• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

तिहारलाई लक्षित गरि बजार अनुगमन

पाल्पा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी पाल्पामा बजार अनुगमन गरिएको छ । तिहारको मुखमा उपभोक्त ठगिने र अखाद्य वस्तु उपभोग गर्नुपर्ने समास्या अन्त्य गर्न तानसेन नगरपालिकाले नगरभित्रको मुख्य बजारमा पाँचवटा समूहले एकैसाथ अनुगमन गरेको छ ।

पाल्पा सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाभित्रको मुख्य बजारमा किराना पसल, होटल तथा रेस्टुरेन्ट, मासु पसल र पेय पदार्थलगायतका पसलहरूमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पसलहरूबाट म्याद गुज्रेका खाद्यवस्तु, सुर्तीजन्य पदार्थ तथा मापदण्डविपरीत राखिएका समान जफत गरी नष्ट गरिएको छ । 

पाँचवटा समूहले नगरभित्रका फरकफरक स्थानमा गरेको अनुगमनका क्रममा अधिकाशं पसलमा मूल्यसूची नराखेको व्यवसाय दर्ता नगरेको तथा म्याद गुज्रिएका सामग्री समेत बिक्रीका लागि राखेको भेटिएको थियो । म्याद नाघेका खाद्यवस्तु, पेय पदार्थहरू र सुर्तीजन्य सामग्री जफत गरी नष्टसमेत गरिएको छ । 

तिहारको बेलामा उपभोक्ता ठगिन नदिन र अखाद्य वस्तुहरू बिक्री–वितरणमा रोक लगाउन बजार अनुगमन गरिएको तानसेन नगरपालिकाका अधिकृत तथा अनुगमन संयोजक दुर्गाबहादुर थापाले बताए । व्यापारीहरूले भने पहिलेदेखि नै सडकछेउमा तिहारका मिठाई तथा खाद्यवस्तुहरू खुला रूपमै बिक्री गर्ने प्रचलन रहेका हुँदा सोहीअनुसार बिक्री गर्ने गरेको बताएका छन् ।

विगतका वर्षहरूमा चाडपर्वमा मात्र अनुगमन हुने भए पनि अबका दिनमा भने यसलाई निरन्तर रूपमा सञ्चालन गरिने र व्यापारीलाई पनि सोहीअनुसार नियमपालन गर्नुपर्ने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद वाग्लेले बताए । पहिलो चरणमा व्यापारीलाई सुझाव दिइएको र आगामी दिनमा पनि मापदण्ड पूरा नगरे कारबाहीको दायरामा ल्याउने नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, नेपाल पत्रकार महासंघ, नेपाल प्रहरी कार्यालय पाल्पाका प्रतिनिधिसहितको उपस्थितिमा तानसेन नगरपालिकाले नगरभित्रका ९७ पसलको अनुगमन गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर