• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

दमकको इन्द्रेणी ताल : सधैं बेहाल

झापा । नेपाल भ्रमण वर्ष सुरु हुन केही महिना मात्र बाँकी छँदा झापाको दमक नगरपालिका–१० मा रहेको इन्द्रेणी ताल तथा सिमसार क्षेत्रको स्तरोन्नतिमा बल्ल स्थानीय सरकारले चासो देखाएको छ । 

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषण गरी करिब २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ । करिब एक दशकभन्दा लामो समयदेखि अस्तित्वमा रहेको सो तालको स्तरोन्नतिका लागि स्थानीय सरकारले चासो देखाएको हो । दमक नगरपालिकाका इन्जिनियर, वडा नम्बर १० का अध्यक्ष बोधराज न्यौपाने, इन्द्रणी तथा तथा सिमसार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद दाहाल, सचिव डिल्लीप्रसाद न्यौपाने, सामाजिक व्यक्तित्व अम्बिकाप्रसाद खनाललगायतको टोलीले तालको स्थलगत अवलोकन गरेको छ । 

पूर्वाञ्चलकै मानवनिर्मित जेठो तालका रूपमा पहिचान बनाएको इन्द्रेणी ताललाई दमक नगरपालिकाको चालू आर्थिक वर्षको १५ लाख र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गतको १५ लाख गरि ३० लाख रुपैयाँको बजेटबाट स्तरोन्नति गर्न लागिएको दमक–१० का अध्यक्ष बोधराज न्यौपानेले बताए । 

करिब एक हजार मिटर लामो तालको दुवैतर्फ यसअघि नै कच्ची सडक निर्माण गरिसकिएको छ । तर, वर्षाका समयमा बाटो निर्माणका क्रममा लगाइएका ह्युमपाइप बगेका र कतिपय स्थानमा बाटोसमेत बिग्रिएकाले पहिलो चरणमा ती ह्युमपाइपलाई व्यवस्थित गर्दै क्षति पुगेको सडक मर्मत गरिने अध्यक्ष न्यौपानेले बताए । यसका साथै तालको प्रकृतिक स्वरूपलाई नबिगारीकनै पानीका स्रोतको विकास गर्ने जातका बिरुवा पनि रोपिने अध्यक्ष न्यौपानेले बताए ।

विस्तृत प्रतिवेदन तयार नहुँदा समस्या

स्थानीय भालु खोलालाई करिब चार दशकअघि सो स्थानका स्थानीय माटोको कच्ची बाँध निर्माण गरी सिँचाइको सुविधा उपभोग गर्दै आएका थिए । मुलुकमा प्रजातन्त्र आएसँगै सो कच्ची बाँधलाई नेपाल सरकारको सहयोगमा पक्की बाँधमा परिणत गरिएपछि यसले तालको रूपमा लिएको थियो । 

सुरुका समयमा नितान्त सिँचाइका लागि भनेर निर्माण गरेको ताललाई व्यवस्थित गर्न सुरु गरेसँगै यो तालले पूर्वाञ्चलमा नै निकै ख्याति पाएको थियो । यही तालको अनुसरण गरेर अहिले पूर्वाञ्चलमा धेरै ताल तथा सिमसारहरू व्यवस्थित भइसक्दा पनि यो तालले भने अझै आफ्नो स्वरूप परिवर्तन गर्न सकेको छैन । बजेट अभाव, राजनीतिक फेरबदल जस्ता कारणले यस तालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार हुन नसक्दा यसको दिगो विकासमा समस्या भएको इन्द्रेणी ताल तथा सिमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद दाहालले बताए । 

केही वर्ष अघिसम्म पनि यस तालमा नौका विहार आसपासमा साना चिया पसल माछापालनलगायतका सुविधाहरू रहेको भए पनि अहिले यो ताल पुनः मृत अवस्थामा गुज्रिरहेको छ । यो ताललाई पुनः पुरानै अवस्थामा फर्काउन तत्काल नौका सवारको व्यवस्था गर्न आवश्यक रहेको अध्यक्ष दाहालले बताए । यो तालको दिगो विकासका लागि स्थानीय सरकार दमक नगरपालिकाले पनि विस्तृत कार्यक्रम र बजेट विनियोजन नगरेको स्थानीय तुलसी कँुवरले गुनासो गरे । वर्षैपिच्छे यहाँका स्थानीयले तालको असर खेपिरहेका भए पनि यसले दिने प्रतिफलको कुनै पनि प्रत्याभूति हुन नसक्दा निकै दुःख लागेको कुँवरले गुनासो गरे ।

आर्थिक तथा पर्यटन विकासको प्रशस्त सम्भावना

पूर्वपश्चिम राजमार्गभन्दा करिब सात किलोमिटर दक्षिणमा रहेको यो तालको दिगो विकास हुन सके यस क्षेत्रको आर्थिक तथा पर्यटनमा समेत दरिलो सहयोग पुग्ने प्रशस्त सम्भावना यो तालले बोकेको छ । दमक नगरपालिकाका अन्य स्थानमा खासै यस्ता सिमसार तथा ताल भएको र सहरी वातावरणभन्दा केही पर रहेको यो ताल आफंैमा सुन्दर मान्न सकिन्छ । 

प्राकृतिक पानीले भरिएको यो ताललाई व्यवस्थित गरी प्रचारप्रचार गर्न सके यो तालबाट दोेहोरो फाइदा लिन सकिने प्रशस्त सम्भावना बोकेको छ । यो ताललाई व्यवस्थित गरी बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढाउने सके यस क्षेत्रका स्थानीयको समेत आर्थिक अवस्थामा सुधार ल्याउन सकिने गरी कार्यक्रम सञ्चालन गर्न सकिने प्रशस्त आधार रहेको छ । 

यससँगै तालमा ठूलो परिमाणमा माछा तथा हाँस पालन गरेर नमुना कृषिको विकास गर्न सकिने आधार पनि प्रशस्त रहेको छ । जसका कारण यहाँका केही स्थानीयलाई रोजगारी सिर्जना हुनुका साथै परर्निभरतालाई पनि कम गर्न सकिने आधार तयार हुन सक्ने सम्भावना पनि उत्तिकै रहेका छन् ।

पूर्वाधार अभाव

यो तालसम्म पुग्नक लागि पूर्वाधारको अभाव पनि उस्तै अभाव रहेको छ । पूर्वपश्चिम राजमार्गभन्दा दमक चोकबाट करिब सात किलोमिटर दक्षिणमा उर्वर खेती योग्यभूमिको बीच भागमा रहेको यो तालसम्म पुग्नका लागि तालका दुवैतर्फ करिब दुई वर्षअघि तालका दुवैतर्फ २० फुटका कच्ची सडक निर्माण गरिएको भए पनि यी सडकको स्तरोन्नती हुन सकेको छैन । यो ताललाई जोड्ने हाइवे सेतुमारी सडक पनि पूर्ण रुपमा कालोपत्रे हुन नसक्दा यहाँसम्म पुग्न वर्षामा हिलाम्य र हिउँदमा धुलाम्मे सडकको सामना गर्नुपर्छ । 

तालको पश्चिम किनारा नजिकै दमक चक्रपथ रहेको भए पनि यसको पनि स्तरोन्नती हुन नसक्दा यी दुवै सडक भएर यो तालसम्म पुग्नका लागि समस्या छ । तालको आसपासमा विद्युत्, बस्नका लागि चौतारा, सार्वजानिक शौचालय, खानेपानीलगायतका पूर्वाधार पनि बनेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर