• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अमेरिकामा अनेसास सर्वोत्कृष्ट पुरस्कार वितरण

अमेरिका । अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्कीले प्रवासी भूमिमा बसेर नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

आइतबार डिसीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक एवं विशिष्ट प्रतिभा पुरस्कार वितरण समारोहमा उनले नेपाली साहित्यका मूर्धन्य साहित्यकारहरूलाई आमन्त्रण गरेर प्रवासमा पनि उनीहरूको सिर्जना सुन्ने र सिक्ने मौका पाउनु प्रशंसनीय भएको बताए । 

कार्यक्रममा अनेसासको राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेललाई प्रदान गरिएको छ । हरेक दुई वर्षमा प्रदान गरिने दुई लाख ५० हजार राशिको उक्त पुरस्कार साहित्यको क्षेत्रमा प्रवासमा प्रदान गरिने सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा लुईंटेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, समालोचक हरि अधिकारी, अनेसासका पूर्वअध्यक्ष पदम विश्वकर्मा, पुरस्कार स्थापना गरेका राम लामालगायतले नेपाली भाषा र साहित्यको बारेमा चर्चा गरेका थिए । 

यसैबीच कार्यक्रममा राम लामा अविनाशीले लेख्नुभएको कृति ‘पिल्सिएको परदेशी मन’ लोकार्पण गरियो । उक्त पुस्तकमा प्रवासी भूमिमा विभिन्न कारणले झेल्नु परेको समस्या तथा पिल्सिएको भाव समेटिएको २६ वटा कविता सङ्ग्रहित गरिएको छ ।

कार्यक्रममा दुई हजार अमेरिकी डलर राशिको अनेसास सर्वोत्कृष्ट पुरस्कार ‘रोबोटका आँखा’ नामक पुस्तकका स्रष्टा नरेन्द्रराज पौडेललाई र दिल लीला सर्वोत्कृष्ट डायस्पोरा पुरस्कार ‘छाप्रो नं ५५’ का सर्जक रमेश दियालीले प्राप्त गर्नुभएको छ । अनेसास रोहिणी शर्मा सीता शर्मा काव्य पुरस्कार कवयित्री कुन्ता शर्माको कृति ‘मेरो मान्छे’ कविता सङ्ग्रहलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।

यसैगरीm अनेसास पदम विश्वकर्मा पुरस्कार कथाकार युवराज मैनालीलाई र अनेसास स्व डिल्लीराम तिम्सिना पुरस्कार उपन्यासकार तीर्थ गुरुङलाई प्रदान गरिएको छ । उक्त पुरस्रकाको राशि पनि एक हजार अमेरिकी डलर रहेको छ । अनेसास डा. श्याम कार्की इन्दिरा कार्की सर्वोत्कृष्ट पुरस्कार नियात्राकार घनश्याम राजकर्णीकारलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी पाँच सय अमेरिकी डलर रहेको छ । 

यसैगरीm पाँच सय अमेरिकी डलर राशिको गजल पुरस्कार आँगन गजल सङ्ग्रहका लागि नमिता बराललाई र मस्टो संस्कृति पुरस्कार संस्कृतिविद तेजबहादुर कार्कीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कृत स्रष्टा रमेश दियाली, नरेन्द्रराज पौडेल, कुन्ता शर्माले मन्तव्य राख्नुभएको थियो । यसैगरी कार्यक्रममा गोवद्र्धन पूजा, हरि अधिकारी, कुन्ता शर्मा, सीता पाण्डे, शिव लामिछाने, कृष्ण सादगीलगायत दुई दर्जन कवि तथा कवयित्रीले आफ्नो रचना पाठ गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर