• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब

कञ्चनपुर ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा १९५ नम्बरको सीमास्तम्भ ढलेको छ भने १९६ नम्बरको सीमास्तम्भ वर्षौंदेखि भारतीय पक्षले गायब पारेका छन्। दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले सो क्षेत्रमा रहेका सीमास्तम्भमा खेलबाड गरेको स्थानीय बताउँछन् । 

दुई लाख ५० हजार वर्ग मिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब दुई सय बिघा जमिन अतिक्रमण गर्न ‘भारतीयहरूले १९५ नम्बर पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको’ वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए। ‘पिलर भत्काएर जैविक विविधताले भरिएको प्याराताल भारतले कब्जा गर्न खोजिरहेको छ,’ उनले भने, ‘प्याराताललाई लिएर हरेक वर्ष भारतीय पक्षले नेपाली बस्तीमा आएर दुःख दिने गरेको छ ।’

प्यारातालमा माछा मार्न पहिले जिल्ला विकास समिति कञ्चनपुरले ठेक्कामा दिँदै आए पनि पछिल्लो समय भारतीय सीमा सुरक्षाकर्मीले सो क्षेत्र ‘भारतीय भूमि’ रहेको दाबीसहित ठेक्का लगाउन रोक लगाउँदै आएका छन्। प्यारातालभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फ १९५ र १९६ नम्बरको सीमास्तम्भ रहेको बताउँदै जैसीले भने, ‘सीमादेखि वरै नेपालतर्फ रहेको प्याराताल कसरी भारतले आफूहरूको भनिरहेको छ ? हामी आश्चर्यमा परेका छौं ।’

१९५ र १९६ नम्बरका सीमास्तम्भ अंग्रेजी अक्षरको ‘सी’ आकारमा रहेकाले ती दुवै पिलर गायब गर्ने्बित्तिकै पिलर नम्बर १९४ बाट पिलर नम्बर १९७ मा नक्सा कोर्दा प्याराताललगायत करिब दुई सय बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने भएकाले ती सीमास्तम्भमा भारतीयहरूको नजर लागेको स्थानीय दीपेन्द्र बस्नेत बताउँछन् ।  ‘त्यस क्षेत्रमा पानीको एकमात्र स्रोत जैविक विविधतायुक्त ऐतिहासिक प्यारातालमा भारतीयहरूले गिद्देदृष्टि लगाएका हुन्,’ उनले भने, ‘प्यारातालका विषयमा हामी सधैं भारतीय पक्षसँग लडिरहेका छौं ।’ नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर