उपभोक्ता हितका लागि बजार अनुगमन नियमित हुने

जिसस झापाले सवै स्थानीय तहवीच सहजीकरण गर्ने

झापा । झापामा जिल्ला समन्वय समितिले उपभोक्ता हित संरक्षणका लागि सबै स्थानीय तहहरुबीच सहजीकरण गरेर अघि बढ्ने जनाएको छ ।

समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलसहित सरोकारवालाले उपभोक्ता हित संरक्षणका लागि आ–आफ्नोतर्फबाट पहल कदमी गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज शनिवार झापाको बिर्तामोडमा भएको छलफलमा उपभोक्ता हित संरक्षणका लागि यस अघि व्यक्त गरिएका साझा प्रतिबद्धता कार्यान्वयनमा अग्रसर हुने र उपभोक्ता हितका लागि सबै सरोकारवालाबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने साझा निष्कर्ष निकालिएको छ ।

जिसस प्रमुख पोर्तेलको अध्यक्षतामा भएको छलफलमा उनले नियमित बजार अनुगमनलाई कडाईका साथ कार्यान्वयन गर्ने बताए । ‘लामो समय वेथितिबाट अघि बढेको अहिलेको परिवेशमा थिति बसाउन चुनौतिपूर्ण रहेको छ’– पोर्तेलले भने– ‘थिति बसाउनका लागि क्रमिक रुपमा कडाई गर्ने छौं ।’ अहिले पालिकाहरुमा स्रोत र साधनको अभावले पनि धेरै समस्या भएको भन्दै पोर्तेलले बजार अनुगमन लगायत आवश्यक कामका लागि पालिकाहरुबीच जिससले सहजीकरणको काम गर्ने बताए । उनले सरोकारवालाहरुलाई विभिन्न सुझावहरु समेत दिए ।

उपभोक्तावादी संस्था तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले चाडपर्व लक्षित मात्र नभई अनुगमन नियमित हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले नियमित र स्वच्छ अनुगमनमा जोड दिए । उपभोक्ता आफै सचेत बन्नुपर्नेमा समेत उनको जोड थियो । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने वस्तुको अनुगमनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने डालमियाले बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जिससमार्फत स्थानीय सरकारको ध्यानाकर्षण गराई अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सरोकारवालाबीच समन्वयमा समेत जोड दिँदै भट्टराईले विषादि परीक्षण प्रयोगशालालाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदन गोपाल सुब्बाले यसअघिका साझा प्रतिबद्धता कार्यान्वयमा जोड दिए । उनले व्यापारीलाई थाहै नदिई प्रभावकारी अनुगमन गर्नुपर्ने र जिल्ला प्रशासन कार्यालयको अनुगमन इकाईलाई सक्रिय बनाउनु जिससलाई सुझाव दिए ।

उपभोक्ता मञ्च नेपालका अध्यक्ष वेदप्रकाश अग्रवालले उपभोक्ताका प्रतिनिधिलाई साक्षीको रुपमा राख्ने गरिएकोमा गुनासो गरे । अनुगमनका क्रममा भेटिएका मापदण्ड विपरीतका वस्तु तत्काल नष्ट गर्नुपर्ने उनको सुझाव थियो । गलत काम गर्नेलाई दण्डित गर्नुपर्नेमा अग्रवालले जोड दिए ।

होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेतीले अनुगमन र कार्वाहीलाई प्रभावकारी बनाउनुपर्ने भन्दै बिर्तामोड नगरपालिकाले राजमार्ग छेऊ चिया बगानमा फोहोर थुपारेर प्रदुषण बढाएको गुनासो गरे । बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमलीले मिसावट, मूल्य र विषादिबाट उपभोक्ता मारमा परेको बताइन् ।

विश्व उपभोक्ता महासंघकी अध्यक्ष सरस्वती चम्लागाँईले स्थानीय तहले सही तरिका र प्रभावकारी अनुगमन गर्न नसकेको बताइन् । कन्जुमर आई नेपालका राजु न्यौपानेले अनुगमन खाद्य क्षेत्रमा मात्र सीमित रहेको भन्दै शिक्षा र स्वास्थ्यमा पनि अनुगमन गर्नुपर्ने, विपन्नलाई राशन कार्ड दिनुपर्ने, गाडी भाडा दरमा एक रुपता ल्याउनुपर्ने बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका राजेन्द्र चम्लागाईले सुनदेखि नुनसम्म मिसावट र मूल्यमा उपभोक्ता ठगिएको भन्दै उपभोक्ता अधिकार रक्षाका लागि अग्रसर हुनुपर्ने बताए ।

नेपाल राष्ट्रिय वाणिज्य संघका कूलप्रसाद खरेलले खाद्यान्नमा अखाद्य केमिकलको प्रयोग, मासुमा तौल बढाउन इन्जेक्सन र केमिकलको प्रयोग हुने गरेको जस्ता गुनासो आएकोले त्यस्ता काम गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय उपभोक्ता मञ्चकी विमला भट्टराई लगायतले विभिन्न सुझाव राखेको छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर