विद्यालयमै खाजा दिन थालेपछि शिक्षाको गुणस्तरमा वृद्धि

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका अन्तर्गतका सबै विद्यार्थीलाई विद्यालयमै खाजा बनाएर खुवाउन थालेपछि विद्यार्थीमा नियमितता आएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अझै पनि नियमित टिकाउन समस्या भएका बेला सुरु गरेको विद्यालय सुरु भएको दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको हो । 

गाउँपालिकाको आर्थिक सहयोगमा यो कार्यक्रम लागू भएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी चलाएको दिवा खाजा कार्यक्रमले कक्षामा नियमित बस्ने र विद्यालय आउन छाड्ने समस्यासमेत हटेको छ । 

गाउँपालिकाले प्रतिविद्यार्थी प्रतिदिन १५ रुपैयाँ बराबरको आर्थिक सहयोग दिदै आएको छ । दिवा खाजाको कार्यक्रम  सुरु भएपछि  कक्षा छाड्ने बालबालिकाको संख्यामा पनि कमी आएको छ भने विद्यालयमै तयार भएको खाजा खुवाउन थालेपछि विद्यार्थी र अभिभावक पनि खुसी भएका रम्भा माध्यामिक विद्यालयकी शिक्षिका रंजिता थापा क्षेत्रीले बताईन् । 

ग्रामीण भेगमा रहेका विद्यार्थीहरु विद्यालयमा नियमित उपस्थित गराउनका लागि दिवा खाजा कार्यक्रमले पुलको रुपमा काम गरेको रम्भा मावि का प्रधानाध्यापक तुल्सिराम अर्यालले बताए । विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएसंगै विद्यार्थीहरु नियमित रुपमा विद्यालयमा उपस्थित हुनुका साथै बाहिरको जंग फूड खानबाट समेत बन्चित भएपछि उनिहरुको स्वास्थ्यमा पनि राम्रो भएको अर्यालले बताए ।

कक्षा ५ सम्म बालबालिका नियमित विद्यालयमा नबस्ने, विद्यार्थी दिउँसोको खाजा छुट्टीमा घर जाने लगायतका समस्याबारे गाउँपालिकामा जानकारी आएसंगै यो कार्यक्रमको सुरुवात गरेको हो । गाउँपालिकाले गत जेठबाट दिवा खाजाको व्यवस्था सुरु गरेसंगै यसको प्रभावकारीता पनि बढेको छ ।  विद्यालयमै खाजा खुवाउने योजना अनुसार कार्यपालिका र गाउँसभाबाट नै निर्णय गरेर विद्यार्थीलाई दैनिक रुपमा फरक–फरक खाजा खुवाउन सुरु गरेपछि विद्यार्थी पनि खुसी भएका छन् ।

विद्यालयमै खाजा खुवाउँदा विद्यार्थी भोक लागेर बाहिर हिड्न नपर्ने हुदाँ विद्यार्थीहरु लाई सहज भएको छ ।  गाउँपालिकाका ३५ विद्यालयमा यो कार्यक्रम लागु भएको छ । यो कार्यक्रम लागू भएसंगै  १ हजार ८ सय ४४ विद्यार्थी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । विद्यालयहरुले खाजाको रकम सही सदुपयोग हुने गरी काम गर्ने र आवश्यक परे थपिदिने योजना गाउँपालिकाको छ । 

अझैपनि कतिपय स्थानका विद्यालयहरुमा विद्यार्थी नियमित नआउने, कक्षा छाड्ने र घरमै खेलेर दिन बिताउने समस्या रहेका बेला रम्भा गाउँपालिका सुरु गरेको यो कार्यले बालबालिको शैक्षिक सुधारमा टेवा पुगेको छ । रम्भा गाउँपालिकाले सुरु गरेको यो कार्यको अन्य स्थानीय सरकारले सिको गर्न सके बालबालिकासंगै सामुदायिक विद्यालयको शिक्षा सुधारमा समेत टेवा पुग्ने देखिन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर