• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 03:01 am

थोत्रा डुंगा चढेर सुस्ता पुग्दा सुस्तावासीले भने– ‘मन्त्रीज्यूले हामीलाई ढाँट्नुभएन’

काठमाडौं । कात्तिक ५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’सँगको सुस्ता यात्रा कहालीलाग्दो र अविश्मरणीय रहन पुग्यो । सुस्ता सौर्य मिनिग्रिड परियोजनाको शिलान्यास गर्ने कार्यक्रमको समाचार संकलनका लागि मन्त्रीसँगै हामी काठमाडौंबाट सुस्तातर्फ गएका थियौं । 

शिलान्यास कार्यक्रम सम्पन्न भयो र सुस्तासम्मको यात्रा सफल भएर हामी सकुसल काठमाडौं पनि फर्किसकेका छौं । तर, आज पनि मेरो मनमा रातको समयमा नारायणी नदीमा थोत्रो डुंगाको करिब १ घण्टा ४५ मिनेटको सुस्ताको मन्त्रीसहितको कहालीलाग्दो त्यो यात्राले अनेक तरंग पैदा गरीरहेको छ । आखिर मन्त्रीले त्यो जोखिमपूर्ण यात्रा किन गरे ? 

खराब मौसमका कारण उडान ढिलो भएपछि ‘यस्तो जोखिमपूर्ण यात्रा नगरी आजलाई कार्यक्रम स्थगन गर्दा के हुन्छ ?’ भन्ने मेरो प्रश्नमा मन्त्रीले प्रतिप्रश्न गरेका थिए, ‘सुस्ताका जनताले दिनहुँ यो जोखिम बहन गर्न हुने, म मन्त्री भएकै कारण जोखिम लिन किन नहुने ? म सुस्तावासीलाई दिएको वचन पूरा गर्छु र जान्छु ।’ 

सुस्ताको जोखिमपूर्ण त्यो यात्रा जरुरी थियो कि जनताको नाममा मन्त्रीको दुस्साहासीक यात्रा थियो ? त्यो मेरो मनले अझै छुट्याउन सकेको छैन । सामान्य जनताको प्रश्न आएपछि मन्त्री पुनको व्यवहार असामान्य प्रतिक्रिया पाउँछु म । 

सुस्ताको त्यो यात्राबारे उल्लेख गर्नुपूर्व विगतमा मैले देखेको मन्त्री पुनबारेको केही प्रसंग यहाँ उल्लेख गर्न चाहन्छु । वर्षमान पुन त्यतिवेला अर्थमन्त्री थिए । समाचारका लागि म उनको निवासमा राति अबेरसम्म पर्खिरहेको थिएँ । करिब १० बजेर ३० मिनेट जाँदा उनी मन्त्रालयबाट निवास फर्किए । अबेरसम्म बसेको देखेर उनले ‘खाना खाँदै गफ गरौं है’ भने । मैले, ‘हस’ भनेर उनीसँगै माथि कोठामा गएँ । सँगै उनका स्वकीय सचिव पनि थिए । मन्त्री पुनका लागि हटकेसमा खाना आयो तर अन्य परिवार सदस्य सबैले खाएर सुतिसकेका थिए । प्लेटमा खानासँगै तोरीको साग थियो । आधा कचौरा जति दाल हुँदो हो । स्वकीय सचिवसँगै उनी फुको भात र साग खाँदै थिए । म भने खाएको नियालिरहेको थिएँ ।

यतिकैमा मन्त्री पुनको मोबाइलमा घण्टी बज्यो । स्वकीय सचिवले फोन उठाए र केही संवादपछि .. ‘बेकारको राति पनि फोन गर्छन्..’ भन्दै फोन काटिदिए । मन्त्री पुनले सोधे, ‘कसको फोन ?’ उनका स्वकीयको जवाफ थियो, ‘खोइ गाउँतिरको कोही महिला हो... कहिले चिनेको थिए रे... के काम गरिदिन पर्यो भन्दै थिइन्.. मैले काटिदिएँ... ।’

त्यतिकैमा मन्त्री पुन जंगिए, “किन गाउँको महिलाले तपाईको मन्त्रीलाई फोन गर्न हुन्न ? किन गाउँले महिलाको पूरै कुरा सुन्नहुन्न ? यो फोन ठुलो नेता वा व्यापारीको भएको भए यसरी नै फोन काट्नुहुनथ्यो तपाईंले... ?’ आदि भन्दै ‘फोन डायल गर्नुस’ भन्दै ती महिलालाई फोन गर्न स्वकिय सचिवलाई निर्देशन दिए । 

म त्यहाँको दृश्य र मन्त्रीको संवाद देखेर छक्क परिरहेको थिएँ । मन्त्रीको क्वार्टरमा मीठा परिकार पाक्छन भन्ने मेरो मान्यताविपरीत तोरीको सागसँग फुको भात मन्त्रीको भोजन थियो । अनि एउटा अपरिचित जनताप्रतिको मन्त्रीको मोह देखेर छक्क थिएँ । 

यत्तिकैमा स्वकीय सचिवले ‘यी फोन लाग्यो’ भनेर मोबाइल सेट मन्त्रीलाई दिए । उनले, ‘हलो... ’ भन्दै संवाद सुरु गरे । पछि थाहा भयो, ती महिला संकटकालमा मन्त्री एक दिन बास बसेको घरकी आमा रहिछन् । आफूले कानुनअनुसार नै हुनुपर्ने केही काम गर्न सरकारी अफिस धाएको तर महिनांै धाउँदा पनि नभएपछि दुःखेसो पोख्न उनले स्थानीय नेतासँग मन्त्री पुनको फोन नम्बर लिएर फोन गरेकी रहिछन् । 

मन्त्री पुनले लामो फोन संवादपछि भने, ‘आमा तपाईं ढुक्क हुनुस् । तपाईंलाई मैले चिनें । म भोलि सम्बन्धित कार्यालयमा फोन गर्छु, अनि तपाईं जानुहोला काम हुन्छ है । ल नमस्कार अहिले फोन राख्नुस् है त ।” भन्दै मन्त्रीले मोबाइल भुइँमा राखे । “हो, यसै कामका लागि त हामी रातिसम्म खट्नुपर्छ, नत्र किन खट्ने ? जनताको फोनसँग वाक्क हुने हो भने किन मन्त्री हुने त... ?” भन्दै मन्त्री पुन केहीबेर गम्भीर बने । हामी चुप बसिरह्यौं ।

अर्को एक दिन म मन्त्री पुनको अन्तर्वार्ता लिन उनकै निवास पुल्चोक गएको थिएँ । मन्त्री पुनले म गएर बस्नेबित्तिकै, ‘भेट्न अरू कोही छ कि छैन’ भनेर उनको सहयोगीलाई सोधे । ‘सबै सकिए, तर एकजना हामीले बोलाएको पनि होइन । बिहान ६ बजेदेखि आएर मन्त्री भेट्नु प¥यो भनेर बसेको छ । समय छैन जाऊ भन्दा पनि जाँदैन” भनेर जवाफ दिए । तब मन्त्रीले, ‘६ बजेदेखि बसेको मन्छे १० बज्न लागिसक्यो, किन नभनेको त ? यत्रो समय कुराउने ?’ भनेर प्रश्न गरे । ‘हामीले समय दिएको होइन भनेर खबर नगरेको’ भनेर सहयोगीले जवाफ दिएपछि मन्त्री पुनले ‘तुरुन्त बोलाउनुस्’ भन्दै निर्देशन दिए । 

मन्त्रीका सहयोगी तल गएर ती व्यक्तिलाई बोलाएर ल्याए । करिब १९÷२० वर्षका देखिने ती युवाले हात जोड्दै भने, ‘हजुर मेरो यो काठमाडौंमा चिनेको ठूलो मान्छे कोही छैन । बल्लबल्ल गेटबाट भित्र छिरेर तपाईंलाई भेट्छु भनेर आएको । मैले सहयोग माग्ने अर्को चिनेको मान्छे कोही छैन । मलाई सहयोग गर्न प¥यो हजुर । म गरिब मान्छे । पढ्न काठमाडौं आएको, पढ्ने खर्च जुटाउन जागिर खोज्दै छु । आयल निगममा करारमा कर्मचारी मागेको रहेछ, निवेदन दिएको छु । तर मेरो भन्दिने कोही भएन । हजुरले भनिदिन प¥यो... ।’

युवाको कुरो सुनेर मन्त्री पुनले उनलाई रोक्दै भने, ‘ल ठीक छ, तपाईं ढुक्क हुनुस्, म छु तपार्इंका लागि । यदि त्यहाँ भएन भने अन्यत्र कहीँ म कोसिस गरौंला ।’ यति भन्दै उनले आफ्नो फोन सहयोगीसँग मागे र आयल निगमका प्रमुखलाई फोन गरे । ती व्यक्तिको नाम बताउँदै भने, “यदि सक्षम र ठीक लाग्छ भने गरिदिनुस् है, मेरो मान्छे हो, तर कमजोर वा असक्षम लागे पर्दैन । यतिकैमा हस त नमस्कार भनेर फोन राखे र ती युवातिर फर्कंदै भने, “यदि तपार्इंको क्षमताले सके त्यहीँ हुन्छ नभए म अर्को कुनै ठाउँमा भन्छु । तपाईं राम्रोसँग पढाइमा ध्यान दिनुहोला है, ल अब छुटौं ।’ 

ती युवा कोठाबाट बाहिर जानेबित्तिकै मैले सोधे, ‘वाह मन्त्रीज्यु, मन्त्रीको फोर्स लाउन कति अप्ठ्यारो छ भन्छन्, तर तपाईं आफंैले नचिनेको मान्छेलाई पनि जागिरका लागि यति सजिलै भन्दिनुभो त ? मान्छे जागिर लाइदिएबापत पैसा माग्छन् त ?’ भन्ने मेरो प्रश्नमा उनको जवाफ थियो, ‘ल उसले मलाई नचिने पनि विश्वास लिएर मलाई भेट्न आयो, यो नै ठूलो कुरा हो । जनताको विश्विास टुट्न दिनु हुन्न । अर्को कुरा, जागिर लगाइदिँदा पैसा लिने कुरा वाइयात हो, पैसा लिनुस् त्यसले त्यस दिनदेखि मलाई घृणा गर्न थाल्छ, तर यसरी काम गरिदिनुस् उसको मनमा मप्रति सम्मान सधैं रहिरहन्छ । सबैमन्दा ठूलो कुरा सम्मान प्राप्त गर्नु हो... पैसा होइन ।’

आफ्नो दैनिक जीवन व्यवहारमा सामान्य हुन रुचाउने मन्त्री पुनका यस्तै व्यवहार र जनतालाई प्राथमिकता दिने उनको बानी मलाई असाध्यै मनपर्छ । 

एक वर्षपहिला सुस्ता बचाऊ अभियानका अध्यक्षसहितका टोलीलाई आफू सुस्ताको समस्या हल गर्न सुस्तामै आउने विश्वास दिएका रहेछन् । त्यही विश्वास पूरा गर्न मौसम खराबीका कारण पाँच घण्टा विमानस्थलमा बसेर रातको जोखिमपूर्ण डुंगा यात्रा गरेर पनि उनी सुस्ता पुगीछाडे । उनीसँगको यात्राका क्रममा देखिएका घटनाक्रम विशेष चर्चा गर्नलायक छन ।

मन्त्रीसँग ५ घण्टा भोकै विमास्थलमा बस्दा

बिहान ७ः३० को उडानबाट भैरहवा जाने भनेर हामी ७ बजे नै एयरपोर्ट पुगेका थियौं । आधा घण्टा, एक घण्टा भन्दै जहाज पाँच घण्टासम्म ढिला भयो । मन्त्रीसहित मन्त्रलायका सचिव, कर्मचारी, पत्रकारसहित हामी ९ जनाको टोली थियो । हामी जहाज उड्ने समयको पर्खाइमा बसिरहेको थियौं ।सबैलाई भोक लागेको थिए । मन्त्रालयका केही कर्मचारी बाहिर क्यान्टिनतिरबाट मुख मिठ्याउँदै भित्र पस्दै थिए । मन्त्री पुन पत्रिका पढ्दै र जहाज ढिला भएका कारण रोकिएका राष्ट्रियसभाका केही माननीयहरूसँग गफिँदै थिए ।

हामी बसीरहेको कोठामा एउटा टिभी थियो । मेरा सहकर्मी दीपेन्द्रले टिभीतिर इसारा गर्दै, ‘हेर्नुस् न सर, भ्रमण वर्ष मनाउने रे ! एयरपोर्टका यात्रुहरूलाई देखाउने टेलिभिजनमा भने क्रिकेट खेल लगाइरहेको छ । नेपालको बारेमा डकुमेन्ट्री बनाएर यस्ता ठाउँमा देखाए पो यात्रुहरूले देख्छन् र पर्यटन वर्ष सफल पार्नलाई सहयोग होला त । तर मन्त्रीको भाषण र फिल्डको गराइमा कति धेरै फरक छ ।’ उनको यो भनाइमा मेरो समर्थनसँगै मुन्टो हल्लियो । तर, पुन हामी उडानकै चर्चामा डुब्यौं।


पर्खाइको करिब चार घण्टा बितिसकेको थियो । मन्त्रीका स्वकीय सचिव दुर्गा चापागाईंले यति ढिलो हुने हो भने त यात्रा स्थगन गर्नुपर्छ जस्तो भने । सँगै रहेको मन्त्रालयका सचिवको पनि उस्तै सुझाव आयो । तर, मन्त्री पुनले त्यसबारे कुनै प्रतिक्रिया नदिई बरु जानका लागि सस्तो विकल्प अरू के हुन सक्छ सोच्नुस भनेर जवाफ दिए ।

प्रतिकूल मौसमका कारण पाँच घण्टा काठमाडौको एयरपोर्टको पर्खाइपछि हामी भैरहवाका लागि उड्यौं । भैरहवा पुग्नेबित्तिकै मन्त्री पुनले नवलपरासी जिल्ला समितिको कार्यालय पुगेर त्यहाँ जम्मा भएका सयौ कार्यकर्ताहरूलाई प्रशिक्षणमुलक भाषण दिए । उनले नेपालमा कम्युनिष्टहरूको दुई तिहाईको सरकारहुनु विश्वका कम्युनिष्टहरूको लागि उदाहरणिय आशा जगाउने परिघटना हो भन्दै नेतृत्वलाई रूपान्तरण गर्दै समाजवादसम्म पुग्ने योजनासहित अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए । 

उनले त्यसलगत्तै नवलपरासीको रामग्रामस्थित पृथ्वीचन्द्र अस्पतालको निरीक्षण गरे । सो क्रममा अस्पताल विकास समितिका अध्यक्षले अस्पतालको विद्युत् महशुलबापतको ४१ लाख ७० हजार रुपैयाँ मिनाह गर्न मन्त्री पुनसमक्ष आग्रह गरे । मन्त्री पुनले जनतालाई सेवा दिने यस अस्पतालको आर्थिक अभावका कारण उत्पन्न समस्यालाई आफूले सकेको सहयोग गर्ने वचन दिए । त्यसपश्चात खाना खाएर हामी सुस्तातिर लाग्यांै ।

पहिलोपटक सरकारका मन्त्री सुस्ता आउदै गरेको देख्दा जनता खुसी देखिन्थे । सुस्ताको गाउँमा उत्सवको माहोल बनेको थियो । सरकारका तर्फबाट पहिलोपटक मन्त्री पुनको उपस्थितिले वर्षौंदेखिको भारतीय अतिक्रमण र हेपाइ सहँदै अँध्यारोमा बस्न बाध्य सुस्तावासीमा ‘आफ्नो देशमा पनि सरकार छ है’ भन्ने पहिलो अनुभूति दिलायो । अझ केही महिनाभित्रै सम्पन्न हुनेगरी विद्युत् ग्रिडको शिलान्यास भएको र छिटै विद्युत्को उज्यालोमा बस्न पाउने भएपछि स्थानीयहरू खुसीले गद्गद् पनि थिए ।

सुस्ता पुग्न दुई विकल्प रहेछन् । एउटा भारततर्फको मोटरबाटो र अर्को नारायणी नदीको डुंगाबाट जाने विकल्प । मन्त्री पुनले डुंगा हुँदै जाने बताए । मन्त्री नारायणी तिरमा पुग्दा मान्छेहरूको घुइँचो थियो । दुईवटा काठे डुंगा किनारमा थिए । क्रमश मान्छेहरू डुंगामा चढ्न थाले । करिब चार दर्जनभन्दा बढी मान्छे चढेको काठको पुरानोे डुंगामा मन्त्री पुन सवार थिए । ‘तपाईं यसरी कुनै खास सुरक्षाविना नै ज्यानकै पर्वाह नगरी डुंगामा सवार गरेर सुस्ता किन आउनुभो ?’ भन्ने समाचार दैनिक डटकमको प्रश्नमा मन्त्री पुनको उत्तर थियो, ‘जनता यही डुंगाको भरमा दैनिक वारिपारि गर्नुपर्ने । अनि जनताले त्यो जोखिम लिन हुने तर म मन्त्री भएकै कारण किन लिन नहुने ?’ भन्दै प्रतिप्रश्न गरे । ‘मैलै सुस्तावासीलाई सुस्ता आउने वाचा गरेको थिएँ, म त्यो आज पूरा गर्छु ।’ उनी त्यस दिन रातको समयमा अनिस्चितताबीच चलेको डुंगा सवार अधिकांश यात्रु डराइरहँदा पनि खुसी र निर्धक्क देखिन्थे ।’

कार्यक्रमस्थल पुग्दा नारायणी किनारमा लामबद्ध भएका सुस्ताबासीले फूलमाला अबिर लगाइदिएर मन्त्री पुनको भव्य स्वागत गरे । महिलाहरू लामबद्ध भएर स्वागत गीत गाउँदै गर्दा बजेको गडगडाहट तालिका बीच एकजना महिला चर्को आवाजमा बोल्न थालिन, ‘मन्त्रीज्यूलाई धन्यवाद छ । मन्त्रीज्युले काठमाडौमा भेट्दा आउँछु भनेर हामीलाई दिनुभएको बचन पूरा गर्नुभयो । उहाँले बोलेअनुसार साँच्चै सुस्तामा आउनुभयो । हामी सुस्तावासी खुसीले गद्गद् छौं ।’ त्यसरी भीडबाट बोल्ने महिला सुस्ता बचाऊ अभियानकी सदस्य लैला बेगम थिइन् ।

सुस्तामा समस्याका चाङ

सुस्ताको कुल ४० हजार नौ सय ८० हेक्टर जमिनमध्ये १४ हजार पाँच सय हेक्टर जमिन भारतले अतिक्रमण गरिसकेको छ । बाँकी जमिनमा समेत भारतीय पक्षले नेपालीलाई जोतभोग गर्न रोक्दै आएको छ । नारायणी नदीमा पुल नहुँदा सुस्तावासीलाई आफ्नै गाउँ जान नारायणी नदीको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । भारतीय भूमि हँुदै मोटरबाटो जान सकिन्छ, तर त्यसरी जाँदा भारतीय सुरक्षाकर्मीले निकै दुःख दिने गरेको सुस्तावासीले बताए ।

मन्त्री पुनले सुस्तामा के गरे ?

अत्यन्तै कष्टकर जीवन जिउन बाध्य सुस्तावासीका बीच सरकारको मन्त्रीको रूपमा पहिलोपटक वर्षमान पुन अनन्त पुग्दा सुस्ताबासी निकै खुसी थिए । कुल लागत ४ करोड ८० लाख ९५ हजार दुई सय ६८ लागत रहेको सौर्य मिनिग्रिड परियोजनाको शिलान्यास गरेपछिको कार्यक्रममा बोल्दै मन्त्री पुनले भने, ‘मैले एक वर्षअघि सुस्ता बचाउ अभियानका अध्यक्षलाई म आउँछु भनेकाले म यहाँ त्यो विश्वास कायम राख्न आज अबेला भए पनि आएको छु ।’ 

कार्यक्रममा बोल्दै मन्त्री पुनले भने, ‘अब सुस्ताबासी ढुक्क भएर निदाउन सक्नुहुन्छ । सुस्तामा आएपछि यहाँ सिँचाइको समस्या पनि रहेको थाहा पाएँ । सोलारबाटै चल्ने गरी बोरिङको तत्काल व्यवस्था गर्नेछौं ।’ 

मन्त्री पुनले विद्युत्का लागि आवश्यक व्यवस्था भयो अब सिँचाइ, नागरिकता, सडक, शिक्षाको क्षेत्रमा पनि सरकारले छिटोभन्दा छिटो आवश्यक व्यवस्था मिलाउने सुस्ताबासीलाई विश्वास दिलाए । सुस्तावासी सीमा रक्षक हुन् भन्दै सीमा रक्षकलाई नागरिकताविहीन हुन नदिने बताउँदै मन्त्री पुनले भने, ‘सुस्ताका समस्याबारे प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्नेछु ।’ 

मन्त्रीले सुस्तामा देखिएको घरबास र नागरिकताको समस्यालगायत झोलुंगे पुल, सडकलाई कालोपत्रे गर्नेजस्ता समस्या समाधान सरकारले गर्ने भन्दै त्यहाँका अन्य समस्याबारे बोल्दै गर्दा कार्यक्रमस्थलमा टनाटन रहेका सुस्ताबासी ताली बजाएर खुसी व्यक्त गरिरहेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारी, जलस्रोत, सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी, तराई मधेस समृद्धि कार्यक्रमका निर्देशक रामहरि शर्माले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो । 

मन्त्रीलाई सुस्ताबासीको त्यो निम्तो

एक वर्षपहिले ६० जना सुस्ताबासीले काठमाडौं आएर सुस्ताको सीमा रक्षाको माग राख्दै धर्ना दिएका थिए । त्यतिवेला सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङसहितको टोलीले ऊर्जामन्त्री पुनसहित उपराष्ट्रपति नन्दबहादुर पुन, रक्षमन्त्री ईश्वर पोखरेल, गहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासनमन्त्री लालबावु पण्डित, श्रममन्त्री गोकर्ण विष्टलगायतका नेतालाई पनि भेटेर आफ्ना गुनासा राखेका थिए । सोही भेटमा मन्त्री पुनले आफू सुस्ता नै आएर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरका रहेछन् ।

सुस्तायात्रामा गैरजिम्मेवार बनेको स्थानीय प्रशासन

कार्यक्रम सकेर फर्कंदा पुरै रात परिसकेको थियो । नारायणी नदी पार गर्दा करिब डेढ घण्टाको डुंगा यात्रा कहालीलाग्दो रह्यो । डुंगाको क्षमता कति हो र कतिजना चढ्न मिल्छ ? भन्ने कुरा कसैलाई थाहा थिएन । रातको समय भएकाले भएजति मानिस डुंगामा कोचिएका थिए । डुंगामा कति बस्ने कति नबस्ने कसैको नियन्त्रणमा थिएन । स्थानीय प्रशासनका सबै अधिकारी त्यहाँ थिए तर त्यतिबेलाको डुंगाको यात्रा व्यवस्थित बनाउनेतर्फ कुनै योजना देखिएन । केहीका लागि लाइफ ज्याकेट थियो, तर कतिपय विनाज्याकेट नै यात्रा गर्न बाध्य थिए ।

डुंगामा सबार यात्रु मनभित्र डर लिएर यात्रा गरिरहेका थिए । माझीले डुंगा खियाउँदा आएको पानीको आवाज सुनिन्थ्यो तर अरू केही दृश्य नदेखिने निष्पट्ट अँध्यारो थियो । करिब एक घण्टाको अत्यासलाग्दो यात्रापछि नदीको करिब बीचतिर ठूलो आवाजसहित डुंगा ढुंगामा अड्कियो । डरले सबै यात्रु चलमलाउन थाले । तर माझी कराउँदै कोही आफ्नो ठाउँबाट नचल्न र चलेमा दुर्घटना हुने भन्दै सचेत गराउँदै थिए । 

यो रातको सन्नाटामा मेरो मनभित्र केवल डुंगा पल्टियो भने के गर्ने भन्ने कुराले सताइरहेको थियो । बल्लबल्ल पुन नदीकै बहावतर्फ गएर डुंगा करिब आधा घण्टापछि किनारमा आइपुगेको थियो । तर, मन्त्री पुन निर्धक्क देखिन्थे । 

मन्त्री डुंगामै सवार भएपछि जिल्लाका सिडिओ, प्रहरी प्रमुख पनि डुंगामै डर मान्दै यात्रा गर्न बाध्य थिए । सबैजना सकुसल नारायणी नदी तर्न त सफल भइयो, तर त्यो यात्रा एउटा दुःखद दुर्घटनाको सन्निकटबाट गुज्रिएको पक्कै थियो ।

सबै तस्बिरहरू ः दिपेन्द्र ढुंगाना/समाचारदैनिक

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Surye लेख्नुहुन्छ २० कार्तिक, २०७६ ०९:०३ am

Good

तपाईँको मत

संसद्को सभामुखमा ओनसरीको आगमनकाे खोजी

  • २७ कार्तिक, २०७६

काठमाडौं । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा अहिले पुर्पक्षका लागि

प्रदेश प्रमुख : प्रचण्डलाई पार्टी सदस्यता दिने ‘अमिक’, बाबुरामलाई दिने ‘तिलक’

  • १९ कार्तिक, २०७६

काठमाडौं । सत्तारूढ नेकपाले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले ०७४ माघ ३ गते नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरी सातै

बेपत्ता श्रीमानको खोजी गर्दागर्दै ‘सम्मान र जिम्मेवारी’ पाएकी शर्मिला पन्त त्रिपाठी

  • १८ कार्तिक, २०७६

काठमाडौं । अघिल्लो सरकारले नियुक्त गरेका सातैवटा प्रदेशका प्रमुखलाई तत्काल हटाउने चर्चा थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान