सिटी बसपार्क संचालनको बाटो खुल्यो

सुर्खेत । वीरेन्द्रनगरमा निर्माण सम्पन्न भएको सिटी बसपार्क संचालनको बाटो खुलेको छ । निर्माण सम्पन्न भएर पनि संचालनमा आउन नसकेको यो बसपार्क अब संचालनमा आउने भएको हो । यसका लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क संचालनको कार्यविधि पारित गरेको छ ।

गत असारमा नै यो बसपार्क निर्माण सम्पन्न भएको थियो । तर आवश्यक कार्यविधि नहुँदा संचालनमा आउन सकेको थिएन । नगर कार्यपालिकाको बैठकले कार्यविधि पारित गरेसँगै अब पुसबाट यो बसपार्क संचालनमा आउने भएको हो । बसपार्क संचालनको मुख्य गाँठो फुेकेपछि अब बसपार्क संचालनका लागि टेण्डर आव्हान हुनेछ । बाँकी रहेका प्रक्रिया पूरा गरेर पुसबाट बसपार्क पूर्णरुपमा संचालनमा आउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर नीजि फर्ममार्फत बसपार्क सञ्चालन गर्ने तयारी गरिरहेको छ । ६ करोड ८२ लाख ७५ हजार आठ सय ८९ रुपैयाँमा निर्माण सम्झौता भएको थियो । तर तोकिएको समयमा काम नहुँदा बसपार्कको लागत अनुमानभन्दा ६२ लाख रुपैयाँ बढी खर्च भएको हो ।

सात करोड ४४ लाख रुपैयाँको लागतमा बसपार्कको निर्माण कार्य सकिएको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए । उनकाअनुसार नगर विकास कोषको सात करोड ४५ लाख ऋण अनुदानमा बसपार्क निर्माण गरिएको हो । बसपार्क सञ्चालन भएपछि वीरेन्द्रनगर नगरपालिकाले कोषको ऋण रकम तिर्ने सम्झौता छ ।

हाल सिटी बसपार्क संचालनमा आइनसकेकाले अस्थायी बसपार्कबाट काम चलाइएको छ । मंगलगढी चोक नजिक खालि रहेको जग्गालाई बसपार्कको रुपमा प्रयोग गरिएका कारण बजारको सुन्दरतामा नै कुरुपता आएको छ । यसकारण पनि बारम्बार सिटी बसपार्क संचालन हुनुपर्ने माग उठ्दै आएको थियो ।

कानुनी प्रक्रिया पूरा गर्न समय लागेका कारण बसपार्क संचालनमा ढिलाई भएको नगरपालिकाको भनाइ छ । निर्माण भएको सिटी बसपार्कमा यात्रुहरूलाई बस्नका लागि छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुषका लागि शौचालय र उत्तर–दक्षिण दुईवटा गेटसमेत रहेका छन् ।

सिटी बसपार्क संचालनमा आउने दिन नजिकिदै गर्दा गोलाप्रथाबाट टिकट काउन्टर बाँडिएको छ । सुर्खेतमा रहेका यातायात व्यवसायीहरुलाई टिकट काउन्टर राख्ने कोठाहरु गोलाप्रथाबाट बाँडिएको हो । नगरपालिकाका अनुसार जिल्लामा रहेका विभिन्न ११ वटा यातायात प्रालीलाई काउन्टर राख्न कोठा उपलब्ध गराइएको हो ।

बसपार्कमा टिकट काउन्टर राख्न गोलाप्रथाबाट कोठा दिइएको वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले जनाए । १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नेगरी २०७३ सालबाट काम थालिएको बसपार्क निर्माण कार्य दुईपटक म्याद थपगरी बल्लतल्ल निर्माण सम्पन्न भएको हो । २०७४ जेठ १४ मा बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नेगरी २०७२ माघ १४ गते चांगमिला नरसिंह–जेभीसँग नगरपालिकाले बसपार्क निर्माणको सम्झौता गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर