कर्णाली प्रदेश : १० महिनासम्म गाडीको लाइसेन्स दिन असफल

सुर्खेत । अघिल्लो वर्ष पुस ५ गते सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवाको सुरुवात गर्यो । उक्त सेवाको सुरुवात गर्न प्रदेश सरकारका तीन जना मन्त्रीहरु पुगे । सोही अवसरमा प्रदेश सरकारले घोषणा ग¥यो,‘अबको तीन महिना भित्रमा सुर्खेतबाटै सवारी चालक अनुमति पत्र वितरण हुनेछ ।’

तर लाइसेन्सको नविकरणको सेवा सुरु भएको १० महिना बित्यो । हालसम्म पनि सुर्खेतबाट नयाँ लाइसेन्स जारी गर्न प्रदेश सरकार असफल भएको छ । यतिसम्म की आवश्यक कर्मचारी र पूर्वाधारको व्यवस्थापन गर्न नसक्दा अब कहिलेबाट यो सेवा सुरु हुन्छ भन्नेमा अन्यौल नै छ । यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि यसअघि लाइसेन्स वितरण हुँदै आएको कर्णालीको एक मात्र स्थान जुम्लामा पनि हाल उक्त सेवा बन्द भएको छ ।

संघीयताले आँगनमै सेवा उपलब्ध हुने अपेक्षा गरेका कर्णालीबासी अहिले पनि सवारी संचालनका लागि आवश्यक पर्ने लाइसेन्सका लागि प्रदेश ५ र अन्य जिल्लामा धाउन बाध्य छन् । प्रदेश सरकारले महत्व र प्राथमिकता नदिएकै कारण हाल कर्णालीबाट नयाँ लाइसेन्स जारी हुन सकिरहेको छैन ।

बरु यसबाट प्राप्त हुने करोडौं राजस्व कर्णाली सरकारले गुमाइरहेको छ । प्रदेश सरकारले कर्णालीबाटै लाइसेन्स वितरण गर्ने बारम्बार प्रतिबद्धता पनि जनाउने गरेको छ । तर त्यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति र भौतिक पुर्वाधार व्यवस्थापन गर्न प्रदेश सरकारले सकिरहेको छैन ।

प्रदेश सरकारले लाइसेन्स वितरणका लागि हालसम्म न आफ्नै ट्रायल सेन्टर निर्माणको योजना बनाएको छ, न त परिक्षा संचालनका लागि आवश्यक गृहकार्य नै गरेको छ । यति सम्मकी प्रदेश सरकारका अधिकारीहरु नै तत्काल लाइसेन्स वितरण सम्भव नभएको बताउँछन् । आवश्यक प्राविधिक कर्मचारीको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालै लाइसेन्स वितरणको काम सम्भव नभएको सरकारी अधिकारीहरुको भनाइ छ ।

यसकारण पनि प्रदेश सरकार सवारी साधन संचालनका लागि आवश्यक पर्ने चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने असक्षम देखिएको छ । हाल सुर्खेतबाट सवारी साधनको कर, रुटपरमिट, सवारी दर्ता, नविकरण, नामसारी र सवारी जाँचपासको मात्र काम हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर