• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले ४० को मृत्यु

झापा । गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुईजनाको एकैसाथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरूलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो ।
 
त्यस्तै हिजो मंसिर १ गते आइतबार पनि  मेचीनगर–९ निवासी ५७ वर्षीय बुद्धिमाया तामाङको हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भयो । गाईबस्तु धपाउने क्रममा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । करेन्ट लागेर तामाङको पनि घटनास्थलमै मृत्यु भएको थियो । 
 
माथिका दुईवटा घटना पछिल्ला प्रतिनिधि घटना मात्र हुन् । जंगली हात्तीबाट जोगिन बिछ्याइएको विद्युतीय तारमा परी झापामा यसअघि धेरैले ज्यान गुमाइसकेका छन् । मेचीनगर–९ माथिल्लो मागुरमाडीका ६० वर्षीय गंगा थपलियाको पनि गत साउनमा विद्युतीय धरापमा परी मृत्यु भयो । 

त्यस्तै, अर्जुनधारा–४ दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बू, मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराज, भद्रपुर–१० का ७१ वर्षीय डम्वरबहादुर लिम्बूसहित धेरैले विद्युतीय धरापमा परी ज्यान गुमाए । 

गत असारमा रणकाली सामुदायिक वन हल्दिबारी–३ मा हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परेर तीनवटा हात्ती मरेका थिए । यसअघि पनि  विद्युतीय तारमा परी झापा र इलामको सिमानामा पर्ने इरौँटार–८ मा एउटा पोथी हात्ती मरेको थियो । 

झापाका विभिन्न क्षेत्रमा पछिल्लो समय हात्ती नियन्त्रणका लागि भन्दै जथाभावी विद्युतीय तारको प्रयोग गरिएको छ । तर त्यही तारमा परेर एक पछि अर्को गर्दै मानिसको मृत्यु हुन थालेपछि चिन्ता थपिएको डिभिजनल वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे बताउँछन् । उनले भने, ‘२०६७ साल यता विद्युतीय तारमा परी ४० जनाले ज्यान गुमाइसकेका छन् भने छावासहित ११ वटा हात्ती मरेका छन् ।’
 
हात्ती नियन्त्रणका लागि भन्दै डिभिजनल वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल विद्युत् प्राधिकरणको अनुमति नलिई हात्ती प्रभावित क्षेत्रका वासिन्दाले विद्युतीय तारको जथाभावी प्रयोग गरेका छन् । ‘यसो गर्न  पाँइदैन, हात्तीबाट जोगिन लगाइएको तारमा परेर आफ्नै मृत्यु हुनुले आफ्नो काल आफैँ निम्याए झैँ भइरहेको छ,’ डिभिजनल प्रमुख घिमिरे भन्छन्, ‘हात्ती नियन्त्रणका नाममा तारमा करेन्ट जथाभावी छाड्ने अधिकार कसैलाई छैन, विद्युतीय तार मानव र जंगली हात्ती दुवैका लागि काल हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर