धितोपत्र बोर्डको अध्यक्ष बन्ने लबिङ तीव्र, कसले पाउला आगामी नेतृत्व ?

काठमाडौं । पूँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद यतिबेला रिक्त छ । तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्कीको चार वर्ष कार्यकाल समाप्त भएर अवकाश लिएपछि पद खाली भएको हो ।

कार्की बाहिरिएसँगै बोर्डको अध्यक्ष को बन्ने भन्ने चासो बढेको छ । खासगरी सेयर बजारमा चासो राख्ने लगानीकर्ताहरू, ब्रोकर कार्यलय साथै अन्य सरोकारवाला निकायमा दैनिकजसो चर्चा परिचर्चा चलिरहन्छ । 

बोर्डका अध्यक्ष मन्त्रिपरिषदको बैठकले नियुक्त गर्ने व्यवस्था छ । सामान्यतया राजनीतिक आधारमा नै नियुक्ति हुने हुनाले सत्ताधारी पार्टी सम्बन्ध व्यक्तिलाई बोर्ड अध्यक्षको नेतृत्व पाउने आँकलन गरिएको छ । बोर्डको आगामी अध्यक्षका रूपमा अहिले विभिन्न व्यक्तिहरूको नाम चर्चा रहेको छ । बोर्डको आगामी अध्यक्षका रुपमा बलियो सम्भावना भएको रूपमा विज्ञ सदस्य भीष्मराज ढुंगानालाई लिइएको छ । 

बोर्डको अध्यक्ष बनाउनेकै लागि राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा उनलाई विज्ञ सदस्य बनाइएको बोर्डभित्र साथै बाहिर पनि चर्चा चलेको  छ । नेकपामा केपी ओली निकट मानिने उनी बोर्डको अध्यक्ष बन्ने संभावना उच्च रहेको स्रोतको दाबी छ । राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका ढुँगाना नेपाल स्टक एक्सचेञ्जको पदेन सदस्य समेत रहेका थिए । 

यता, नेपाल स्टक एक्चेन्ज (नेप्से) का पूर्वअध्यक्ष टंक पनेरु पनि बोर्डको नेतृत्व सम्हाल्ने दौडमा सहभागी छन् । नेप्सेमा रहेर काम गरेका पनेरुलाई पूँजी बजारका बारेमा राम्रो दख्खल भएको हुनाले बलियो दाबेदारका रुपमा हेरिएको छ । स्रोतका अनुसार उनले नेकपाको लेखासमितिमा पनि काम गरेको बताइन्छ । स्थायी घर झापा भएका पनेरु र ढुँगानामध्ये एक जनाले आगामी चारवर्ष बोर्डको नेतृत्व सम्हाल्न सक्ने चर्चा पूँजी बजार सम्बद्ध अधिकारीहरु बीच चल्ने गरेको छ ।

यी दुईका अलवा बोर्डका पूर्व विज्ञ सदस्य निलबहादुर सारु मगर, नेप्सेका पूर्व महाप्रबन्धक सीताराम थपलिया लगायतको नाम पनि चर्चा छ । 

यता, बोर्डका बहालवाला कर्मचारीहरुको नाम पनि अध्यक्षको रुपमा आउन थालेको छ । बोर्डका कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौडेल, निरज गिरी पनि आगामी नेतृत्वको दौडमा छन् । जसमा कार्यकारी निर्देशक गिरीलाई बलियो दाबेदारका रूपमा हेरिएकाे छ । बोर्डमा रहेर लामो समय काम गरेका गिरीलाई पूँजी बजारका सम्बन्धमा राम्रो ज्ञान भएको सेयर लगानीकर्ताहरूको बुझाइ छ । गिरीलाई नेकपामा पूर्वमाओवादी खेमाको समेत सहयोग रहने कतिपयको भनाइ छ ।

पछिल्लो समय सेयर बजारमा निकै चुनौतीहरु थपिएको अवस्थामा पूँजी बजार बुझेको र त्यसमा पनि बोर्डकै कर्मचारीबाट अध्यक्ष छान्नुपर्ने नेकपाका पूर्वमाओवादी खेमा रहेको बताइन्छ । यद्यपि, राजनीतिक आधारमा अध्यक्ष नियुक्त गर्ने प्रचलन रहेकाले यसै हुन्छ भन्न सकिने अवस्था रहेको बोर्डका एक उच्च अधिकारी बताउँछन् । 

पछिल्लोपटक सरकारी स्वामित्वको नेपाल बैंकमा बैंककै कर्मचारी प्रमुख कार्यकारी अध्यक्ष भएको हुनाले बोर्डबाट नै आगामी नेतृत्व छानिन सक्ने सम्भावना जिवित रहेको उनको भनाई छ ।

कम्ती छैनन आउने अध्यक्षका चुनौती !

नियमनकारी निकायको नेतृत्वमा पुग्न जति आकर्षण देखिन्छ त्यसमा जोखिम तथा चुनौती पनि त्यत्ति नै रहेका छन् । त्यसमा पनि दिनानु दिन घट्दै गएको सेयर बजार र त्यसमा बोर्डप्रति लगानीकर्ताको आक्रोश निकै देखिन्छ । पूँजी बजारमा केही समस्या देखिए लगानीकर्ताको तारोमा बोर्ड नै पर्ने गरेको छ । यसर्थ लगानीकर्ताको मनोभावनालाई समेट्दै पूँजी बजारलाई प्रविधिमैत्री साथै थप विकास र विस्तारमा लाग्नु नयाँ नेतृत्वको प्रमुख चुनौतीका रुपमा रहेको छ । 

त्यस्तै पूँजी बजारमा गैरआवसीय लगानी भित्र्याउने, बजारमा हुने उच्च उतारचढावलाई सन्तुलन गर्न मार्केट डिलर तथा मार्केट मेकर ल्याउनु पनि आउने नेतृत्वको काँधमा पर्दछ । त्यस्तै बोर्डले कमोडिटी मार्केट सञ्चालनका लागि पनि कम्पनी छनोट गरिसकेको छैन् । त्यस्तै केन्द्रमा आफ्नै भवन समेत नभएको अवस्थामा प्रादेशिक स्तरमा आफ्नो कार्यालय विस्तार गर्नु पनि बोर्डका लागि चुनौतीपूर्ण नै छ ।

त्यसैगरी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को निजीकरण, अर्को स्टक एक्स्चेञ्ज स्थापना लगायतका सन्दर्भमा पनि आउने बोर्ड अध्यक्षले ठोस निर्णय लिनुपर्ने देखिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर