प्रदेश ३ सरकारले डेरी उद्योग स्थापना गर्ने 

चितवन । प्रदेश सरकारले पूर्वी चितवनलाई लक्षित गर्दै डेरी उद्योग स्थापना गर्ने योजना बनाएको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् । साथै, मन्त्री लामाले जग्गा खोज्न आग्रहसमेत गरे ।

चितवनको खैरहनी नगरपालिका–१० शान्ति बजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले डेरी उद्योग निर्माण सुरु गरेको छ ।

दुग्धजन्य पदार्थ निर्माण गर्ने उद्देश्यका साथ निर्माण गर्न लागिएको उद्योगको आइतबार प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोलाई सम्बोधन गर्दै सहकारी मन्त्री लामाले समृद्धिको आधार कृषि, पशुपंक्षी, उद्योग र पर्यटन रहेको बताए । मुलुक समृद्ध बनाउन संघीय, प्रदेश र स्थानीय सरकार मिलेर कृषि, पशुपंक्षीलाई प्राथमिकता दिएको भन्दै मन्त्री लामाले कृषकहरु पनि जागरुक हुनुपर्ने धारणा राखे ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले कृषि र पशुपालनको प्रवद्र्धन बिना मुलुकको विकास सम्भव नरहेको औंल्याए । किसान सहकारीले दूध बेच्ने मात्र नभई यसबाट बन्ने परिकार बनाउन सके दुवै पक्षलाई फाइदा पुग्ने प्रमुख चौधरीले बताए । किसानको हितका लागि खैरहनीमा शीतभण्डार निर्माण भइरहेको, माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको नगर प्रमुख चौधरीको भनाइ थियो । 

संस्था र संस्थामा आवद्ध शेयर सदस्यबाट रकम संकलन गरेर उद्योग निर्माण गर्न लागिएको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कमलराज थपलियाले बताए । ४५ लाखको लागतमा भवन निर्माण गर्ने र बाँकी ३५ लाख मेसिन खरिद गरि कूल ८० लाख रुपैयाँको लागतमा उद्योग स्थापना गर्ने लक्ष्य लिइएको थपलियाले जानकारी दिए । उद्योगबाट मिठाई, आइसक्रिम, पुष्टकारी, ललिपपलगायत दुग्धजन्य पदार्थ उत्पादन गरिने छ ।

यसअघि सो दुग्ध उत्पादक सहकारी संस्थाले दही, नौनी, पनिर र घीउ उत्पादन गर्दै आएको छ । २०५० सालमा स्थापना भएको सो सहकारीमा हाल दैनिक तीन हजार ५०० लिटर दूध संकलन हँुदै आएको छ । संस्थाका निवर्तमान अध्यक्षसमेत रहेका केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीका अनुसार सहकारीले ७५ प्रतिशत अनुदानमा पशु बिमा गरेको, प्रतिलिटर थप तीन रुपैयाँ बोनस दिँदै आएको, घाँसको बीउ निःशुल्क उपलव्ध गराउँदै आएको, न्यून आय भएका सदस्यहरुलाई वार्षिक ६ प्रतिशतका दरले व्याजदरमा पशुपालन ऋण उपलव्ध गराइएको, पशु सुत्केरी भत्ता गाईलाई ५०० र भैसीलाई एक हजार रुपैयाँ प्रदान गर्दै आएको छ । केन्द्रीय सदस्य उप्रेती दूधको विविधिकरण बिना किसान र दुग्ध उत्पादक सहकारी संस्थाको विकास हुन नसक्ने बताउँछन् ।

नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कमलराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुशील कँडेलले स्वागत मन्तव्य राखेका थिए । शिलान्यास समारोहका खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी, खैरहनी–७ का वडाध्यक्ष मनेजर चौधरी, राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक डिल्लीप्रसाद थपलिया, परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वरसिंह ओली, शहिद बलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषाल, नवउद्यमी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामचन्द्र पाठकलगायत सहकारीका शेयर सदस्य तथा कृषकहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर