• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजका पत्रपत्रिका: रौतहट विस्फोटका घाइतेलाई सुई लगाई बेहोस बनाएर इँटाभट्टामा जलाइयो

आजका पत्रपत्रिकामा राजनीतिक र समसामयिक विषयलाई प्रमुख समाचार बनाइएको छ । कान्तिपुर दैनिकमा ‘रणनीतिक साझेदारी भनेको सैन्य गठबन्धन होइन’ शिर्षकमा प्रमुख समाचार लेखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरिएको ‘रणनीतिक साझेदारी’ कुनै सैन्य वा राजनीतिक गठबन्धन नभएको, त्यो आर्थिक–सामाजिक विकासका निम्ति गरिएको साझेदारीमात्र भएको स्पष्ट पारेका छन् । त्यस्तै कान्तिपुरमा यसरी घेराबन्दीमा परे चन्द समूहका २१ नेता शिर्षकमा समाचार छ ।
नयाँ पत्रिका दैनिकले रौतहटमा सांसद अफताप आलमले विष्फोटका घाइतेलाई कसरी जलाइएको थियो भन्ने समाचार छापिएको छ । पीडित परिवारको भनाइलाई समेटेर प्याकेज समाचार लेखिएको छ । 

६४ चैत : संविधानसभा निर्वाचनको माहोल तात्तिएको थियो । जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट गाउँ फर्किए । बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए । भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफ्ताव आलमका भाइ महताव आलमले साथमा लिइहाले । अफ्तावको चुनावी प्रचारका लागि १८ चैतमा उनी घरबाट निस्किए । आलमको चुनाव सफल भयो, उनी सांसद र मन्त्री पनि भए । तर, होनाहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए । 

२७ चैत, साँझ ६ः१५ बजे : रौतहटकै फरहदवा गाउँ (हालको राजपुर नगरपालिका–२) स्थित शेख इद्रिसको छाप्रोमा बम बन्दै थियो । खासमा विस्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले आलमको योजनामा धमाधम बम बनिरहेका थिए । तर, बम बनिरहेकै ठाउँमा विस्फोट भयो । बम बनाउन भारतबाट ल्याइएका कैयौँ घाइते भए, कैयौँको मृत्यु भयो ।

घाइतेहरू पीडाले छटपटाइरहेका थिए । अस्पताल लग भन्दै गुहार मागिरहेका थिए । तर, आफैँलाई चुनाव जिताउन बम बनाउँदा घाइते भएकाहरूलाई उपचार होइन, ‘व्यवस्थापन’ गर्ने योजनामा पुगे आलम । उनीहरूलाई उपचार गर्ने भनेर सुई लगाइयो, घाइतेहरू बेहोस भए । शान्त भएका सबैलाई एक–एक गरेर बोरामा प्याक गरियो ।

ट्र्याक्टरमा लोड गरेर नजिकैको आलमकै दाजु मुस्ताफको इँटाभट्टामा पुर्‍याइयो । इँटाभट्टामा हालिएका शरीर खरानी बने । खरानी बन्नेमा २२ वर्षीय युवा पिन्टु पनि थिए । 
छोरो विस्फोटमा परेको खबर सुनेपछि पिन्टुका बुबा श्रीनारायण सिंह भोलिपल्ट घटनास्थल पुगे । प्रत्यक्षदर्शीले विवरण सुनाएपछि वृद्ध बाबु छाँगोबाट खसेझैँ भए । बम बनिरहेको ठाउँमा तमासा हेरिरहेका पिन्टु खासमा गम्भीर घाइते भएका थिएनन् । ‘बम विस्फोटपछि उछिट्टिएको छर्रा पिन्टुको तिघ्रामा लागेको थियो ।

आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटी–लखेटी समाते । उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए । बोरामा कोचे । इँटाभट्टामा लगेर जिउँदै खरानी पारे,’ ७९ वर्षीय बाबुले नयाँ पत्रिकासँग भने, ‘इँटाभट्टामा हात अड्किएपछि बन्चरोले गिँडेर भित्र हालेछन् । सामान्य उपचार पाएको भए मेरो छोरो बाँच्थ्यो । जिउँदै जलाए पापीहरूले ।’

अनिश्चित बूढीगण्डकीका लागि भन्दै सरकारले इन्धनमा अतिरिक्त कर उठाएको विषयलाई अन्नपूर्णले प्राथमिकतापूर्वक उठाएको छ । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला कर उठाउन थालिएको र यसको निर्माण अनिश्चित हुँदा पनि यथावत् उठाइ राखिएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

अन्नपूर्ण लेख्छ– आयल निगमका अनुसार घोषणा भएदेखि हालसम्म ३५ अर्ब ३२ करोड रुपैयाँ उठेको छ । पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले ०७२/७३ देखि पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सारबिन्दुमै प्रतिलिटर पाँच रुपैयाँका दरले उठाउन सुरु गरेको हो । यो वर्षको भदौसम्ममा मात्रै यसबाट १ अर्ब ४२२ करोड ५१ लाख रुपैयाँ उठेको छ । समाचार अनुसार यसरी कर उठाउँदा पेट्रोल, डिजेल र हवाई इन्धन तीनदेखि ४ रुपैयाँसम्म महँगो परेको छ । अन्नपूर्ण पोस्टले चन्दुमा महावाणिज्य दूतावास किन? शिर्षकमा प्रमुख समाचार लेखेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर