• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रामपुरमा त्रिविको इन्जिनियरिङ पढाइ सुरु

चितवन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा पठनपाठन सुरु भएको छ । पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ सुरु भएको हो । 

क्याम्पस प्रमुख सुदीप शर्मा पौडेलका अनुसार २४ विद्यार्थीलाई आइतबारबाट पठनपाठन सुरुआत गरिएको हो । तीमध्ये ६ जना नियमित र १८ जना पूर्ण शुल्कीय हुन् । नियमितले पाँच वर्षमा ५० हजार र पूर्ण शुल्कीयले चार लाख हाराहारी तिर्नुपर्ने हुन्छ । यो त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानको पाँचौँ क्याम्पस हो । 

यसअघि यस संस्थानअन्तर्गत ललितपुरको पुलचोक, काठमाडौंको थापाथली, पूर्वाञ्चलको धरान र पश्चिमाञ्चलको पोखरामा इन्जिनियरिङको पढाइ हुँदै आएको छ । रामपुरमा सातवटा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । पौडेलका अनुसार सिभिल, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, एप्लाइड साइन्स र इलेक्ट्रिकल इन्जिनियरिङ प्रस्तावित थप कार्यक्रम रहेका छन् । पौडेलले सरकारले बजेट र शिक्षक कर्मचारी दरबन्दी उपलब्ध गराएमा आउँदो शैक्षिक सत्रबाट थप कार्यक्रम सञ्चालन गर्न सकिने बताए । 

भरतपुर महानगरपालिका र निवर्तमान उपकुलपति तीर्थ खनियाँको पहलमा यसै शैक्षिक सत्रबाट पढाइ सुरु गरिएको हो । रामपुरमा त्रिविले खेलकुदका लागि बनाएको पुरानो भवनमा क्याम्पस सुरु गरिएको हो । रामपुरबाट कृषि विषय हटेपछि त्रिविले त्यहाँ इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्न गृहकार्य गरिरहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर