• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019/ 07:18 am

अपराध ढाकछोप नगर्न कांग्रेसीजनलाई खुलापत्र

प्रिय कांग्रेसी जन !

वास्तवमा भन्ने हो भने राजनीति भनेको समाजसेवा हो । एक इमानदार समाजसेवी भएर मुलुक अनि समाजको तमाम बेथितिहरूलाई समाप्त गरी विधि, नियम, कानुन अनि न्यायलाई जनताको पहुँचमा दिलाउन अहम भूमिका एक राजनीतिज्ञले राजनीतिमार्फत गर्ने हो । तर, विगत केही दशकयता राजनीति भनेको हत्या–हिंसा वा कुनै आपराधिक क्रियाकलाप गर्नका लागि प्रदान गरिएको लाइसेन्स नै जस्तो देखिन थालिएको छ । र आफ्नो आपराधिक क्रियाकलापमा संलग्न नेताहरूलाई न्यायको प्रतिमूर्ति नै जसरी देखेर तिनका बचाउमा उभिएका कार्यकर्ता देखेर पनि आश्र्चयचकित लाग्छ । 

कहिलेकाहीँ यतिसम्म सोचमा पुराउँछ छ कि के कार्यकर्ताहरू वास्तवमा नै राजनीतिको वाद, सिद्धान्त र आदर्श बुझेर राजनीतिमा लागेका हुन् त ? यदि हुन् भने अपराधीहरूको कुनै वाद पनि हुँदैन ? न त कुनै राजनीति आस्था र कुनै दल नै । भन्ने किन महसुस नगरेका । किन जहिले पनि आफ्ना नेताहरूको मलद्वारलाई पनि खाली हरिद्वार देख्छन् । किन पटकपटक आपराधिक क्रियाकलापमा संलग्न रहेका आफ्ना नेताहरूलाई आफ्नो सम्पूर्ण शक्तिको गलत प्रयोग गरी अपराधी संरक्षणमा अघि बढ्छन् ।

राजनीति र अपराध पटक्कै पनि सिक्काका दुई पाटा होइनन् । जुन सम्पूर्ण कार्यकर्तालाई थाहा नभएको पक्कै होइन, तैपनि किन यस्तो ? यतिबेला विगत केही दिनदेखि २०६४ सालको संविधानसभा निर्वाचनमा बुथ कब्जा गर्न बनाउन लगाएको बम बिस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद मोहम्मद अफताब आलम पक्राउ परेलगत्तै विभिन्न साामाजिक सञ्चालदेखि पूरै मुलुक विषयमय भएको छ । सांसद मात्र होइन, चारपटक मन्त्रीसमेत भएका थिए मोहम्मद अफताव आलम । जो कांग्रेसकभित्र मात्र नभएर राष्ट्रिय राजनीतिमा पनि एक प्रभावशाली व्यक्ति थिए । यति जघन्य अपराधमा तत्कालीन सरकारका गृहमन्त्रीदेखि लिएर प्रहरी प्रसासन नै अपराधीलाई कानुनी दायरामा ल्याएर पीडितलाई मुलुकमा न्यायिक अवस्था वा विधिको शासनको प्रत्याभूति गराउनुपर्ने ठाउँमा आज तत्कालीन सरकार र तत्कालीन प्रहरी प्रशासन नै यस्तो जघन्य अपराधको बचाउमा लागेको विभिन्न सञ्चारमाध्यममा आएको सूचनाका आधारमा विगत बाह्र बर्षदेखि पीडित न्यायको गुहारका लागि ठाउँठाउँमा पुग्दासम्म न त पीडितको गुहार नै सुनियो न त पीडितको कुनै निवेदनसम्म दर्ता गरियो भन्दा सारै दुःख लाग्यो । 

सरकार वा प्रशासनको धर्म भनेको न्यायलाई जीवन्तता दिलाउनु हो । हरपल सत्यको साथ र सुरक्षा गर्नु हो । तर, विगत केही दशकदेखि राजनीतिका नाममा आफ्नाहरू आपराधिक क्रियाकलापमा संलग्नको यथेष्ट प्रमाण पाउँदा वा पुग्दासम्म पनि नियोजित रूपमा फसाउन खोजिएको षड्यन्त्र भन्दै आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरू विशेषगरी आफ्ना नेताहरूलाई बचाउनका लागि सडकदेखि सदनसम्म ती गरिएका वा रचिएका विभिन्न क्रियाकलापले के यो मुलुकमा न्याय जीवितै छ वा के विधिको शासन भेटिन्छ ? कहिलेकाहीँ यस्तो महसुस हुन्छ विधि, न्याय मात्र राजनीति गर्ने नेताहरूको भाषण गर्न सिँगारिएको शब्द हो । गहिराइमा भन्नुपर्दा शक्तिलाई न कुनै आपराधिक क्रियाकलापले छुन्छ न त कुनै विधि अनि न्यायले नै । सबै शक्तिका पछाडि कुद्ने पुजारीका रूपमा देखिन्छ । हामी कस्तो समाजको परिकल्पनामा छौं । हामी कस्तो मुलुकको परिकल्पनामा छौं जहाँ सांसद वा कुनै विशेष पार्टीका नेताबाट गल्ती गरेपछि विरोध भइहाल्ने । के लोकतन्त्रमा कुनै पार्टी विशेषका नेता वा सांसदबाट के कहिल्यै गल्ती नै नहुने हो र ? यदि होइन भने कुनै नेताहरूको पक्राउमा किन यतिका धेरै तुनामुना बुनिन्छ ।

प्रिय कांग्रेसी जनहरू ! म पनि राष्ट्रियता, लोकतन्त्र अनि समाजवादमा आस्था राख्दछु । विभिन्न बिपीवाद, कांग्रेसको इतिहास, वीर गाणेशमान, सुवर्णशम्शेर, सन्तनेता कृष्णप्रसाद भट्टराईदेखि सुशील कोइराला हुँदै गिरिजाप्रसाद कोइरालासम्मका ऐतिहासिक इतिहासहरू खोजी खोजी पढ्न रुचाउने र यी व्यक्तिको तत्कालीन संघर्षबाट प्राप्त उपलब्धिहरूलाई सधैं संस्थागत गर्न कहीँ न कहीँ जानी नजानी पटकपटक मैले पनि अहम भूमिका निभाएको थिएँ र निभाइ नै रहिरहन्छु । तर, पार्टी शीर्ष नेतृत्वमा बसेका सीमित व्यक्तिविशेषले पार्टीलाई आफ्नो पेवा ठानी तत्कालीनदेखि वर्तमानसम्मका सम्पूर्ण कांग्रेसजनले रचिएका इतिहासलाई लिलाम गर्दै आज गर्विलो इतिहास बोकेको नेपाली कांग्रेसलाई मागीखाने भाँडोको रूपमा प्रयोग गर्दा वास्तवमा नै यो मन रसाउने गर्छ । विधिविधानलाई आफ्नो धार्मिक ग्रन्थको रूपमा लिने कांग्रेस, लोकतन्त्रलाई सधैं आफ्नो छायाको रूपमा राख्ने कांग्रेस, आज चौतर्फी आलोचनाको पात्र भएर उभिएको देखिन्छ । आलोचनाका लागि आलोचना हो कि वास्तवमा नै आलोचनायोग्य भएको हो । जुन तमाम कांग्रेसीजनले बुझ्न अति नै आवश्यक रहेको छ ।

हिजो पार्टीको झण्डाभन्दा राष्ट्रिय झण्डालाई शिरोपर गर्दै, राष्ट्रिय झण्डालाई बलियो बनाउने आधार खम्बाका रूपमा प्रयोग गरिएको थियो पार्टीका झण्डा । तर आज राष्ट्रिय झण्डाको भन्दा पार्टीको झण्डालाई बलशाली देख्ने र पार्टीको झण्डालाई भन्दा व्यक्तिको झण्डालाई बलशाली देख्ने र तमाम गुटमा रमाएका ती व्यक्तिहरू कसरी हुन सक्छन् कांंग्रसी ? दोषी भएका जो–कोहीलाई पनि उन्मुक्ति दिनुहुन, कोही पनि विधिविधान अनि कानुनी राज्यभन्दा माथि नरहने भन्दै इतिहासदेखि वकालत गर्दै आएको कांग्रेस र तमाम कांग्रेसीको त्यो मान, प्रतिष्ठा अनि न्यायका लागि कठोर अडान कहाँ हरायो ? दोषीलाई संरक्षण गर्ने पक्षमा कहिल्यै नउभिने कांग्रेस र अनुसन्धानको त्यो निर्दोष वा दोषी ठहर हुने कानुनी प्रक्रियालाई हर्दम सघाउने त्यो उसको प्रहलदायी कदम आज कहाँ के कति कारणले चुक्यो । के कांग्रेस र तमाम कांग्रेसीजनले परिकल्पना गरेको लोकतन्त्र यही हो त ? के कांग्रेसीको विधि विधान अनि मुलुकको परिवर्तनको रोडम्याप यही हो त । पक्कै होइन । तर तमाम कांग्रेसी शीर्ष नेतृत्वबाट प्रमाण पुगेन भन्ने अनि आलम पक्राउ कांग्रेसविरुद्धको षड्यन्त्र भन्दै सधैं अनुसन्धानको प्रक्रियालाई शिरोपर गर्दै कुनै वाधा सिर्जना नगर्ने कांग्रेसले आज आलम पक्राउको बचाउमा बोल्दै गर्न के खोजिराखेको हो जुन प्रतिफल कालान्तरमा नेपाली जनताले दिनेमा कुनै शंका छैन । 

व्यक्ति विशेषको बोलीले सारा संस्थालाई हानिकारक हुनेमा दुईमत छैन । जुन कुराको प्रतिफल कांग्रेसले विगतका निर्वाचनबाट भोगिसकेको छ । विधिको शासनमा आस्था राख्ने कांग्रेसले कहिल्यै पनि खासै बन्द, हड्ताल अनि हत्या हिंसाको क्रियाकलापलाई प्रोत्साहन गरेको भेटिँदैन । निरंकुश भनेको व्यवस्थामा त शान्तिपूर्ण आन्दोलनबाट तमाम निरंकुशतालाई समाप्त पार्ने कांग्रेस अनि कांग्रेसी अठोटले आज दिन दुई गुणा रात चौगुणाका दरले बाटो बिराउँदै गइराखेको देखिन्छ । जसको कालान्तरमा असर तमाम कांग्रेसीदेखि कांग्रेसलाई देखिनेमा कुनै शंका छैन । 

हिजो कांग्रेसीलाई अडान अनि सिद्धान्त र आदर्शको पार्टी जहाँ कांग्रेसका एकएक नेतालाई प्रत्यक्ष न्यायका मूर्तिसँग दाँजिन्थ्यो । जसको कारण हिजो कांग्रेस कांग्रेस थियो, कांग्रेसी कांग्रेसी थिए । हिजो इमान जमान अनि न्यायको प्रतिमूर्तिका रूपमा देखिएको कांग्रेस र तमाम कांग्रेसीको हात्तीको जस्तै खाने दात छुट्टै र देखाउने दात छुट्टै भन्दै आज व्याप्त आलोचना बढेको छ । होला कांग्रेसबाट निर्वाचित सांसद आलम दोषी होलान् कि निर्दोष त्यो कानुनी पाटो रहेको छ । अरोपित आफैंमा दोषी हुँदैन, अन्तिम फैसला नहुँदासम्म । तर हिजोका दिनमा तातो इँटाभट्टामा युवाहरूलाई जिउँदै हालिएको आरोपमा पक्राउ परेका आलम निर्दोष छन् र यो कांग्रेसविरुदको षड्यन्त्र भन्दै ठाउँठाउँमा अवरोध सिर्जना गर्दै शान्ति सुरक्षामा खलल पु¥याउने कार्य कांग्रेस र कांग्रेसी जनका वास्तवमा नै कायरताको प्रस्तुति भन्दा फरक नपर्ला ।

प्रिय कांग्रेसीजनहरू ! मनन रहोस् तिम्रो गर्विलो इतिहास छ । तिमी बिपी, गणेशमान, किसुनजीजस्ता आदर्शवान् व्यक्तित्वका कार्यकर्ता हौ । न्यायका लागि हाँसीहाँसी कैयौं तिम्रा कार्यकर्ताले आहुति दिएका छन् । जुन कुरालाई पक्कै एकचोटि मनन गरी आलमको विषयमा बोल्दा राम्रो हुनेछ । आरोपित दोषी छ या छैन भन्ने अधिकार मात्र सर्वोच्चलाई छ न कि तिम्रो पार्टीलाई न कि तिम्रो पार्टीका नेताहरूलाई । कानुनी प्रक्रियालाई अघि बढाउन सहयोग गर्नु नै तिम्रो र तिम्रो पार्टीको धर्म हो । मनन रहोस् तिम्रा हिजोका नेताहरूले पार्टीभन्दा ठूलो देश, समाज अनि जनता छन् भनेर प्रशिक्षण गरेको त्यो क्षण । गुलाम अन्धभक्त भएर न्याय मार्न र सीमित व्यक्तिको स्वार्थ पूर्तिका लागि तिम्रो इतिहासिक योगदानले रंगिएको हात कयौं न्यायप्राप्तिका लागि रसाएको आँसुले र हत्या भएका ती व्यक्तिहरूका चित्कारले न पोतियोस् । जनतालाई जिउँदै जलाउनेहरूलाई काखी च्यापेर जोकोहीले पनि पटक्कै हिँड्नु हुँदैन । 

राजनीतिक पार्टीको झण्डा ओडेर हरेक पार्टीमा बसेर हैकम जमाएका भ्रष्टाचारी, चोर, डाँका, फटाहा ज्यानमाराको अन्त्य जरुरी छ भनेर पटकपटक बोल्ने तिम्रा ती बोलीहरू यतिबेला लरबराउनु हुँदैन । नत्र धिक्कार्छन् जनताले र धिक्कार्नेछ इतिहासले । यस्ता आपराधिक पात्रहरूले दलमा आबद्धता दलीय, पद र शक्तिको आडमा आफ्नो आपराधिक अभीष्टलाई परिपूर्ति गर्न दललाई भ¥याङ वा कवचका रूपमा प्रयोग गर्नेसिवाय समाज, पार्टी, मुलुक अनि जनतालाई कुनै योगदान पु¥याउने छैनन् । जुन तमाम कांग्रेसी र कांग्रेसले बुझ्नु अति नै आवश्यक छ । 

जनताको लागि राजनीति गर्छु भन्ने राजनीतिक दल र आफूलाई मुलुकको ठूलो लोकतान्त्रिक शक्ति तथा पटकपटकको लोकतन्त्रको अगुवा तथा पर्यावाची ठान्ने नेपाली कांग्रेस र तमाम नेपाली कांग्रेसी जनले यदि आफ्ना नेता र नेतृत्व कुनै पनि फौजदारी अभियोगमा आरोपित ती व्यक्तिमा देखिएमा झ्न बढी संवेदनशील भएर कानुनी कारबाहीका लागि मार्गप्रशस्त गरिदिएर सम्बिन्धत निकायलाई निष्पक्ष एवं न्यायिक तवरबाट उचित छानविन तथा अनुसन्धान गर्न सहज गराउँदै तोकता गर्दै उद्धार लोकतन्त्रको अभास तमाम जनतालाई दिलाउनुपर्छ । विगतदेखि वर्तमानसम्म यस्ता घटना के–कति कारणले के–कति घट्यो ती सबको उचित छानबिन र अनुसन्धान गराउनेतर्फ सक्रियता देखाउँदा राम्रो हुन्छ तमाम कांग्रेसी र कांग्रसीलाई । यस्ता पाशविक एवं मानवताविरोधी कार्य गर्ने जोकोहीलाई पनि उम्किन दिनुहुँदैन र आफ्नो दलभित्रका आरोपित रहेमा पक्राउ गर्दा गम्भीर षड्यन्त्र भयो भन्ने रोगबाट तमाम कांग्रेसीजनहरू मुक्त हुन आवश्यक छ । उचित छानबिन र अनुसन्धान गराउनतर्फ कांग्रेसीले सक्रियता देखाउँदै मुलुकमा लोकतन्त्र रहेको अनुभूति तमाम जनतालाई दिलाउन सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतसँगको सीमा समस्या : के छ १९५० काे सन्धीमा ? (पूर्णपाठ)

  • २५ कार्तिक, २०७६

(सन् १९५० जुलाई ३१) नेपाल र भारत सरकार शताव्दियौँदेखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्धप्रति  प्रतिबध्द रहँदै उक्त सम्बन्धलाई अरु

भारतसँगको सीमा समस्या छिनोफानो गरौँ

  • २५ कार्तिक, २०७६

भारतले कास्मीर घटनापछि निकालेको राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र उसको भू–भागमा गाभेको घटनापछि उत्पन्न परिस्थितले नेपाल–भारत

प्रचण्डको त्यो 'शक्तिशाली' सम्बोधन : जसले राजनीतिमा 'तरंग' ल्यायाे

  • ११ कार्तिक, २०७६

स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, १. सर्वप्रथम म नयाँ नेपाल निर्माणका लागि बलिदान दिने वीर शहीदहरु, बेपत्ता र