• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

तिलोत्तमामा १५ शय्याको अस्पताल बन्ने

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शय्याको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् । 

स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न पहल गर्ने रूपन्देही–२ का प्रतिनिधिसभा सदस्य एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिबद्धता जनाएका छन । पौडेलले बिहीबार स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने भन्दै ढुक्क बन्न आग्रह गरे । उनले भने, ‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शय्याको अस्पताल बन्छ, तपाईंहरू ढुक्क हुनुस्, यसका लागि म सरकार र मन्त्रालयमा कुरा पु¥याउँछु ।’ 

सांसद पौडेलले खोलामुनि चट्टान परेकाले रोकिएको गोरकट्टा–मोतिपुर पुल अब सुरु हुने र तिनाउ दानव करिडोर सडक पनि बन्ने क्रममा रहेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था पु¥याउने नगरपालिकाको नीति रहेको बताए । 

स्वास्थ्य चौकीको १० कट््ठा जग्गा रहेकाले अस्पताल स्तरोन्नतिका लागि पहल गरिएको चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताए । हाल दैनिक ५० जनाभन्दा बढी बिरामीले सेवा लिने गरेका र महिनामा सरदर २० जनाले प्रसूति सेवा समेत लिने गरेको स्वास्थ्य चौकीले जनाएको छ  । यो स्वास्थ्य चौकी तिलोत्तमा वडा नं ५, ६ र १३ का जनताका लागि पायक पर्ने ठाउँमा छ । 

स्वास्थ्य चौकीको केही दिनअघि स्वास्थ्य विभागका महानिर्देशक डा. रोशन पोखरेलले समेत स्थलगत निरीक्षण गरेका थिए । अस्पताल बनाउन १५ करोड रुपैयाँ बजेट लाग्ने जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर