नदिको बहाव घटेपछि महाकाली पुल निर्माण पुनः सुरु [फोटोफिचर]

कञ्चनपुर । बर्खा सुरु भएसँगै रोकिएको महाकालीमा पक्की पुलको काम पुनः सुरु भएको छ । नदीमा पानीको बहाव घटेपछि यसै सातादेखि निर्माण सुरु गरिएको हो । पुल निर्माणस्थलसम्म पुग्न नदीलाई विभिन्न ठाउँमा डाइभर्सन गर्ने काम भइरहेको छ ।

जिरो प्वाइन्टदेखि पुल निर्माण स्थलसम्म ३ ठाउँमा डाइभर्सनको काम भइरहेको निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए । उनले एकरदुई दिनमा नदी डाइभर्सनको काम सकिएपछि अन्य निर्माणमा जुट्ने बताए । हालसम्म २ सय ९० पाइलिङ गर्ने काम सकिएको र १ सय १८ मात्रै बाँकी रहेको उनले जानकारी दिए ।

बाँकी पाइलिङको काम २ महिनामै सक्ने लक्ष्य रहेको उनले बताए । महाकालीमा निर्माणाधीन ४ लेनको पुलमा ३४ पिलर निर्माण हुनेछन । जसमध्ये आधा पिलर ठडिइसकेका छन ।

यस वर्ष सबै पिलर निर्माण गरी केही स्ल्याबसमेत राख्ने लक्ष्य रहेको उनले बताए । हालसम्म पुलको ३० देखि ३५ प्रतिशत काम पूरा भइसकेको प्राविधिकहरूको दाबी छ ।

८ सय मिटरको ४ लेनको पुल महाकाली नदीको बीच भागमा बनिरहेको छ । पुल निर्माणसँगै गड्डाचौकीदेखि पुलसम्म पुग्ने मार्ग बन्ने काम पनि धमाधम भइरहेको छ । महाकाली पारीको दोधारा चाँदनी क्षेत्रलाई सडक सञ्चालसँग जोडन ४ लेनको पुल निर्माण सुरु गरिएको हो ।

महाकालीपारिका बासिन्दालाई सडक सञ्जालमा जोडनुका साथै दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको मुख्य पूर्वाधारका रूपमा यसलाई हेरिएको छ । भीमदत्त नगरपालिका १३, ओदाली र महाकाली नगरपालिका १, चाँदनीलाई जोड्ने गरी नेपाली भूभागमै पुल निर्माण भइरहेको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर