• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

लक्ष्मीप्रसाद देवकोटा : एक आदर्श व्यक्ति

समाजको स्खलन वा प्रगति त्यसले ग्रहण गर्ने आदर्श र मान्यताले प्रभाव पार्दछ । खडिलो, अर्थपूर्ण मूल्य र मान्यता, आदर्शविनाको समाजले प्रगति गर्न सक्दैन । आज हाम्रो समाजमा एकातिर दया, करुणा, मेहनत, इमान्दारिता, सिर्जनशीलता आदिजस्ता विशेषताहरूको आवश्यकता महसुस हुन छाडेका छन् र अर्कोतर्फ अन्तर्राष्ट्रिय जगत्को विभिन्न विधाको मापदण्डमा तुलनात्मक रूपमा हाम्रो मुलुक पुछारमा परेको छ । 

समाजमा हत्या, हिंसा, बलात्कार, बेइमानी, आदिप्रति हामी भावनाशून्य भएका छौं । आफ्नो तारिफ सुन्न रुचाउने तर अरूको उन्नति र प्रगतिबारे सुन्न नचाहने चरम स्वार्थी बन्दै गएका छौं । समाजमा आदर्श व्यक्तिको अनुसरण वा नक्कलको अवधारणाको चेतनाको कमीको कारणले समाजको पथप्रदर्शक वा सहजकर्ताको अनुकरण गर्ने प्रथा छैन । 

अनुयायीले चाहेको परिणाम वा नतिजा पाउनका लागि आदर्श व्यक्तिले सफलताका लागि अवलम्बन गरेका मार्गप्रति विश्वस्त वा धारणा सकारात्मक हुनु जरुरी छ । उक्त विश्वास र सकारात्मक धारणाको निरन्तरताले मस्तिष्कलाई चाहेको नतिजामा पु¥याउने संकेत दिन्छ वा भनौं सम्भावनाको ढोका खोल्छ । मानसिक क्रमबद्धता अर्थात् आफ्ना सोचहरूलाई संगठित वा व्यवस्थित गर्नुपर्ने हुन्छ । मस्तिष्क र स्नायु ठीक स्थानमा पुग्न सके मात्र अनुकरणबाट चाहेको परिणाम वा नतिजा पाउन सकिन्छ । उदाहरणका लागि हामीले प्रयोग गर्ने हरेक सिम कार्डलाई १० अंकको नम्बर दिएको हुन्छ र कुनै एक मात्र गलत अंक थिचेमा खोजेको वा चाहेको नम्बरमा पुग्दैन । 

लेखक विनय महर्जन

हाम्रो समाजको मध्यमवर्गीय परिवारको आर्थिक र अन्य विशेषता, बाल्यकालको माहोल, मेहनत गर्ने आदत, बहुमुखी प्रतिभा, असाधारण व्यक्तित्व, आँट र क्षमता, मानवता, जीवनको उद्देश्य र दृढता आदि सबै दृष्टिकोणले लक्ष्मीप्रसाद देवकोटालाई आदर्श व्यक्तित्वको रूपमा स्थापित गरी उनको अनुसरण गर्नु गौरवको विषय हुनेछ । 

स्वयं देवकोटाले पनि पारिवारिक उत्तरदायित्वबोधमा आफ्ना दाजु र साहित्य सिर्जनाको फाँटका लेखनाथ पौड्याललाई आदर्श पुरुष मानेका थिए र भानुभक्त आचार्यका प्रशंसा गरेको थियो । लक्ष्मीप्रसाद देवकोटाको चेतनशील मस्तिष्कको उपज हो ‘उदेश्य के लिनु उडी छुनु चन्द्र एक’ तर आज हामीलाई चार पैसा जोड्नु नै जीवन छ, अरूको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको होस राख्छौं, न नवीनताको । हामी उन्नतिशीललाई पनि बुझ्दैनौं, उन्नतिलाई पनि । हाम्रो आँखा असल र खराब, राम्रो र नराम्रो, ठीक र बेठिक छुट्याउन असमर्थ हुँदै गएको छ भने सत्य र झूटको स्पष्ट बक पनि फुट्दैन । 

सारमा भन्ने हो भने मानवतामा ह्रास आएको छ । वर्तमान समाजमा सकारात्मक परिवर्तनका लागि हामीले फेरि सिद्घार्थ गौतम बुद्घ, लक्ष्मीप्रसाद देवकोटा, जयपृथ्वीबहादुर सिंह, नारायणगोपाल गुरुवाचार्यहरूजस्ता व्यतित्व पुनर्जन्म गराउनुपरेको छ, मस्तिष्कबाट । 

यस लेखका लागि संकलन गरेको सन्दर्भ सामग्रीको आधारमा देवकोटाको संज्ञान शैली विश्लेषण गर्ने हो भने उनी अन्तरज्ञानी र विचारक दुवै विशेषताहरू भएको व्यक्तित्व मान्न सकिन्छ । महान् व्यक्तिहरू जिउँदो हुँदा अपरिचितसरह ठान्ने र मृत्युपछि सम्झने नेपाली संस्कारप्रति उनले विरोध गरेका छन् । लक्ष्मीप्रसाद देवकोटाको विचारमा चिन्नलाई आँखा, बुझ्नलाई मगज, सुन्नलाई कान, र भावनालाई ह्रदय हुनु भनेको मानव हो, अन्यथा पशुको लक्षण हो भन्ने आशय वैज्ञानिक छ । 

देवकोटाको पारिवारिक माहोलका कारण अंग्रेजी विषयमा शिक्षा आर्जन गरी ट्युसन पढाएर पैसा कमाउनुपर्छ भन्ने जिम्मेवारीपनले उनले भातको स्वाद लिन छोडे, खेल्न छाडे, रातको अबेरसम्म र बिहान सबेरै पनि अध्ययन गर्दा गर्दै किताबको चाङमा निदाउथे, जुत्ता नलगाउने र ऐना कम हेर्ने गर्थे । अनेक कष्टका साथ नौ वर्षको पहिला कोर्स पाँचै वर्षमा पटना विश्वविद्यालयबाट सकाए । परिवारको लागि आर्थिक जिम्मेवारी बहन गर्ने सिलसिलामा दिनको तेह्र घण्टासम्म ट्युसन पढाए । सानै उमेरदेखि पिताको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको क–ख ज्ञान बसेको र बाल्यावस्थामा नै भाउजूको उत्पे्ररणाले कविता लेख्न थालेका थिए । उनको विचारमा सत्यता, सौन्दर्य, सिर्जना, ह्रदयस्पर्शिता, सूचनात्मकता कलाका मुख्य गुणहरू हुन । देवकोटा परम्परागत शिक्षा प्रणालीमा असहमत थिए । उनले व्यावहारिक शिक्षा वा वैज्ञानिक शिक्षाको वकालत गरेको पाइन्छ । उनको विचारमा सत्य तीन प्रकारका छन्– काल्पनिक सत्य, व्यावहारिक सत्य र दार्शनिक सत्य । र उनी काल्पनिक सत्यलाई रुचाउँछन् । 

देवकोटा पढ्न र पढाउनमा अब्बल, नेपाली साहित्यको लागि ८४ कृतिहरू प्रकाशित र अनगिन्ती अप्रकाशित कृतिहरूका सर्जक, भाषणकलामा निपूर्ण, सादा जीवन र उच्च विचारका धनी तर आर्थिक समस्याले पिरोलेका, शिष्टाचारका लागि अनुकरणीय व्यक्ति, चुरोटको अम्मली, गुलियो र मासुको स्वादको पारखी, गरिबका हितचिन्तक र दलितका लागि प्रेरक, नेपाली भाषा र राष्ट्रियताका लागि चट्टान, पुस्तकालय स्थापनामार्फत शिक्षाका अभियन्ता, त्रिभुवन विश्वविद्यालयको लागि भूमिप्रबन्धक, बहुभाषाका ज्ञाता र अंग्रेजीका विशेषज्ञ, पत्रकारिताको क्षेत्रमा शारदा, साहित्यस्रोत, युगवाणी, दर्शन, इन्द्रेनी, प्रगति, आदि पत्रिकाको सम्पादक, यी र यस्ता विशेषता र योगदानकर्ता थिए ।  

अन्तर्राष्ट्रिय जगत्मा नेपाली साहित्य प्रवद्र्घन गर्ने सिलसिलामा देवकोटाले विभिन्न मञ्चहरूमा गरेका कार्यहरू पनि उदाहरणीय छन् । २००७ सालमा काठमाडौंमा भएको हिदिी भाषी कविता गोष्ठीमा वाचन गरिएको कवितालाई तत्काल अंग्रेजीमा अनुवाद गरी प्रस्तुत गर्न सक्ने क्षमतावान् । २०१० सालमा रोमानियाको बुखारेस्टमा भएको अन्तर्राष्ट्रिय युवा महोत्सवको चौथो भेलामा प्रस्तुत कविताको प्रकाशनले नेपालको इज्जत र प्रतिष्ठा आर्जनकर्ता । त्यस्तै, चीनको भ्रमणको बेला सांघाई रेडियोबाट प्रसारण गरेको उनको विचारले प्रभाव पार्न सफल । २०११ सालमा नयाँ दिल्लीमा भएको एसियाली सम्मेलनमा नेपाली टोलीका तर्फबाट दिएको भाषणद्वारा आफू वस्तुवादी र क्रान्तिकारीको रूपमा उभ्याउन सफल । 

२०१३ सालमा नयाँ दिल्लीमा भएको प्रथम एसियाली लेखक सम्मेलनमा नेपाली साहित्यको मात्र नभई दक्षिण एसियाकै साहित्यको विकास र नेपाली भाषाले भारतमा मान्यता पाउनपर्दछ भनेर सारगर्भित मन्तव्यमार्फत भाषाको वकालत गर्न सक्षम । त्यस्तै, २०१५ सालमा सोभियत संघको तास्कन्दमा भएको एफ्रो एसियाली लेखक संघको सम्मेलनमा गरेको भाषणमा साहित्य भनेको समाज हित, मानव जीवन, सहअस्तित्वका लागि हुनुपर्छ न कि माथिल्लो वर्गको सुखको विषय बन्न सक्तैन र यो विनाश र सैनिक आक्रमणविरुद्घ हुनुपर्छ भन्ने आसयको भाषण गरेर रसियाली, एसियाली र अफ्रिकी महादेशका साहित्याकारहरू माझ नेपाली साहित्यबारे परिचित गराउन सफल । 

राणाविरोधी जनक्रान्तिलाई अगि बढाउन नेपाली राष्ट्रिय कांग्रेससँग सम्बद्ध व्यक्तिहरूले देवकोटालाई बनारस पु¥याएर मुखपत्र युगवाणी पत्रिकाको जिम्मेवारी सुम्पिए तापनि उनीप्रतिको दायित्व कांग्रेसले बहन गरेन । देवकोटा कुनै पनि राजनीतिक सिद्घान्तको सीमाभित्र कैद नभए तापनि राजनीतिक पक्षहरूका लागि प्रत्यक्ष वा परोक्ष सहयोग भने गरे । 

जीवन सार्थक बनाउन, समाजलाई सही दिशावोध गर्न, हरेक नागरिकलाई नेपाली भाषा र साहित्यको महत्त्व बुझाउन देवकोटाको विषयमा थप खोज र अनुसन्धान, उनको नाममा स्थापित प्रतिष्ठानको क्रियाशीलता, उनको घर र अन्य भौतिक सामग्रीहरूलाई म्युजियमको रूपमा व्यवस्था गरी प्रदर्शन, उनका कृतिको प्रकृति आधारमा टेलिसिरियल वा सिनेमा वा नाटक निर्माण, उनका आदर्श वाक्य, सोच, विचारको व्यावहारिक प्रयोग गर्न प्रोत्साहनको लागि प्रचार र प्रसार तथा विभिन्न प्रतियोगिताहरू आयोजना गरी देवकोटा आदर्श व्यक्तिको वा प्रेरणाको स्रोतव्यक्ति बनून्... ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर