• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वातावरणीय प्रदूषण : चीनको भन्दा भारतको घातक

विश्वको सर्वाधिक प्रदूषित राजधानीको सूचीमा काठमाडौं सातौँ स्थानमा

दिल्ली/तस्विर : वेब

बिबिसी । यतिबेला भारतको उत्तरी क्षेत्र भीषण प्रदूषण स्तरसँग संघर्ष गरिरहेको छ । र यो पूरै एसियाका सहरहरूमा वायुको गुणस्तरलाई मापन गर्ने एक ताजा विषय बन्न सक्छ । चीनको राजधानी बेइजिङ लामो समयदेखि वायु प्रदूषणका कारण विश्वविख्यात छ, तर एक तथ्यांकले भारत, पाकिस्तान र बंगालादेशको वायु प्रदूषण बेइजिङको भन्दा खतरानक रहेको देखाउँछ । 

त्यसो भए, दक्षिण एसिया किन यति धेरै प्रदूषित छ ?

स्विट्जरल्यान्ड आधारित विश्वव्यापी वायुको गुणस्तर संकलन गर्ने समूह ‘आइक्यु एयरभिजुअल’को अध्ययनअनुसार विश्वका सर्वाधिक प्रदूषित ३० सहरमध्ये २२ वटा सहर त भारतकै छन् । बाँकी ८ सहर पाकिस्तान, बंगलादेश र चीनका छन् । यद्यपि, यस ३० सहरको सूचीमा बेइजिङ सहरलाई भने सहभागी गरिएको छैन । बेइजिङ यस सूचीको १२२औँ स्थानमा छ । 

विश्वका सबैभन्दा प्रदूषित राजधानीहरूः

यस सूचीमा पहिलो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ भने दोस्राेमा बंगलादेशको राजधानी ढाका छ । त्यस्तै, तेस्राेमा अफगानिस्तानको राजधानी काबुल छ भने चौथो स्थानमा बहराइनको राजधानी मनामा छ । 

यसैगरी, यस सूचीको पाँचौं स्थानमा मंगोलियाको राजधानी उल्लानबटाेर छ भने छैटौं स्थानमा कुवेतको राजधानी कुवेत सहर छ । यस सूचीको सातौँ स्थानमा नेपालको राजधानी काठमाडौं र आठौंमा चीनको राजधानी बेइजिङ छ भने नवौं, दशौँ, एघारौँ, बाह्रौँ र तेह्रौँ स्थानमा क्रमशः दुबईको राजधानी अबुधावी, इन्डोनेसियाको राजधानी जकर्ता, युगाण्डाको राजधानी कम्पाला, भियतनामको राजधानी हनाई र पाकिस्तानको राजधानी इस्लामावाद छन् । 

समग्र देशहरूलाई हेर्दा बंगलादेशमा वायुको अवस्था सबैभन्दा खराब पाइएको छ भने त्यसपछि क्रमशः पाकिस्तान र भारत पर्छन् । यस सूचीमा नेपाल आठौँ स्थानमा छ भने चीन बाह्रौँ स्थानमा छ । सबै सूचीहरू प्रत्येक वर्षको औसत वायुको गुणस्तरको आधारमा तयार पारिएको छ ।

यद्यपि, यी देशमा स्टेसनहरूको मापन गर्ने र डाटाको पारदर्शिताको घनत्व निकै फरक छन्, त्यसैले यी आँकडाहरूलाई केही सावधानीका साथ अध्ययन गर्न आवश्यक छ । तर, यसले पक्कै पनि एक प्रकारको प्रवृत्तिको संकेत दिन्छ । 

चीनको भन्दा भारतको वायु किन बढी खतरनाक छ ? 

सहरी क्षेत्रको प्रदूषणमा सामान्यतया थुप्रै तत्त्वहरू मिसिएको पाइन्छ, जसमा विशेषगरी सवारीसाधनबाट निस्कने धुवाँ, डढेलो आदिबाट निस्कने धुवाँ र प्रशस्तै उद्योग आदि पर्छन् । भारत र चीनको प्रदूषणमा फरक के छ भने भारतमा किसानहरू आफ्नो खेतबारीलाई सफा गर्ने क्रममा खेतीबाट निक्लने घस्यौँटालाई जलाइरहेका छन् । यो विशेषगरी शरद ऋतुमा हुन्छ । 

‘यतिबेला सबैभन्दा ठूलो समस्याको रूपमा कृषि डढेलो देखिएको छ,’ लन्डन स्कूल अफ इकोनोमिक्सका सहप्राध्यापक थोमस स्मिथले बिबिसीसँग भने, ‘यही एउटा कुरा चीनमा नियन्त्रण गरिएको छ । चीनमा कृषि खेतीबाट निक्लने फोहोर वा घस्यौँटाहरूलाई जलाउन पूर्ण रूपले प्रतिबन्ध छ ।

डढेलो र असामान्य तापक्रमका लागि एक विश्वव्यापी अवलोकन गर्ने सकिने व्यवस्था नासाद्वारा उपलब्ध गराइएको छ । भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पश्चिमी क्षेत्रमा डढेलोको अत्याधिक असामान्य चिन्तालाई दर्शाउने प्राध्यापक स्मिथ बताउँछन् ।

‘त्यसैले तपाईंले कृषि खेतीको डढेलो कति महत्त्वपूर्ण छ भन्ने कुरालाई हामीले बेवास्ता गर्न सक्नुहुन्न, किनकि मानिसहरू खाली सवारीसाधन र उद्योग कलकारखाना मात्रै यसको एक मात्र कारण मान्दछन्,’ उनले भने । 

बढ्दो प्रदूषणलाई मध्यजनर गर्दै भारतको सर्वोच्च अदालतले दिल्ली आसपासका राज्यमा कृषि डढेलो नलाउन आदेश दिएको छ । तर, दिल्ली सहरको स्थिति चिसो हावाले झनै खराब बनाएको छ, जसले प्रदूषणलाई स्थिर बनाइराख्छ ।

बेइजिङ

‘जहाँ भारत केही हदसम्म प्रतिक्रियाशील रहन्छ भने बेइजिङ सबैभन्दा पहिले समस्याहरू अझ बढ्न नदिन अधिक सक्रिय र रोक्ने प्रयास गर्छ,’ प्राध्यापक स्मिथले बताए । हावामा खतरनाक कणहरूको स्तरलाई मापन गरेर प्रदूषणको स्तरलाइ वर्गीकरण गरिन्छ । यसबाट आएको परिणामलाई राम्रोदेखि खतरनाकसम्मको स्तरमा वर्गीकरण गरिन्छ । 

‘प्रदूषणको असर मान्छेपिच्छे फरक हुन्छ,’ न्यु साउथ वेल्स विश्वविद्यालयकी प्राध्यापक डाक्टर क्रिस्टिन कोवी बताउँछिन्, ‘केही मानिस आँखा पोल्ने, घाँटीमा खसखस, श्वास फेर्न गाह्रो हुने र दमको लक्षण देखा पर्छन् । दम नलागेका व्यक्तिमा खोकी लाग्नु पनि प्रदूषणको एक सामान्य लक्षण हो ।’ 

यसबाट सबैभन्दा बढी जेष्ठ नागरिक, बालबालिका र श्वास प्रश्वाससम्बन्धी समस्या र मुटु रोग भएका व्यक्ति पीडित हुने उनी बताउँछिन् । यस्तो अवस्थामा घरभित्रै बस्ने, शारीरिक व्यायामलाई कम गर्ने र मास्क लगाउन सल्लाह दिइन्छ । तर, विश्वको थुप्रै गरिब क्षेत्रमा यीमध्ये कुने पनि विकल्पले वास्तवमै काम गर्दैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर