सिसडोलका स्थानीयवासीलाई स्वास्थ्य, कृषि र पशु बिमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ । लामो समय फोहर थुपार्दा स्थानीयवासीलाई समस्या परेको भन्दै बिमा गर्ने तयारी गरेको हो ।

बिमाका लागि अहिले कति प्रभावित भएका छन् भनी नामावली सङ्कलन गर्ने कार्य भइरहेको छ । नामावली सकिएपछि बिमाको कार्य शुरु गर्ने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । 

कामपाले दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए । दीर्घकालीन फोहर व्यवस्थापन गर्नका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माणकार्य भइरहेको छ । 

सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा दीर्घकालीन फोहर संकलन केन्द्र निर्माणको काम पनि तीव्ररूपमा अघि बढेको जनाएको छ । 

निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर