• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चिच्च्याएर बर माग्ने मेला तीन दिनसम्म चल्ने

पाल्पा । पाल्पाको सत्यवतीमा लाग्ने नेपालकै अनौठो मानिने चिच्च्याएर बर माग्ने कार्तिके पूर्णिमा मेला यस वर्ष पनि लाग्ने भएको छ । कात्तिक महिनामा पूर्णिमा परे मात्र जोक पर्ने र मेला लाग्ने गर्दछ । यो वर्ष जोक परेका कारण यही कात्तिक २४ देखि २६ गतेसम्म तीन दिनसम्म मेला चल्ने भएको सत्यवती मेला मूल आयोजक समितिले जनाएको छ ।

धार्मिक पर्यटनको प्रचारप्रसारसँगै सरकारले सुरु गर्न लागेको पर्यटन वर्ष २०२० लाई सफल गराउका यस वर्ष मेला अवधि तीन दिनको बनाइएको तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । यस वर्ष जोक परेकाले मेला भर्न आउनेको संख्या बढ्ने र झन्डै तीन लाख श्रद्धालु भक्तजनले सत्यवती बजैको दर्शन गर्ने अनुमान आयोजकले गरेको छ ।

सत्यवती मन्दिर चिच्च्याएर बर माग्ने नेपालकै एक मात्र धार्मिक स्थल हो । यहाँ चर्तुदशीका दिन राति पोखरीमा गाडेको लिंगो पूर्णिमाका दिन पहिचान गरेर पूजा गर्ने तथा पोखरीलाई परिक्रमा गरेर चिच्च्याएर वर माग्ने गरिन्छ । सत्यवती बजैले कानले नसुन्ने भएका कारण प्राचीन कालदेखि नै यहाँ चिच्च्याएर वर माग्ने चलन रहेको छ । तर, यहाँ बर माग्दा एक शब्दमा बर माग्र्नुपर्ने किंवदन्तीसमेत रहेको छ ।

मन्दिरमा पूजा गर्ने, परेवा उडाउने, बोका, हाँस, राँगालगायतका पशुहरूको बलि दिने चलन पनि छ । सत्यवती मन्दिरमा चिच्च्याएर बर माग्दा मनोकांक्षा पूरा हुने हुदाँ पाल्पासहित देशभरका विभिन्न स्थानबाट यहाँ मेला भर्न तथा सत्यवती बजैको दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर