काठमाडौंमा मेलम्चीको पानी : ९० प्रतिसत काम सकियो

काठमाडौं ।  काठमाडौंबासीका लागि मृगमरिचिका जस्तै बनेको सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी ल्याउने काम अन्तिम चरणमा पुगेको छ । खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ । मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भइसकेको छ ।

मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत  प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पु¥याउने काम भइरहेको छ । सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ ।

पानी सङ्कलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण भइरहेको छ । मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौं उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड लिटर पानी सङ्कलन, वितरण हुँदै फोहर पानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको हो । यस चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ ।

पुतलीसडक, कलङ्की, दरबारमार्गलगायत नौ चोकमा निर्माण गर्न बाँकी रहेकामा यी स्थानमा अब अघि बढ्ने परियोजना निर्देशक भोजविक्रम थापाले बताए । यी स्थानमा सवारी आवागमनमा बाधा पुग्ने भनी ‘क्रसिङ’ निर्माण गर्न ढिला भएको हो। 

मेलम्चीको पानी आएपछि पानी भण्डारणका लागि १० वटा ‘रिजर्भ ट्याङ्की’ निर्माण गर्ने आयोजनाको योजना रहेको थियो । जसमध्ये नौ स्थानमा निर्माण भइसकेको आयोजना प्रमुख थापाले बताए । यी सबै स्थानमा सात करोड ४५ लाख लिटर क्षमताको ट्याङ्की निर्माण भएको हो ।

भक्तपुरको कटुञ्जेमा विवादका कारण निर्माण हुन नसकेकामा अहिले विवाद समाधान भइसकेकाले छिट्टै निर्माण शुरु हुने उनको भनाइ छ । यस स्थानमा डेढ किलोमिटर पाइप निर्माण समेत अघि बढ्न नसकेकामा अब अघि बढाइने उनले बताए ।

आयोजनाले मुख्य, सहायक र वितरण गरी तीन किसिमका पाइपलाइन बिच्छ्याइरहेको छ । जसमध्ये घर–घरमा पुग्ने वितरण पाइप जडानको काम झण्डै ८९० किलोमिटर सकिएको र झण्डै २००किलोमिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

पाइप लाइन विस्तारसँगै आयोजनाले पाइपहरुको जाँच गरिरहेको निर्देशक थापाले बताए । अहिले वाग्मतीको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर नयाँ जडान भएका पाइपहरुको जाँच भइरहेको हो । नियमितरूपमा भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानै पाइपमार्फत वितरण गरिरहेको छ ।

१०० वर्षभन्दा पुराना पाइपहरु जीर्ण अवस्थामा छन् । ठाउँ–ठाउँमा ‘हेभी’ गाडीका कारण पाइपमा समस्या आइरहँदा मर्मत गरेर सञ्चालन गरिएको उनले बताए । कतिपय स्थानमा पाइप माटोमा नै परिणत भइसकेको छ । उनले भने, ‘मेलम्चीको बाँकी काम सकिएर पानी वितरण गर्न शुरु भए पनि यी पाइप पूर्णरूपमा प्रयोगमा आउँदैन ।’

आयोजनाअन्तर्गत नै पाइप विस्तारका लागि खनिएका सडकहरु मर्मतका काम समेत आयोजनाले गरिरहेको छ । सडक विभागको अधिकार क्षेत्रअन्तर्गत पर्ने सडक विभागले र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने सडकको मर्मतको काम परियोजनाले गरिरहेको छ । मेलम्चीको पानी आएपछि त्यसको व्यवस्थापनका लागि आयोजनाले नै चार स्थानमा पाँच वटा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिरहेको छ ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणको काम कम मात्रै बाँकी रहेकाले आयोजनाले वितरणका लागि आवश्यक पूर्वाधारका कामलाई तीव्रता दिइएको हो । सरकारले आयोजनाको बाँकी रहेको भनिएको पाँच प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनी साइटमा गएसँगै कामले गति लिने देखिएको छ ।

कम्पनीले काम शुरु गरेको दिनदेखि १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सरकारको योजना छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर