• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तिलोत्तमामा स्थानीय पाठ्यक्रम निर्माणको तयारी

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माणको तयारी थालेको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउन नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको काम अघि बढाएको हो । 

पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णांकको स्थानीय पाठ्यक्रम निर्माण गर्ने समितिको तयारी छ । स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले आगामी शैक्षिक सत्रबाट नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने जानकारी दिए । तिलोत्तमामा हाल ८५ वटा विद्यालय छन् । 

 दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरिने संयोजक भुसालले बताए । पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषयमा जानकारी दिइनेछ । 

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहने भएकाले विद्यार्थीका लागि रुचिकर रहने शिक्षा उपसचिव गंगाराम आचार्यले बताए । ‘तिलोत्तमाको समग्र अवस्थाको बारेमा रहने भएकाले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई स्थानीय अवस्थालाई परिचित गराउनेछ,’ शिक्षा उपसचिव आचार्यले भने । नेपालको संविधानले नै स्थानीय पाठ्यक्रमको परिकल्पना गरेको छ भने माध्यमिक तहसम्मको शैक्षिक अधिकार स्थानीय सरकारलाई छ । 

विद्यालयहरूले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले सोमबार जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवाको सहभागितामा सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यशाला गोष्ठी गरेको छ । गोष्ठीका सहभागीहरूले स्थानीय पाठ्यक्रममा समेट्नुपर्ने विषयका बारेमा समितिलाई लिखित तथा मौखिम सुझावहरू दिएका छन् । समितिले विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रूप दिने संयोजक भुसालले बताए । 

कार्यशाला उद्घाटन गर्दै नगर प्रमुख घिमिरेले स्थानीय अवस्थासँग परिचित हुनेगरी विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन स्थानीय पाठ्यक्रम निर्माण सफल हुनुपर्ने बताए । कार्यक्रममा उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा, शिक्षा उपसचिव गंगाराम आचार्य, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईं, सचिव लक्ष्मण खनाल, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेय,स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसाल, भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक बाबुराम भण्डारी, शिक्षा अधिकृत शारदा भट्टराई, डन चिल्ड्रेनका प्राचार्य कृष्ण खनाललगायतले पाठ्यक्रमका बारेमा धारणा राखेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर