मुख्यमन्त्री राउत अमेरिका जाँदै

जनकपुरधाम ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज अमेरिका प्रस्थान गर्दैछन् । मुख्यमन्त्री कार्यालयको लामो प्रयासपछि कूटनीतिक राहदानी पाएका मुख्यमन्त्री राउत अमेरिका प्रस्थान गर्न लागेका हुन् । आज मुख्यमन्त्री राउतसँगै प्रदेश दुईका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा पनि अमेरिका जान लागेका हुन् । 

मुख्यमन्त्री राउत अपराह्न ३ बजे राजधानी काठमाडौँबाट अमेरिकाका लागि प्रस्थान गर्नेछन् । मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा हिजै राजधानी काठमाडौँ पुगिसकेका छन् । मुख्यमन्त्री राउत एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) को हुन लागेको साधारणसभामा भाग लिनेछन् । 

एन्टा अमेरिकामा बस्ने मधेसी मूलको नागरिकहरुको संस्था हो । एन्टाको कार्यक्रममा सरिक भएर मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार अतिश मिश्रले जानकारी दिए ।

यसअघि जनकपुरधाममा आयोजित नेपाल साहित्य उत्सवमा मुख्यमन्त्री राउतले आफूलाई राहदानी दिने क्रममा परराष्ट्र मन्त्रालयले १० दिनसम्म कुराएर अपमानित गरेको बताएका थिए । उनको कुटनीतिक राहदानीको म्याद २०८० भाद्र १८ गतेसम्मका लागि छ ।

यसअघि राेकिएकाे  थियाे अमेरिका भ्रमण

मुख्यमन्त्री राउत डेढ वर्षअघि एक कार्यक्रममा भाग लिन जाने तयारी गरेको अवस्थामा संघीय सरकारले उनलाई रोक लगाएको थियो । 

अमेरिकामा रहेको मधेसी समुदायको छाता संगठन मधेसी एसोसिएसन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, २०७५ जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई अमेरिका जानबाट रोक लगाएको थियो । 

मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसमक्ष अनुमति मागेका थिए।

प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै मन्त्रिपरिषद् बैठकले राउतको भ्रमण रोकेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर