• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

प्याराग्लाइडिङ परीक्षणमा मात्र सीमित

बागलुङ । गत वर्षको हिउँदमा बागलुङका झन्डै आधा दर्जन स्थानमा प्याराग्लाइडिङको परीक्षण गरियो । बागलुङ नगरपालिकाको बलेवा र गल्कोट नगरपालिकाका विभिन्न वडामा गरिएका परीक्षण सफल पनि भए । परीक्षण सफल भनेर आयोजकले दाबी मात्रै गरेनन् प्याराग्लाइडिङ हाँक्ने पाइलटले नै सम्भावना रहेको औँल्याए तर सफल भएका परीक्षण व्यावसायिकरूपमा परिणत नभएर सम्झनामा मात्रै सीमित छन् ।

गल्कोट महोत्सवमा प्रदर्शन पनि हुने र सम्भावनाको खोजी पनि हुने भएकाले गत वर्ष कात्तिक महिनामा गल्कोट नगरपालिका–५ सर्दाखेतबाट प्याराग्लाइडिङ उडाएर हरिचौरमा झारियो । प्यारापाइलट दुर्योधन खड्काले त्यहाँ प्याराग्लाइडिङको परीक्षण सफल भएको बताए । व्यावसायिक हिसाबले सञ्चालनमा ल्याउने हो भने त्यहाँ प्याराग्लाइडिङका लागि आवश्यक हावाको गति, भौगोलिक र वातावरणीय अवस्था ठीक रहेको बताएका थिए । तर, व्यावसायिक सुरुआत होइन महोत्सव अवधिमा केही दिन सञ्चालन गर्ने भनिएको प्याराग्लाइडिङसमेत विविध कारण देखाएर सञ्चालनमा आएन ।

त्यसको केही समयपछि गल्कोट नगरपालिका–७ राम्चेढुंगाबाट परीक्षण गरियो । बाँसखोलामा अवतरण गरेर सफल भए पनि त्यो पनि परीक्षणकै भरमा बस्यो । व्यावसायिकरूपमा उडान थाल्ने भनेर परीक्षण गरिएको राम्चेढुंगामा पर्यटकीय पूर्वाधार निर्माणको काम नभएर रोकिएको समेत बताइएको छ । 

प्याराग्लाइडिङका लागि धावनमार्ग बनाउनुपर्ने भएकाले तत्काल व्यावसायिक उडान हुन नसकेको राम्चेढुङ्गा पर्यटन विकास समितिका सदस्य थम्मन थापा बताउँछन् । ‘वडा कार्यालयकै अगुवाइमा परीक्षण भएको हो, अहिले वडाले नै पूर्वाधार निर्माणमा ध्यान दिएको छ,’ थापाले भने, ण्àखर्चिलो हुँदो रहेछ, धेरै पर्यटक आउने सम्भावना नभएसम्म व्यावसायिक उडान अलि कठिन देखिन्छ ।’

त्यसलगत्तै गल्कोट–२ नरेठाँटीमा पनि परीक्षण भयो । हटियामा अवतरण गरियो, त्यहाँ पनि परीक्षण सफल भयो । अहिलेसम्म व्यावसायिक उडानको विषयमा कसैले सोचेको छैन । गत वर्षकै फागुन महिनामा प्रथम बलेवा महोत्सवमा प्याराग्लाइडिङबाटै पुष्पवृष्टि गरियो । बागलुङ नगरपालिका–१३ पैंयुपाटाबाट उडेको प्याराग्लाइडले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अवतरण ग¥यो ।
 
गल्कोटमा भएका परीक्षणमा पाइलट दुर्योधन खड्का र निरञ्जन कुँवर सहभागी थिए । बलेवामा भएको परीक्षणमा लेकभ्याली कम्पनी पोखराका ६ जना पाइलट सहभागी थिए । परीक्षण भएका सबै स्थानमा पाइलटले प्याराग्लाइडिङ गर्न सकिने बताएका थिए । पूर्वाधार निर्माणमा ढिलाइ र प्याराग्लाइडिङ गर्ने पर्यटकको अभावले व्यावसायिक उडान हुन सकेको छैन ।
 
बलेवा विमानस्थलमा अवतरण गर्ने जहाजको हवाइमार्ग र ल्यान्डिङ गर्ने स्थानको अभावमा व्यावसायिक हिसाबले सुरुआत गर्न नसकिएको महोत्सव आयोजक समितिका संयोजक भरत पौडेल बताउँछन् । ‘उड्ने ठाउँसम्म बाटो पुगेको छैन, झर्ने ठाउँमा खेतीपाती र हवार्इजहाजको बाटो प¥यो,’ पौडेलले भने, ‘सम्भावना भएर पनि पूर्वाधारकै कारण यहाँ कुनै कम्पनीले चासो देखाएनन् ।’ 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि त्यहाँ सञ्चालनमा रहेको प्याराग्लाइडिङ अन्यत्र सार्ने भएकाले केही कम्पनी बागलुङ आउन सक्ने सम्भावना यहाँका व्यवसायीले देखेका थिए । ‘हामीसँग ठाउँ छ तर उपयोग गर्ने गरी कम्पनीलाई दिने वातावरण बनिसकेको छैन,’ 
 पौडेल भन्छन्, ‘अत्यावश्यक पूर्वाधारजस्तै बाटो, पानी, बासलगायतका कुरामा हामीले विकास गर्नुपर्ने छ ।’

बागलुङ नगरपालिका–६ पञ्चकोटबाट उडान गरेर बागलुङ बजारमा अवतरण गर्ने गरी परीक्षण सफल भएर बाँकी प्रक्रिया अघि बढेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर