भरतपुर महानगरलाई सडक मानवमुक्त महानगर घोषणा

चितवन । भरतपुर महानगरपालिकालाई आज (शनिबार) सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगरले प्रभावकारीरूपमा गृहकार्य गरी आज घोषणा गरेको हो ।

महानगर परिसरमा जारी भव्य समारोहमा कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरे । 

घोषणा सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले ठूला ठूला भौतिक संरचना र विकास निर्माणले मात्रै समृद्धि प्राप्त नहुने बताएका छन् । मुख्यमन्त्री पौडेलले सामाजिक समृद्धिविना समृद्धिको सपना पूरा नहुने बताएका हुन् । 

भौतिक सुखसुविधा नै समृद्धि हो भन्ने किसिमका भ्रम सबैले त्याग्नु पर्ने उनले बताए । आर्थिक तथा भौतिक रुपमा जतिसुकै उचाई लिए पनि मानवियता नभएको समृद्धि खल्लो हुने पौडेलको भनाई छ । उनले भने, ‘समृद्धि केवल भौतिक सुखसुविधामात्रै होइन, सामाजिक कुराहरु पनि हुन्छ, मानवियता पनि जोडिएर आउँछ । सुसँस्कृत समाज निर्माणका लागि सबै लागौँ ।’

मुख्यमन्त्री पौडेलले महानगरलाई मात्रै घोषणा गरेर पनि यो समस्या समाधान नहुने बताए । उनले छिमेकी जिल्ला, नगरपालिका, गाँउपालिकालाई पनि क्रमशः सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गर्दै जानुपर्ने बताए । प्रदेश सरकारले यसको जिम्मा लिने भन्दै उनले प्रतिवद्धता जनाएका छन् । 

औपचारिक कार्यक्रमअघि नारायणगढको क्याम्पाचौरबाट निस्किएको याली महानगर कार्यालयमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरुले प्रतिवद्धता मन्तव्य राखेका छन् । शोभायात्रामा सयौंको संख्यामा सहभागीहरु रहेका थिए । सरकारी कार्यालय, संघसंस्था अस्पताल सबैले आ–आफनो ब्यानरमा सहभागिता जनाएका थिए ।

सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरु गरिएको थियो । सो क्रममा बुधबारसम्म २५० जनालाई उद्धार गरिएको जानकारी दिइएको छ ।

उनीहरुमध्ये जम्मा आठ जना मात्रै वास्तविक अभिभावकविहीन रहेको पाइएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । अन्य मादक पदार्थ सेवन गरेर बस्ने, थोरै रकममा श्रम गर्ने, रोजगारीका लागि सदरमुकाम आएका, फिरन्ते र मगन्ते रहने गरेका छन् । २०७१ सालदेखि चितवनको सडकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ । उनीहरुमध्ये ३०० जनालाई पुनः मिलन गराएको छ भने अहिले एक सय जना आश्रममा आश्रित रहेका छन् । आश्रमको क्षमता भने ५५ जनाको रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर