• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चन्द्रशेखर उपाध्यायलाई नेपाल विद्यापति पुरस्कार

जनकपुरधाम । नेपाल सरकारद्वारा स्थापित मैथिली भाषाको सबैभन्दा ठूलो राशिको विद्यापति पुरस्कार आज घोषणा भएको छ । पुरस्कार कोषले पत्रकार सम्मेलन आयोजना गरी गरेको पुरस्कार घोषणामा २ लाख नगद राशिको पुरस्कार साहित्यकार चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिने जानकारी गराएको छ । 

नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार मैथिली साहित्यमा अतुलनीय योगदानका लागि दिइने गरिन्छ । धनुषा रघुनाथपुरका उपाध्यायलाई ‘सुदामा चरित्र’ नामक मैथिली खण्डकाव्यका लागि पुरस्कृत गर्न लागिएको हो । 

यसैगरी, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरीका शिवनारायण पण्डितलाई प्रदान गर्ने निर्णय गरिएको छ । उनले ‘कालो सूर्य’ नामक नेपाली भाषाको उपन्यास मैथिली भाषामा अनुवाद गरेका छन् । 


नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार भने धनुषा जनकपुरधामका पत्रकार उपेन्द्रभगत नागवंशीलाई प्रदान गरिने भएको छ । उनको ‘काव्यकृति’ नामक कवितासंग्रहको पाण्डुलिपि रहेको कोषका सदस्य सचिव नविनकुमार मिश्रले जानकारी दिए । 

त्यस्तै, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादवलाई प्रदान गरिने भएको छ । त्यसैगरी, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई प्रदान गर्ने निर्णय गरिएको मिश्रले जानकारी दिए । यी पुरस्कारहरूको राशि जनही एक÷एक लाख रुपैयाँ रहेको छ । 

पुरस्कृत हुनेहरूलाई कोषको विधानबमोजिम यही आर्थिक वर्षभित्र एक विशेष समारोहबीच पुरस्कार प्रदान गर्ने कोषले जनाएको छ ।

मैथिली भाषा, कला, साहित्य संस्कृतिमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने उद्देश्यले नेपाल सरकारले २०६८ साल कात्तिक १८ गते नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरिएको थियो । २०६८ सालमा स्थापना गरिएको कोषले अहिलेसम्म ३० जना स्रष्टालाई पुरस्कृत गरिसकेको छ भने दुई आर्थिक वर्षमा कोषको आन्तरिक किचलोका कारण पुरस्कार घोषणा हुन सकेको थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर