• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

अनैतिक कृयाकलाप रोक्न सादा पोशाकका प्रहरी नै ग्राहक बनेपछि

विराटनगर । भारत बिहारका मोहमद रियाजलाई प्रहरीले  विराटनगरको रानीबाट पक्राउ गरेको छ । रियाज विराटनगर १५ रानीमा सञ्चालित हिमालय गेष्ट हाउसका कर्मचारी हुन् । रियाजसँगै गेष्ट हाउसबाट एक जना २५ वर्षीया महिला पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने महिला पनि भारतीय नागरिक हुन् ।

सीमावर्ती क्षेत्रमा सञ्चालित होटलहरुमा अनैतिक कृयाकलाप हुनेगरेको गुनासो स्थानीयले गर्दै आएका थिए । स्थानीयको गुनासो आएपछि प्रहरीले त्यस क्षेत्रका होटल र गेष्टहाउसहरुमा निगरानी बढाएको थियो । त्यसै क्रममा सादा पोशाकका प्रहरीले गेष्टहाउसमा केटी भए–नभएको सोधे । रियाजले होटलमा केटी नभएको तर चाहिएमा बोलाइदिने बताए ।

सादा पोशाकका प्रहरीले सहमति जनाए र कोठा बुकिङ गरे । कोठा बुक गरेपछि सोमबार दिउँसो रियाजले कतै टेलिफोन गरे र केही समयपछि केटी आइपुग्ने जानकारी गराए । केही घण्टापछि भारत फारबिसगँज घर भएकी महिला गेष्ट हाउसमा आइपुगिन् । प्रहरीले कल गर्लकोरुपमा काम गर्ने यौनकर्मी महिलासँगै होटलका कर्मचारी रियाजलाई पक्राउ ग¥यो । 

रियाजका मालिक पनि भारतीय नागरिक हुन् । उनले सीमावर्ती नेपाल तर्फको रानी बजारमा गेष्टहाउस सञ्चालन गरेर भारतीय युवतीहरुलाई यौनकर्ममा लगाउने र भारतीय युवाहरुलाई नै ग्राहककोरुपमा प्रयोग गर्ने धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ । रानीका अधिकांश होटल तथा गेष्टहाउसहरु भारतीय नागरिकहरुले घर भाडामा लिएर सञ्चालन गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सामान्य दरमा घर भाडामा पाइने त्यस क्षेत्रमा मासिक ७० हजार रुपियाँसम्म लिएर गेष्टहाउस चलाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । ‘रानीका अधिकांश होटल र गेष्टहाउसका सञ्चालक भारतीय छन् र उनीहरुले महंगो भाडा तिर्ने गरी घर लिएका रहेछन्,’ डिएसपी श्रेष्ठले भने ‘अवैध कृयाकलाप गर्दा कुनै समस्या आए तुरुन्तै सीमा पारी भाग्ने उद्देश्यबाट यस्ता होटलहरु सञ्चालन भएको पाइएको छ ।’ 

चालु आर्थिक वर्षको चार महिनामा प्रहरीले विराटनगर र रानी क्षेत्रका ५७ वटा होटल तथा गेष्टहाउसहरुमा छापा मारेको छ । होटलहरुमा हुने अनैतिक कृयाकलापलाई रोक्नुकासाथै अन्य अपराधिक गतिविधि हुन नदिन प्रहरीले विभिन्न तरिकाबाट होटलहरुको निगरानी र अनुगमन गर्दै आएको जनाएको छ । 

यसैबीच एक जना १३ वर्षीया बालिकालाई जबरजस्ती यौनजन्य कार्यमा संलग्न गराएको अभियोगमा प्रहरीले विराटनगर ८ की पूर्णीमा श्रेष्ठ मल्ललाई पक्राउ गरेको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर