• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 12:55 am

चितुवा खोज्दै जंगलमा विज्ञ

तनहुँ । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जंगलमा परिचालित भएका छन् । भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि कोषका विज्ञ टोली जंगलमा परिचालित भएका हुन् ।

चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञ टोली परिचालित भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । ‘स्थानीयस्तरबाट चितुवा नियन्त्रणका लागि भएको प्रयास असफल भएपछि विज्ञ टोलीको सहयोगमा चितुवा नियन्त्रणमा लिन खोजिएको हो,’ बरालले भने, ‘उक्त टोलीले नतिजा निकाल्नेमा विश्वस्त छौं ।’ विज्ञ टोलीका साथमा स्थानीय सिकारीलाई पनि परिचालन गरिएको छ । 

कोषका वरिष्ठ विज्ञ डा. सुवेदीले दुई महिनाभित्रै परिणाममुखी काम देखाउने गरी टोलीले काम सुरु गरेको जानकारी दिए । उनका अनुसार चितुवा प्रभावित वडाबाट दुई÷दुईजना स्थानीयवासीलाई टिममा सहभागी गराइएको छ । ‘यस ठाउँको यथार्थ जानकारी भएका स्थानीयवासीलाई टिममा समावेश गरेपछि हामीहरूलाई काम गर्न सहज हुन्छ,’ डा सुवेदीले भने, ‘जंगलको सबै ज्ञान उहाँहरूलाई हुने हुँदा उहाँहरूकै सहयोगमा चितुवा नियन्त्रणमा लिनेछौं ।’

डा. सुवेदीका अनुसार चितुवा नियन्त्रणका लागि चितुवा हिँड्ने बाटो पहिचान गरिनेछ । उनका अनुसार चितुवा प्रभावित वडामा क्यामरा जडान गरेर चितुवा पहिचान गरिनेछ । चितुवा नियन्त्रणका लागि एसियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ ।

देशका ७७ वटै जिल्लामा चितुवा पाइन्छ । पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवाको बढी समस्या रहेको छ । उनका अनुसार बूढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जंगलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीले बताए । 

‘जङ्गलमा पाइने जनावर चोरी सिकासले नष्ट हुँदै गएपछि चितुवा आहारा खोज्दै बस्तीनजिक आउने गरेको पाइएको छ,’ डा. सुवेदीले भने, ‘बस्ती नजिक आएको चितुवाले आहाराकै लागि मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।’ चितुवालाई प्रतिदिन चार किलो मासु आवश्यक पर्दछ । 

चितुवा नियन्त्रणका लागि नगरपालिकाको सामुदायिक वनमा परम्परागत खोर राखिएको छ । चितुवा प्रभावित वडाका सामुदायिक वनमा ९ वटा परम्परागत खोर राखिएको छ । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणका लागि संरक्षण कोषका विज्ञलाई नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए ।  

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजका समाचार हाइलाइट्स २६ कार्तिक, २०७६

  • २६ कार्तिक, २०७६

उपेन्द्र यादव सरकारबाट बाहिरिँदै  काठमाडौं । २०७४ वैशाखमा तराई–मधेसकेन्द्रित ६ पार्टी मिलेर राजपा गठन भयो । त्यतिबेला सबै मधेसकेन्द्रित दलहरू

स्थानीय तहका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदै

  • २६ कार्तिक, २०७६

काठमाडौं । आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि भोलि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ ।  निर्वाचन आयोगका अनुसार

श्रमीकको अधिकार हनन गर्ने अधिकार कसैमा छैन : उपराष्ट्रपति

  • २६ कार्तिक, २०७६

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक मैत्री नीति कार्यान्वयनको सुनिश्चित गर्न सम्बन्धित सबै राष्ट्रलाई आग्रह गरेका छन् । उपराष्ट्रपति