• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रदेश प्रमुख : प्रचण्डलाई पार्टी सदस्यता दिने ‘अमिक’, बाबुरामलाई दिने ‘तिलक’

काठमाडौं । सत्तारूढ नेकपाले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले ०७४ माघ ३ गते नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरी सातै प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सबै प्रदेश प्रमुखलाई शपथ खुवाइसकेकी छिन् । 

नेकपा सचिवालय बैठकले गरेको निर्णयबमोजिम सात प्रदेशमा प्रमुख नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस भएको थियो । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रमुखहरूलाई पदबाट एक्कासि हटाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुष्ट बनेको छ । सरकारले राजनीतिक द्वन्द्व निम्त्याएको भन्दै कांग्रेस नेताहरूले सरकारविरुद्धका खरो प्रतिक्रिया दिइरहेका छन् । 

उता, सत्तारूढ नेकपाभित्र पनि नयाँ प्रदेश प्रमुख नियुक्तिको विषयलाई लिएर माधव नेपाल खेमा रुष्ट देखिएको छ । आफूले सिफारिस गरेका कुनैपनि नेताको नाम प्रदेश प्रमुखमा नअटाएको भन्दै नेता नेपालले लिखित रूपमा ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन् । 

नेकपाले प्रदेश प्रमुख नियुक्तिमा कम्युनिस्ट पार्टीलाई योगदान गरेका राजनीतिक कार्यकर्ताहरूलाई प्राथमिकतामा राखेको देखिन्छ । प्रायःजसो राजनीतिक नियुक्तिमा पूर्वप्रशासकहरूले मौका पाउने गरेको भए पनि यसपटक भने राजनीतिर्मीहरूले प्राथमिकता पाएपछि नेकपाका नेताहरूले निर्णयलाई सम्मान गरेका छन् । 

प्रदेश प्रमुखमा देखिएका नयाँ अनुहारहरू प्रायःजसो पुराना नेता–कार्यकर्ता छन् । जसमध्ये प्रदेश २ को प्रमुखमा नियुक्त भएका तिलक परियार र गण्डकी प्रदेशमा नियुक्त भएका अमिक शेरचन नेकपाका पूराना नेता हुन् ।

यो स्टोरीमा हामी उनै दुई जना नेताहरूको संक्षिप्त चर्चा गर्नेछौं । जसले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कम्युनिस्ट पार्टीको सदस्यता दिलाएका थिए । 

अमिक शेरचन : जसले प्रचण्डलाई पार्टी सदस्यता दिलाए

उपप्रधानमन्त्री भइसकेका वरिष्ठ कम्युनिस्ट नेता अमिक शेरचनका अनेक परिचय छन् । नेकपा चौम हुँदै कम्युनिस्ट आन्दोलनको नेतृत्वमा आएका शेरचन ०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका थिए । त्यतिबेला प्रचण्ड नेतृत्वको माओवादी पार्टी एउटै थियो ।

शेरचनका अनुसार उनले ०१७ सालमा तत्कालीन कम्युनिस्ट नेता पुष्पलालबाट पार्टी सदस्यता लिएका थिए । लामो समय पार्टीमा निरन्तर खटिएका शेरचनले ०३२ सालमा प्रचण्डलाई पार्टी सदस्यता दिलाएका थिए । चौथो महाधिवेशनको बेलामा प्रचण्डलाई आफूले पार्टीको सदस्यता प्रदान गरेको उनले बताए । 

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भएको सात दलको आन्दोलनमा अमिक शेरचन एक नेता थिए । त्यो आन्दोलनबाट शेरचन राष्ट्रिय नेताका रूपमा उदाए । उनी जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने । त्यसबेला तत्कालीन एमालेबाट केपी ओली उपप्रधानमन्त्री थिए ।

पछिल्लो समय स्वास्थ्यका कारण पनि सक्रिय नभएका शेरचन पार्टीको आमन्त्रित स्थायी कमिटी सदस्य छन् ।

तिलक परियार : जसले बाबुरामलाई पार्टी सदस्यता दिलाए 

माओवादी जनयुद्धको क्रममा ‘हिम्मत’ उपनामले चिनिने परियारतिनै व्यक्ति हुन जसले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी सदस्यता दिलाएका थिए ।

प्रदेश २ को प्रमुख बनेका परियारको जन्म रोल्पा, लिवाङ्गको विपन्न परिवारमा भएको थियो । उनी अध्ययतका लागि भारतमा बसका थिए । र भारतमै रहँदा राजनीतिमा सक्रिय भएका थिए । उनी मशालको दिल्ली कमिटीको सचिवसमेत बनेका थिए । प्रवासमै रहेको बेला उनले भट्टराईलाई पार्टी सदस्यता दिलाएका थिए । 

भारतमा काम गर्दै पढेका थिए । पढ्दा उनी एउटा कम्पनीमा सुपरभाइजर थिए । एसएलसी पास पछि रोल्पा फर्किएका परियारले केही समय भूमि सुधार कार्यालयमा खरिदारको काम गरे । त्यसपछि उच्च शिक्षा पढ्न फेरि भारत फर्किए । भट्टराईलाई उनले २०३९ सालमा भारतबाट नै कम्युनिष्ट पार्टीको सदस्यता दिलाएका थिए । 

भारत बसाइपछि उनी जन्मथलो त फर्किए । ०२८ सालदेखि नै राजनीतिमा लागेका परियार माओवादी आन्दोलनमा समेत सक्रिए भए । सशस्त्र जनयुद्धको क्रममा ०५४ सालमा उनी पक्राउ समेत परे । यद्यपि ०५८ सालमा दाङको हापुरेमा माओवादी र सरकारी टोलीबीच वार्ता हुँदा परियार रिहा भए । पुराना कम्युनिष्ट नेताको पहिचान बनाएका उनी दलित आन्दोलनका अगुवा हुन् । 

अन्तरिम व्यवस्थापिका संसदमा माओवादीले ८३ सिट पाउँदा एकजना तिलक परियार पनि थिए । त्यसपछि ०६४ को पहिलो संविधानसभा चुनावमा उनी बाँके क्षेत्र नम्बर १ बाट सभासद निर्वाचित भए ।

माओवादी पार्टी विभाजनपछि उनी प्रचण्डको साथ छाडेर मोहन वैद्यतिर लागेका थिए । दोस्रो संविधानसभाताका वैद्य माओवादीमा रहेका उनी चुनाव बहिस्कारमा सक्रिय भएका थिए । वैद्य नेतृत्वको पार्टी विभाजनपछि उनले नेत्रविक्रम चन्द (विप्लव)को साथ पनि नरोजेका भने होएनन् । 

त्यसपछि मोहन वैद्यसँग अलग्गिएका रामबहादुर थापा (बादल) समूहसँगै विप्लव समूहबाट अलग भएको तिलक परियारको समूह पनि प्रचण्डकै नेतृत्वको माओवादीमा फर्कियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर