सेयर लगानीकर्ताको चासो, फेरिएलान् त अर्थमन्त्री ?

काठमाडौं । पछिल्लो दुई सातायता अर्थात् दोस्रो ठूलो चाड तिहारलगत्तै नेपाली राजनीतिक वृत्तमा मन्त्रिमण्डल फेरबदलको विषयले निकै चर्चा पाएको छ । राजनीतिकर्मी, विभिन्न पेसाकर्मी, सञ्चारकर्मी मात्र नभई आम जनमानसमा समेत मन्त्रिमण्डल पुनर्गठनको विषयमा पक्ष विपक्षमा छलफल कुराकानी हुने गरेको छ । 

मन्त्री फेरबदलको विषयलाई सेयर लगानीकर्ताहरुले पनि निकै चासोका साथ हेरेका छन् । मंगलबार विभिन्न सेयर दलाल ब्रोकर कार्यलयको भिजिट गर्दा होस्, सोमबार राजधानीको भृकुटीमण्डपमा चलेको बैंकिङ एक्स्पोको पुँजीबजार विशेष कार्यक्रममा भेटिएका लगानीकर्ताबीच मन्त्रिमण्डल पुनर्गठन, त्यसमा पनि अर्थमन्त्रीको विषयलाई निकै महत्त्वका साथ हेरेको पाउन सकिन्थ्यो । 

अर्थमन्त्री डा. युवराज खतिवडा फेरि पनि मन्त्रालय नै रहलान् वा नयाँ अर्थमन्त्री आए को आउलान् ? लगानीकर्ताबीच पछिल्लो समय धेरैपटक उठ्ने प्रश्न हो यो । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै पुँजी बजार विरोधीको आरोप खेपेका उनलाई कतिपय लगानीकर्ताले अझै पनि बजारमैत्री नभएको रूपमा चित्रित गर्दै आएका छन् । 

त्यसो त सत्तारूढ दल नेकपा तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री परिवर्तन गर्ने वा नगर्ने दोसाँधमा रहेको स्रोत बताउँछ । केही दिनपहिले अर्थमन्त्री पविर्तन गर्ने मनस्थितिमा रहेको प्रम ओली पछिल्ला दिनमा भने खतिवडालाई नै अर्थमन्त्री कायम रहन दिने सोचमा पुगेको स्रोतको दाबी छ । 

यसअघि भावी अर्थमन्त्रीका रूपमा नेकपाका महासचिव विष्णु पौडेल तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम चर्चामा आएको थियो । महासचिव पौडेलले आफू मन्त्रीभन्दा पनि पार्टीकै काम गर्न रुचाएको जवाफ दिएपछि उनको च्याप्टर क्लोज भएको बताइन्छ । त्यस्तै नेकपामा माधव कुमार नेपाल पक्षधर मानिने पाण्डेको नाम भावी अर्थमन्त्रीको रूपमा अघि सारिएपनि ठोस निर्णय भने हुन सकेको छैन् । 

गत आर्थिक वर्षमा वित्तीय सुचकहरु सकारात्मक रहेको भन्दै प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्ड भने अर्थमन्त्री लगायतका केही मन्त्रालय नचलाउने मनस्थितिमा पुगको स्रोत बताउँछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर