छठ बन्यो युवा क्लवहरुका लागि कमाई खाने भाँडो

जनकपुरधाम । मिथिलावासीका लागि आस्थाको पर्व छठको रौनकता जनकपुरधाममा देखिन थालेको छ । छठ पर्वमा जनकपुरधाममा मात्रै लाखोको संख्यामा श्रद्धालुहरुको सहभागिता प्रत्येक वर्ष रह्ने गरेको छ ।

छठका लागि जनकपुरधामका पोखरीहरुलाई विभिन्न युवा क्लवहरुले सजाउने काम गरेका छन् । सोही घाटमा श्रद्धालुहरु छठको अर्घ लिएर पुग्ने गर्छन् । आस्थाको महापर्व छठमा सम्पूर्ण मिथिलावासी रमाईरहेको बेला युवा क्लवहरुका लागि कमाई खाने भाँडो बनेको छ । 

जनकपुरधाममा रहेको दर्जनौ पोखरीहरुमा हुने छठको व्यवस्थापन दर्जनौ युवा क्लवहरु गर्ने गर्छन् । तर ती युवा क्लवहरुले मनोमानी ढंगले घाटका लागि रकम उठाउँदा श्रद्धालुहरु मारमा पर्ने गरेका छन् । 

एउटा पोखरीको छठ व्यवस्थापनमा ३ देखि ४ वटा युवा क्लवहरुको संलग्नता रह्ने गरेको छ । तर एउटै पोखरीमा अलग अलग शुल्क युवा क्लवहरुले उठाउँदै आएको पाइएको छ । 

जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरीमा मात्रै ३ हजारभन्दा बढी घाट रह्ने गर्छ । सो पोखरीमा गंगासागर छठ पूजा व्यवस्थापन समिति, जनक युवा क्लव, बजरंग युवा क्लवहरुको सहभागिता रहेको छ । गंगासागर छठ पूजा व्यवस्थापन समितिले प्रति घाट ५ सय १ रुपैयाँ उठाउँदै आई रहेको गंगासागर छठ पूजा व्यवस्थापन समितिका सदस्य रामचन्द्र पंजियारले जानकारी दिए । जो यस अघिको वर्षमा ४ सय ५० रुपैया रहेको थियो ।

यता गंगासागर पोखरीमै छठ पूजाको व्यवस्थापन गर्दै आएको जनक युवा क्लवले श्रद्धालुहरु स्वेच्छाले दिने शुल्क मात्रै उठाउने गरेको क्लवका अध्यक्ष मनोज कुमार रायले जानकारी दिए । 

त्यस्तै अरगज्जा सर पोखरीमा ११ सय घाट रहेको छ भने धनुष सागर पोखरीमा २ हजारभन्दा बढी घाट रहेको छ । धनुष सागर पोखरीको छठ पूजाको व्यवस्थापन गणेश युवा कमिटी, श्रीराम युवा कमिटीले गर्दै आएको छ । 

गणेश युवा कमिटीले घाटका लागि उठाउने शुल्कको सम्बन्धमा कमिटीका अध्यक्ष सुनिल लाल दास जानकारी दिन चाहेनन् । यद्यपि श्रद्धालुहरुका अनुसार प्रति घाट गणेश युवा कमिटीले प्रति घाट २ सय ५१ रुपैयाँ शुल्क उठाउँदै आएको छ । 

ती युवा क्लवहरुले घाटको नाउँमा शुल्क उठाउने गरे पनि खर्च भने पण्डाल, लाइट तथा साउण्डमा मात्रै हुने गर्छ । यद्यपि छठ पूजाबाट उठ्ने शुल्कबाट हुने आम्दानी ती युवा क्लवहरु कहाँ गर्ने गर्छन् यस विषयमा कुनै युवा क्लवका पदाधिकारीहरुले स्पष्ट जवाब दिन चाहेनन् । 

प्रदेश सभा सदस्य एवं सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादव छठ पूजाको व्यवस्थापन गर्ने युवा क्लवहरुले छठपछि हुने फोहोर नउठाउने  गरेकोमा आपत्ति जनाउँछन् । उनले ती युवा क्लवहरु न छठ अगाडी नै पोखरी सफाई गर्छन न त छठ पछाडी नै सफाई गर्ने गर्छन् आरोप लगाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर