कालंगा हाइड्रोको सुरुङभित्र फसेका तीनको शव फेला

बझाङ । बझाङमा निर्माणाधीन कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव फेलापरेको छ । सोमबार उद्धारका लागि गएको सशस्त्र प्रहरीको विशेष टोलीले सुरुङको प्रवेशद्वारबाट करिब एक किमि पर तीनओटा शव फेला पारेको हो ।

बुंगल नगरपालिकामा निर्माण भइरहेको सो हाइड्रोमा आइतबारदेखि चार मजदुर फसेका थिए । अर्का एक मजदुरको अवस्था अझै अज्ञात रहेको जनाइएको छ । सशस्त्रको उद्धार टोलीले तीन शव फेलापारे पनि शव भने बाहिर निकालिएको छैन । निकाल्ने प्रयास जारी छ । उद्धारकार्य भइरहेको छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चारजना र दिपायलबाट पाँचजना गरी ९ जनाको उद्धार टोली सोमबार दिउँसो घटनास्थलमा पुगेको थियो । आइतबार दिउँसो सुरूङभित्र पसेका ६ जनामध्ये दुईजना आइतबारै बाहिर निस्किएका थिए । सुरूङभित्र गएका दुईजना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका र चारजनाको अवस्था आइतबारदेखि अज्ञात रहेको थियो ।

सुरुङभित्र फस्नेमा दैलेखको गुराँस गाउँपालिका–३ घर भएका ३२ वर्षीय महेन्द्र शाही, सो ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का २८ वर्षीय महेन्द्र साउद र बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामी हुन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर