• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

लालपुर्जा नेपालीसँग, जग्गामा भारतीय हैकम

नवलपरासी । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो ।

हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन। जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह्यो।

रायणी नदीपारि रहेको सुस्ता गाउँपालिका–५ मा पर्ने सुस्ताको कुल क्षेत्रफल ४० हजार नौ सय ८० हेक्टर हो। तर अहिले सात हजार हेक्टर जमिनमात्रै नेपालीले उपभोग गर्दै आएका छन्।

१४ हजार हेक्टरमा भारतीयले अतिक्रमण गरी बस्ती बसालेका छन्। १९ हजार हेक्टर जमिन विवादित भन्दै कुनै पक्षले उपभोग नगर्ने सर्तमा त्यसै छाडिएको छ। त्यो जमिन अहिले झाडीमा परिणत भएको छ।
सुस्ताको बड्का टोलका ६० वर्षीय निजामुद्दिन अन्सारीको एक बिघा जमिन पनि झाडीमा परिणत भएको छ। उक्त जमिनमा डेढ दशकअघिसम्म उनी मुरीका मुरी धान र तोरी फलाउँथे।

‘मेरो जमिन मलाई मेरा छोराछोरीजस्तै प्यारो लाग्छ तर मैले त्यही जमिनमा टेक्न नपाएको १४ वर्ष भयो,’ उनले भने, ‘मेरो जमिन हडप्नेलाई देख्दा खुन उम्लेर आउँछ।’ सुस्ताकै लैला बेगमले पाँच बिघा जमिनको लालपुर्जा बाकसमा सुरक्षित राखेकी छन् तर खेती गर्न पाएकी छैनन्। २०६१ सालसम्म भारतीयसँग लडेरै उनले आफ्नो जमिन जोगाएकी थिइन्।

२०६२ सालमा एसएसबीले विवादित जमिन भन्दै खेती गर्न दिएन। विवाद मिलाउने नाममा स्थानीय प्रशासनले पनि त्यसैमा सहमति जनायो। अर्का स्थानीय ओमप्रकाश चौधरीको अढाई बिघा जमिन अतिक्रमण भएको छ। २०२९ सालको नापीमा उनले लालपुर्जा पाएका थिए।

‘लालपुर्जा जतनले राखेको छु,’ उनले भने, ‘तर खेत जोत्न पाएको छैन।’ सुस्ताकै रामचन्द्र साहको पुख्र्यौली जमिन पाँच बिघा हो। तत्कालीन समयमा नागरिकता नभएकाले उनले लालपुर्जा पाएनन् तर फिल्डबुक सुरक्षित छ। जमिन भने एसएसबीको कब्जामा छ।

अन्सारी, बेगम, चौधरीजस्ता थुप्रै सुस्तावासीको लालपुर्जासहितको जग्गा भारतीयले अतिक्रमण गरेका छन्। केही जग्गा विवादित करार गर्दै २०६२ सालदेखि खनजोत गर्न दिइएको छैन।

विवादित भनिएको अधिकांश जग्गाको लालपुर्जा, फिल्डबुक सुस्तावासीसँग भए पनि जमिन एसएसबीको कब्जामा छ। जसमा सिमलको रूख, गोरेटो बाटो, घोला तथा कल्भर्टको नक्कली साँध सिमाना बनाएर नेपाली भूमिमा नेपालीलाई नै प्रवेश निषेध गरिएको छ। याे समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर