तिलोत्तमामा ४० करोडमा दुग्ध प्रशोधन परियोजना बनाउने तयारी 

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माण हुने भएको छ । असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो । 

करिव ४० करोडको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी संघले काम अघि बढाएको हो । तिलोत्तमा नगरपालिकाले परियोजनका लागि  चार बिगाहा जग्गा उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ । विशिष्टीकृत सहकारी संघ सहकारीहरुबाटै प्रवद्र्धन गरिएको संस्था हो । 

संघले प्रदेश ५ का झण्डै चार सय सहकारीकर्मीबीच अन्तरक्रिया गरेर दुग्ध प्रशोधन परियोजनाको बारेमा अवधारणा सार्वजनिक गरेको छ । रुपन्देहीसहित प्रदेश ५ का सबै जिल्लामा उत्पादित दुधको बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले दुग्ध प्रशोधन केन्द्रको अवधारणा अघि सारिएको हो । 

उचित बजारीकरण नहुँदा दुध उत्पादन हुने मुख्य सिजनमा यहाँका किसानले मिल्क होलिडेको समस्या भोग्न बाध्य छन् । यस्तै लागतअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । किसानलाई दुध उत्पादनमा प्रोत्साहन गर्दै दुधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बताए । 

तिलोत्तमाले आफ्ना दुध उत्पादक किसानलाई प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान, पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै पशुको पञ्जिका राख्ने तथा पशुपालन राहत कोष र समूहमा पशुपालन गर्ने महिलालाई बैंक ब्याजमा अनुदान दिने व्यवस्था पनि मिलाएको छ । 

यू.एच.टी. दुग्ध प्रशोधन परियोजना निर्माणमा प्रदेश सरकारले समेत सघाउने जनाएको छ । प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दुध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताइन ।

सहकारीहरुबीचको सहकार्यले आर्थिक समृद्धिको यात्रालाई बलियो बनाएको बताउँदै उनले उत्पादनमुखीतर्फ अग्रसर हुँदै सहकारी क्षेत्रले थालेको साझा प्रयासले आर्थिक समृद्धिको जगलाई मजबुत बनाउने पनि बताइन । प्रदेशभरीका उपभोक्तालाई बजार बनाएर दूध उत्पादन, प्रशोधन र बिक्री वितरण गर्ने लक्ष्यका साथ परियोजना निर्माण गर्नुपर्ने उनको सुझाव छ । 

प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ रुपन्देही जिल्ला दुग्ध उत्पादनमा विशिष्ट स्थान हासिल गरेको भन्दै दुग्ध प्रशोधन परियोजना स्थापना भएपछि त्यसको फाईदा किसानहरुले लिन सक्ने बताउछन । लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष खगराज शर्माले प्रदेश ५ का सहकारीकर्मीको उत्साहले परियोजनालाई गन्तव्यमैं पुर्याउने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर