गएर छुटाउने प्रयास समेत गरेको बुझिएको तर तत्काल नछुटेपछि उनीहरूले रकम फिर्ता गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । बस्नेतका अनुसार  पक्राउ परेका दुवैजना अबदेखि यस्ता गतिविधि नगर्ने सर्तमा छुटेपछि हरिस कवाडीले आफूले पहल गरी छुटाएको भन्दै उनीहरूको आफन्तबाट एक लाख लिएका थिए ।

प्रहरीले छोडेपछि बजारमा डेढ लाख रूपैयाँ प्रहरी कर्मचारीले नै असुल्दै छोडेको आरोप लागेको थियो। प्रहरीले ५९ हजार नगद र ४१ हजारको चेक समेत बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर