स्थानीय फूल आपुर्ती बढ्ने अनुमानमा आयातको परिमाण घटाइयो

विराटनगर । केशलीया नदी किनारको डाँडो जमिनमा लगाएको सयपत्री फूलबाली यो पटक खासै सप्रिएन । लामो समय वर्षा हुँदा हजारौं फूलका बोट मरे । झण्डै चार बिगाह जमिनमा खेति गरेपनि अहिले करिव दुई हजार जति फूलको बोटले उत्पादन दिइरहेको किसान रतन जाना बताउँछन् । 

रतन जाना भारत पश्चिम बंगालका नागरिक भएपनि बर्षौंदेखि विराटनगरमा फूलको व्यापार गर्दै आएका छन् । पश्चिम बंगाल फूल उत्पादनमा राम्रो क्षेत्रको रुपमा परिचित छ । ‘त्यहीँबाट फूल ल्याएर बिक्री गर्छौं,’ जानाले भने ‘यहीँ उत्पादन गर्दा सहज हुन्छ भनेर खेति गरेका थियौं तर पानीले पुरै क्षति गरिदियो ।’

विराटनगर वरिपरि व्यवसायिक फूल खेति गर्ने प्रचलन छैन । नर्सरी सञ्चालकहरु बाहेक थोरैले मात्र फूलको खेति गर्ने गरेका छन् । यो वर्ष केसलीया नदी किनारको अग्लो जमिनमा चार जना किसानहरुले व्यवसायिकरुपमा सयपत्री फूलको खेति गरेका छन् । त्यहाँ करिव ७ विगाह जमिनमा फूल लगाइएको छ । 

‘जति फूल हुर्किएको छ त्यसको उत्पादन राम्रो छ,’ अर्का किसान सन्दिप दोलैले भने ‘तर यहाँ उत्पादित फूलमा छिट्टै ओइलाउने समस्या छ ।’  सन्दिपले करिव एक विगाह जमिनमा फूलखेति गर्नुभएको छ । उहाँको खेति पनि केसलीया किनारमै छ । विराटनगर स्थित अतिथि सदन नजिकै उहाँको व्यवसायिक पसल सञ्चालनमा छ ।

मोरङका किसानहरुले व्यवसायिक फूलखेति गर्दैनन् । केहीले गरेको भएपनि त्यसको जानकारी सरकारी निकायहरुसँग छैन । कृषि ज्ञान केन्द्र विराटनगरमा फूलखेति गर्ने किसानहरुको कुनै विवरण छैन । प्रदेश कृषि निर्देशनालयमा पनि फूल खेति गर्ने किसानहरुको जानकारी र कुनै तथ्यांक छैन । समग्रमा भन्दा फूलखेति स्थानीय वा प्रदेश सरकारको प्राथमिकतामा परेको देखिदैन । 

मोरङ सुनसरीको तराई खण्डको माटो फूलखेतिकालागि त्यति उपयुक्त नभएको फूल व्यवसायी सन्दिप दोलै बताउँछन् । ‘पहिलो कुरा त समथर जमिनमा वर्षात्मा पानी जम्ने समस्याले गर्दा फूलको बोट बचाउन सकिदैन,’ दोलैले भने ‘जोगिएपनि गुणस्तरीय उत्पादन लिन सकिदैन माटोका कारण केही फिका रंगको फूल फूल्छ जसप्रति ग्राहकहरु आकर्षित हुँदैनन् ।’ यद्यपी आकस्मिक आपुर्तीकालागि भने यहाँको उत्पादन महत्वपूर्ण हुने उनले बताए । ग्रामिण क्षेत्रका केही किसानहरुले थोरैथोरै परिमाणमा फूलको खेति गरेको र उनीहरुले फूल बिक्रीकालागि सम्पर्क गरिरहेको व्यवसायीहरुले बताएका छन् । 

विराटनगरमा भारतबाट फूल आयात गरेर नियमित कारोवार गर्ने १२ जना व्यवसायीहरु छन् । तिे अधिकांश पश्चिम बंगालका भारतीय नागरिकहरु नै छन् । ति मध्ये चार जनाले आफैंले यहाँ  फूलको खेति गरिरहेका छन् । फूल व्यवसायी रञ्जित बेराले सिंघीया खोला किनारमा खेति गर्दै आएका छन् । 

नेपालमा फूलको सबैभन्दा धेरै प्रयोग तिहारको समयमा हुन्छ । सदाबहार फूल उत्पादन नहुने भएकोले भारतीय बजारमै निर्भर गर्नुपर्ने अवस्था छ । विराटनगरका १२ वटा फूल कारोबारी पसलेहरुले वार्षिक ३० मेट्रिक टनको हाराहारीमा भारतबाट फूल आयात गरेर बिक्री गर्ने गरेको जानकारी दिएका छन् । नेपालको उत्पादन आकस्मिक अर्डर आउँदाको लागि मात्र हुने उनीहरुको भनाई छ । 

यस पटकको तिहारकालागि भने उनीहरुले धेरै फूल नमगाएको बताएका छन् । तिहारमा धनकुटा लगायतको पहाडी जिल्लाबाट ठूलो परिमाणमा स्थानीय उत्पादन बजारमा आउने अनुमान गरेर भारतबाट सिमित मात्र फूल मगाएको रतन जानाले बताएका छ ।  त्यसमाथि पनि विराटनगरका तरकारी व्यापारीहरुसमेतले तिहारमा फूल बेच्ने हुँदा फूलको मात्र कारोवार गरिरहेकाहरुले सिमित परिमाणमा फूल ल्याएका हुन् । 

नर्सरीबाट फूलको बिरुवा बिक्री
फूलको झिलिमिली भनेर चिनिने तिहारकालागि नर्सरीबाट फूलको बिरुवाको बिक्री पढेको छ । फूलेका फूल घर करेसा र गमलामा सजाउन नर्सरीहरुमा यतिबेला घुँइचो छ । 

विराटनगर महानगरपालिका १४ स्थित अर्निका नर्सरीमा पुगेकी ७५ वर्षीया मिना वस्तीले नर्सरीबाट बिरुवा किन्दै भनिन्– ‘पहिले घरमै सयपत्री उमार्थे र गाउँटोलकालाई समेत बाँडथें तर यसपटक भ्याइएन व्यस्त पनि भइयो किनेर लैजादैछु ।’
भाइटिकामा मालाकालागि बजारबाटै किनेपनि घर वरिपरीको सजावटकालागि बिरुवा नै किन्नेहरु पनि बजारमा प्रसस्त छन् । 

अर्निका नर्सरीका संचालक रमेश मण्डलले एक महिना यता सयपत्रीको १० हजार विरुवा बिक्री गरिसकेको जानकारी दिए । उनले प्रति बिरुवा ३० देखि एक सय ५० रुपियाँसम्ममा बिक्री गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर