• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम : एक समीक्षा

पूँजीवाद र अर्थराजनीति बुझ्न लेखक डीपी ढकालले लेखेको पूँजीवाद र समाजवादी अर्थ–राजनीतिक विकासक्रम पुस्तक बजारमा आएको छ । यो पुस्तक अर्थतन्त्रको इतिहास र विश्वको पूँजीवाद र अर्थराजनीति बुझ्नका लागि उपयोगी छ । किताबले पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम तथा केही प्रतिनिधि देशहरूमा भएका अर्थराजनीतिक अभ्यासलाई तथ्यपरक विश्लेषण गरेको पाइन्छ ।

पुस्तकमा चार अध्याय छन् जसमा विश्व अर्थराजीनतिक विकासक्रम रहेको छ भने दोस्रोमा राजकीय पूँजीको भूमण्डलीकरण, विश्व अर्थराजनीतिक केन्द्रको बदलाव पूँजीवादी विकासका चरणहरू र साम्राज्यवादको चर्चा गरिएको छ । तेस्रो अध्यायमा समाजवादी अर्थराजनीतिको विकास र चौथो अध्यायमा नेपालको अर्थराजनीतिको विषयमा लेखिएको छ ।

अर्थराजनीतिको विषयमा रुचि हुने बौद्धिक वर्गका लागि लक्षित यो पुस्तकमा प्रथम विश्वयुद्ध सकिँदा अमेरिका अन्य राष्ट्रहरूमा १० अर्ब ३३ करोडभन्दा बढी ऋण लगानी गरेर कसरी साहू राष्ट्रको रूपमा विकास भयो भन्ने विषय केलाउन खोजिएको छ । त्यस्तै, दोस्रो विश्व युद्धसम्म आइपुग्दा अमेरिकाले तटस्थताको पक्षपोषण गर्दै युद्धसामग्री निर्यात गरेको र युद्धसामग्री निर्यात गर्ने कामदेखि एक मात्र प्रमुख विजेता कसरी भयो भन्ने विषय पुस्तकमा उल्लेख छ । अर्थव्यवस्थाको नेतृत्व गरिरहेको देशमध्ये अमेरिकाको २ सय ५० वर्षको र भारतको सय वषएको अर्थराजनीतिक इतिहास पुस्तकमा छ ।

त्यस्तै, पुस्तकमा साम्राज्यवाद युगको सुरुवात र यसले विश्व अर्थराजनीतिमा पारेको प्रभाव वारे लेखक ढकालले सरल ढंगले प्रस्तुत गरेका छन् । साम्राज्यवादलाई हेर्ने सवालमा लेनिन र दोस्रो अन्तर्राष्ट्रिय नेता काल काउत्सकीबीच मतान्तरको विषयमा प्रस्ट्याउन खोजिएको छ । लेनिनले पूँजीवाद अब औद्योगिक पूँजीवादबाट वित्तीय पूँजीवादमा गइसकेको भन्ने भनाइमा काउत्स्की भने पुँजीवाद औद्योगिक पूँजीवादमै रहेको कुरामा अडिग रहको कुरा उल्लेख छ ।

पूँजीवादी अर्थनीतिलाई अंगीकार गरेका अमेरिका, जापान, दक्षिण कोरियालगायतका मुलुकहरू आफ्नो नीतिप्रति स्पष्ट छन् भने समाजवादी अर्थनीति अँगालेका चीन, क्युबालगायतका देश पनि आफ्नो मान्यतामा प्रस्ट छन् ।

पुस्तकमा अर्थराजनीतिको क्षेत्रमा समाजवादी राज्यव्यवस्था सञ्चालनको अनुभव हासिल गरेका तत्कालीन सोभियत संघ, जनवादी गणतन्त्र चीन तथा क्युबाको अर्थराजनीतिक मोडलबारे विश्लेषण गरिएको छ । समाजवादी र पुँजीवादी देशहरूले अपनाएका आर्थिक मोडल, विभिन्न कालखण्डमा उनीहरूको आर्थिक अवस्था, राजनीतिक मोडलले आर्थिक समृद्धिमा पारेको प्रभाव आदीलाई तथ्यांकसहित प्रस्तुत गरिएको छ ।

त्यस्तै, लेखकले विश्व अर्थतन्त्रको पछिल्लो ३० वर्षको प्रवृत्तिलाई तथ्यांकसहित प्रस्तुत गरेका छन् । पछिल्लो ३७ वर्षमा व्यापार क्षेत्रहरूमा भएको परिवर्तन र सोभियत संघको विघटनपछि अमेरिका प्रविधि बेचेर, बेलायत कन्सल्ट्यान्ट बेचेर र युरोप चीन र भारत वस्तु बेचेर र बाँकी विश्व सस्तोमा मानव संशोधन बेचेर अर्थतन्त्र चलाइरहेको तथ्यलाई गहन रूपमा विश्लेषण गरिएको छ । पुस्तकमा विश्वका देशहरूको कुल गार्हस्थ उत्पादनको तथ्यांक समेटिएको छ ।

पुस्तकमा कसरी अमेरिकाले विश्वमा पूँजीवादी धारको नेतृत्व गर्न सक्यो र त्यसको अहिले विश्वमा कस्तो प्रभाव रहेको छ भने तथ्यसहित विश्लेषण गरिएको छ । त्यस्तै, तत्कालीन सोभियत संघ, चीन तथा क्युबालाई आधार बनाएर समाजवादी अर्थराजनीतिको विकास र त्यसको विश्वमा परेको प्रभावबारे आँकडासहित उल्लेख गरेका छन् । कृतिमा अमेरिकी अर्थतन्त्रको विकास मोडल र एक्काइसौं शताब्दीको दुई दशकको अर्थतन्त्रलाई विष्लेषण गरिएको छ ।

लेखक ढकालले विश्वको अर्थराजनीतिक अवस्थाको मात्र नभई नेपालको अर्थराजनीतिको विषयलाई पनि कृतिमा समेटेका छन् । लेखक ढकालले कृतिको चौथो अध्यायमा मध्यकालीन नेपालको अर्थतन्त्र र त्यतिबेलाको चित्र झल्कने गरी प्रस्तुत गरेका छन् । त्यतिबेलाको कला–संस्कृति र कृषि उत्पादनका विषय उतारेका छन् ।

संसारभर अहिले पुँजीवादी अर्थव्यवस्था ठीक कि समाजवादी अर्थतन्त्र ठीक भन्ने विषयमा पेचिलो बहस भइरहेका बेला नेकपाका नेताहरूले समाजवादी अर्थनीतिलाई अंगीकार गरेर जाने बताइरहेका छन् ।

सुगौली सन्धिपछि विश्व तीव्र रूपमा औद्योगीकरणतर्फ अगाडि बढिरहँदा नेपाल भने राणाहरूले निर्माण गरेको बन्द सामाजिक र आर्थिक घेराबन्दीमा रहेको विषय पनि कृतिमा समेटिएको छ । त्यस्तै, अमेरिका, दक्षिण कोरिया र भारतको अर्थतन्त्र तथा अर्थव्यवस्थाका बारेमा तथ्य र तथ्यांमसहित विश्लेषण गरिएको छ । यस्तै, जनवादी गणतन्त्र चीनको अर्थनीतिलाई पनि माओ त्सेतुङ काल र देङकालीन अर्थनीतिमा विभाजन गरेर व्याख्या गरिएको छ । यस्तै, क्युबाको अर्थतन्त्र र अर्थराजनीतिको विषयमा समेत जानकारी दिने प्रयत्न गरिएको छ ।

नेपालको पूर्वकालीन अर्थतन्त्रदेखि मध्यकालीन, राज्य विस्तार काल, सुगौली सन्धि, प्रथम प्रजातान्त्रिक काल, ३० वर्षे पञ्चायतकाल, उदारीकरण र निजीकरणका युग, उद्योग, व्यवसाय र व्यापारको विषयसमेत कृतिमा समेटिएको छ । यस्तै नेपाल, समृद्ध र समाजवादी नेपाल शीर्षक दिएर विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र नेकपाका अध्यक्ष प्रचण्डको मुख्य आर्थिक दृष्टिकोणलाई पुस्तकमा समेटिएको छ । जागरण बुक हाउसको प्रकाशन गरेको कुल ४ सय ७ पृष्ठ रहेको पुस्तकको मूल्य ६ सय रुपैयाँ राखिएको छ । मोटो गाता भएको पुस्तकको मूल्य १ हजार २ सय ५० रुपैयाँ राखिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर