राष्ट्रिय वाणिज्य बैंकले ल्यायो निशुल्क तालिम अफर

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले युवाहरुलाई लक्षित गर्दै तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकले युवा वर्गहरुको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तर्गत आरबीबी इम्पावरमेन्ट एकेडेमी सञ्चालनको घोषणा गरेको हो । 

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्ने बैंकले जनाएकोछ । एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा संचालन गर्दैछ । 

पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं। ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीलाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले यसबाट  लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग्स्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ ।

'५५ वर्षको गर्विलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको बृद्धि विकासका लागि र समाजलाई केही योगदान दिने उदेश्यले हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम केन्द्रको सुरुआत गरेका छौं ।' बिहीबार उक्त योजनाबारे जानकारी दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले भने ।

ठूलै शिक्षित जमातहरु वित्तिय क्षेत्रमा आफ्नो करीयर बनाउन लालयित भइरहेको परिप्रेक्ष्यमा रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृति विकाशमा धेरै सहयोग पुर्याउने सिइओ श्रेष्ठले बताए । यस्तो किसिमका रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै अन्य प्रदेशहरुमा पनि संचालन गरीने उनले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर