साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् । 

केही वर्ष अघिसम्म न्यून विदेशी पर्यटकमात्रै भ्रमणमा आउने यस पदमार्गमा पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको आगमनसमेत बढ्न थालेको इटाली आधार शिविरमा होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले बताए । “धेरै दिनको यात्रा गर्नुपर्ने भएकाले यो क्षेत्र विदेशी पर्यटकको रोजाइमा मात्रै पर्ने गरेको थियो, पछिल्लो समय नेपाली पर्यटक पनि आउन थालेका छन् । पदमार्ग, झोलुङ्गे पुललगायतको पूर्वाधार बन्न थालेपछि पदयात्रामा आउने पर्यटकलाई राहत मिलेको छ”, तिलिजाले भने । 

धौलागिरि पदमार्गमा पूर्वाधार बन्दै गएपछि हत्केलामा ज्यान राखेर भिरमा हिँड्नुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ भने पदयात्रा पनि सुरक्षित हुन थालेको छ । दशँैको बिदाको समयमा एक साता लामो पदयात्रा गरी धौलागिरि आधार शिविरमा पुग्नुभएकी धौलागिरि गाउँपालिका-४ खाम्लाकी केसरी शर्माले पर्यटन विकासको अथाह सम्भावना रहेर पनि यो क्षेत्र प्रचारप्रसारको कारण ओझेलमा परेको अनुभव सुनाए । 

“धौलागिरि पदमार्ग साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र हो, यसको प्रचारप्रसार र अत्यावश्यक पदमार्गलगायतका पूर्वाधार निर्माणलाई पूर्णताः दिनतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ”, म्याग्देली विद्यार्थी परिवार काठमाडौंकी अध्यक्षसमेत रहेकी शर्माले भने । 

पदमार्गअन्तर्गत नाउराको भिर, इटाली क्याम्पदेखि स्विस क्याम्प जाने पदमार्ग र जापानी क्याम्पदेखि आधार शिविरसम्मको ग्लासियर क्षेत्र पदयात्राको लागि अनौठो र साहसिक भएको उनले बताए ।

पछिल्लो समय पदमार्गअन्तर्गत सबैभन्दा जोखिमयुक्त रहेको नाउराको भिरदेखि बगर, दोभान, सल्लाघारी, इटाली बेस क्याम्प हुँदै स्विस क्याम्पसम्मको पदमार्गलाई स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारमार्फत प्राप्त भएको रु ६५ लाख बढी बजेटबाट करीब १२ किलोमिटर पदमार्गलाई निर्माण र मर्मत गरिएको हो ।

भिर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । उनले अझै पनि अप्ठ्यारा ठाउँमा पदमार्ग र खोलामा झोलुङ्गे पुल बनाउनको लागि पहल भइरहेको बताए । पदमार्ग निर्माणसँगै धौलागिरि आधार शिविर र चक्रीय धौलागिरि र हिमाल आरोहणको लागि जाने पर्यटकलाई राहत भएको छ । 

जोखिमपूर्ण पदमार्ग र सञ्चारको पहुँच नभएको कारण आधार शिविर जानको लागि पर्यटकले हेलिकप्टरको प्रयोग गर्दै आएका छन् । आरोहणमा जाने अधिकांश पर्यटक हेलिकप्टरमार्फत जाने भए पनि धौलागिरिको फन्को लगाउने र आधार शिविर पुग्ने पर्यटक भने पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् । 

धौलागिरि पदमार्गमा मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृष्य पदयात्राको मुख्य आकर्षण रहेको छ । ग्लेसियर क्षेत्रमा रहेका हिमतालसमेत पर्यटकको आकर्षण बन्ने गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर