• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आज र भोलि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नहुने

काठमाडौं । यातायात व्यवस्था विभागले आज र भोलि (मंगलबार र बुधबार) ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) मा रहेको तथ्यांक भण्डार (डाटाबेस) मा सार्नका लागि छपाइ कार्य अवरुद्ध गर्न लागिएको हो । 

सवारीचालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी दुई दिन सेवा दिन नसकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागले हतारमा रहेका सेवाग्राहीलाई चाँडो छपाइ (फास्ट प्रिन्टिङ) सेवा दिँदै आएकामा त्यो पनि यी दुई दिन अवरुद्ध हुने भएको छ । यी दुई दिनमा तथ्यांकसम्बन्धी सम्पूर्ण काम सकिने बताइएको छ । उनले भने, ‘बिहीबारदेखि नै हामी नियमितरुपमा सेवा दिनेछौँ ।’

दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ जडान सकिएसँगै अहिले ‘सफ्टवेयर’ को काम भइरहेको छ । सो उपकरणको प्रतिघण्टा पाँच छ सयसम्म कार्ड छाप्ने क्षमता रहेको छ । एक वर्षअघि आवेदन दिएका सेवाग्राहीले समेत अनुमतिपत्र नपाइरहेकामा ‘मास प्रिन्टर’ ले काम गर्न थालेसँगै सो समस्या हट्ने विश्वास गरिएको छ । 

विभागले विदेश जानका लागि वा स्वदेशमा नै चाँडो छपाइ चाहिने अवस्थामा सेवाग्राहीलाई एक सातामा नै चालक अनुमतिपत्र छाप्दै आएको थियो । विभागले अनुमतिपत्र छपाइको गति बढ्ने भएकाले सरकारले दश लाख कार्ड खरीद प्रक्रियासमेत अघि बढाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर